केही दिनअघिमात्रै सुरु भएको युद्धबाट अमेरिकी सेनालाई फर्काउने आदेश दिदाँ गलत सन्देश जाने रिपब्लिक सिनेटरहरुले बताए
काठमाडौँ — इरान युद्धमा थप आक्रमणको आदेश दिनबाट राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रोक्नेगरी ल्याइएको संकल्प प्रस्ताव अमेरिकी सिनेटले अस्विकृत गरेको छ ।
माथिल्लो सदन सिनेटमा युद्ध रोक्नुपर्ने संकल्प प्रस्तावका पक्षमा ४७ र विपक्षमा ५३ मत पर्यो ।
डेमोक्रेटिक पार्टीका सिनेटरहरुले ल्याएको यस प्रस्तावमा केन्टुच्कीका रिपब्लिकन सिनेटर रान्ड पाउलले पनि समर्थन गरे । तर, अन्य रिपब्लिकनहरुले साथ दिएनन् । पेन्सिलभेनियाका डेमोक्रेटिक जोन फिटरम्यान भने ट्रम्पका पक्षमा खडा भए ।
कंग्रेसबाट स्विकृति नलिइ आक्रमणको आदेश दिएको भन्दै ट्रम्पविरुद्ध डेमोक्रेटिक सांसद्हरुले संकल्प प्रस्ताव ल्याएका थिए । ट्रम्पलाई भेनेजुएला, इरान र ल्याटिन अमेरिकामा ड्रग्स तस्करीविरुद्ध डुंगामाथि आक्रमण गर्ने प्रयासमा रोक लगाउने तयारी डेमोक्रेटिक पार्टीले गरेको थियो । तर, असफल भयो ।
रिपब्लिकन पार्टीका अधिकांश सिनेटर इरानमा आक्रमण गर्ने ट्रम्पको निर्णयको पक्षमा देखिए । रिपब्लिकन सिनेटर टोड योङले भने,‘हामी अहिले युद्धमा छौं । यस यथार्थलाई बिर्सन मिल्दैन । तर हामीले सुनुवाई गर्ने, अपरेशनका विषयमा एकता सिर्जना गर्नका लागि सबैका प्रश्नहरुलाई लिने गर्नुपर्छ ।’
केही दिनअघिमात्रै सुरु भएको युद्धबाट अमेरिकी सेनालाई फर्काउने आदेश दिदाँ गलत सन्देश जाने उनले बताए ।
यस संकल्प प्रस्तावबारे अमेरिकाको तल्लो सदन (हाउस) मा बिहीबार मतदान हुँदैछ । डेमाेक्रेटिक पार्टीले कंग्रेसको स्विकृति बिना नै ट्रम्पले युद्ध सुरु गरेको भन्दै आपत्ति जनाउँदै आएको छ ।
