स्पेनी विदेशमन्त्री जोसे म्यानुएल अल्बारेसले भने इरानसँगको युद्धमा अमेरिकालाई जलसेना स्टेशन रोटा र मोरोन एयर बेस दुबै प्रयोग गर्न नदिने बताएका थिए ।
काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगका सबै व्यापार बन्द गर्ने घोषणा गरेका छन् ।
यसअघि स्पेनले इरानमाथिको अमेरिकी आक्रमणको निन्दा गरेको थियो । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले इरानमाथिको आक्रमण अन्तर्राष्ट्रिय कानुनको उल्लघंन रहेको बताएका थिए । स्पेनले यसअघि भेनेजुएलामाथिको आक्रमणको पनि कडा भत्सर्ना गरेको थियो ।
सोमबार, स्पेनी विदेशमन्त्री जोसे म्यानुएल अल्बारेसले इरानसँगको युद्धमा अमेरिकालाई जलसेना स्टेशन रोटा र मोरोन एयर बेस दुबै प्रयोग गर्न नदिने बताएका थिए । यी सैन्य अखडा स्पेनमा पर्छन् र स्पेनिस सैनिकले यसको कमाण्ड गरेका छन् । तर यो अमेरिका र स्पेनको संयुक्त सम्पत्ति हो ।
यसको बदलामा ट्रम्पले स्पेनसँगका सबै व्यापार बन्द गर्न घोषणा गरेका हुन् । ' हामी स्पेनसँगको सबै व्यापार बन्द गर्नेछौं । केही गर्न चाहदैंनौ,' ट्रम्पले भने ।
'स्पेनले हामी उनीहरूको आधारहरू प्रयोग गर्न सक्दैनौं भन्यो र त्यो ठीक छ," ट्रम्पले पत्रकारहरूलाई भने,' यदी हामीले चाह्यो भनेर यस्ता प्रतिबन्धलाई बेवास्ता गरेर पनि ती आधार प्रयोग गर्न सक्छौं । हामीलाई कसैले रोक्न सक्दैन ।'
सन् २००१ मा अफगानिस्तानमाथिको आक्रमण र २००३ मा इराकमाथिको आक्रमणको समयमा दुवै अड्डाहरू अमेरिकी कार्गो र लडाकु विमानहरूले प्रयोग गरेका थिए।
२०११ मा लिबियामा नेटोको बम विष्फोटको समयमा मोरोन एयर बेस ट्यांकरहरूमा इन्धन भर्न प्रयोग भएको थियो । तर, स्पेनले प्रतिबन्धको घोषणा गरेपछि सोमबार एक दर्जनभन्दा बढी अमेरिकी ट्याङ्करहरूले रोटा र मोरोन छोडेका थिए ।
इरानसँगको द्वन्द्वले अमेरिकाका युरोपेली सहयोगीहरूबीचको विभाजनलाई उजागर गरेको छ। स्पेनले अमेरिकी आक्रमण अन्तर्राष्ट्रिय कानून बाहिरको अनुचित र खतरनाक सैन्य हस्तक्षेप रहेको बताएका छन् । आक्रमणको सुरोातमा बेलायतले पनि अमेरिकालाई आफ्नो सैन्य अड्डाहरू प्रयोग गर्न नदिने बताएको थियो ।
तर, आइतबार प्रधानमन्त्री केयर स्टार्मरले इरानले प्रहार गर्ने क्षेप्यास्त्रविरूद्ध प्रतिरक्षा गर्नका लागि अमेरिकालाई साइप्रसस्थित सैन्इ अखडा प्रयोग गर्न दिने बताएका छन् ।
