ट्रम्पको चेतावनीले झुकेन स्पेन, युद्धविरोधी मान्यतामा अडिग

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आफ्नो देश युद्धविरोधी मान्यतामा अडिग रहेको बताए

फाल्गुन २०, २०८२

कान्तिपुर संवाददाता

Spain unfazed by Trump's warning, sticks to anti-war stance

काठमाडौँ — नेटो गठबन्धन तथा युरोपेली युनियनको सदस्य स्पेनले आफ्नो भूभागमा रहेका संयुक्त सैन्य पूर्वाधार अमेरिकालाई इरान आक्रमणका लागि प्रयोग गर्न नदिने भएको छ ।

रोटास्थित जलसेनाको स्टेशन र मोरोन एयर बेस स्पेनिस भुभागमा रहेका अमेरिका–स्पेन संयुक्त पूर्वाधार हुन् । यसको कमाण्ड स्पेनिस सैनिकले गर्छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यी पूर्वाधार प्रयोग गर्न नदिए स्पेनसँग सबै व्यापार सम्बन्ध अन्त्य गर्ने चेतावनी दिएका थिए । उनले स्पेनलाई आफ्नो भयानक सहयोगी भनेर आलोचना गरे । तर, स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आफ्नो देश युद्धविरोधी मान्यतामा अडिग रहेको बताए ।

१० मिनेट लामो टेलिभिजन सन्देशमा सान्चेजले युक्रेन युद्ध, गाजा युद्ध र २० वर्षअघिको इराक युद्धको प्रसङ्ग निकालेर स्पेन सरकारले युद्धलाई सधैं अस्विकार गर्ने बताए ।

'प्रश्न हामी आयतुल्लाको साथमा छौं भन्ने हुँदै होइन । कोही पनि छैन । प्रश्न हामी शान्ति र अन्तर्राष्ट्रिय वैधताका पक्षमा छौ भन्ने हो,' प्रधानमन्त्री निवासबाट दिएको भिडियो सन्देशमा उनले भने ।

उनले इरानी प्रत्याक्रमणको मार खेपेका मध्यपूर्वका देशहरुप्रति आफ्नो ऐक्येबद्धता रहेको बताए । गाजामा इजरायलले गरेको आक्रमणको स्पेनले लामो समयदेखि निन्दा गर्दै आएको छ । उसले यस आक्रमणलाई ‘जातीय नरसंहार’ मान्दै आएको छ । 

यसअघि फ्रान्सले पनि आक्रमणको निन्दा गरेको थियो । तर, मध्यपूर्वको युएईमा इरानले आक्रमण गरेपछि त्यहाँस्थित आफ्नो सैन्य अखडालाई जोगाउन उसले राफेल विमान तैनाथ गरेको छ ।

बेलायतले सुरुमा युद्धमा आफु संलग्न नहुने बताएको थियो । तर, साइप्रसस्थित आफ्ना सैन्य अखडामा इरानले आक्रमण गरेपछि ती अखडा अमेरिकालाई प्रयोग गर्न दिने बताएको छ ।

जवाफमा इरानले अमेरिकालाई सैन्य अखडा प्रयोग गर्न नदिन युरोपेली देशहरुलाई चेतावनी दिएको छ । यसरी सैन्य अखडा प्रयोग गर्न दिनुलाई आक्रमणकारीमाथि गरिएको समर्थनका रुपमा लिइने इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाइले बताए ।

'यो युद्धको कार्य हुनेछ। इरान विरुद्धको त्यस्तो कुनै पनि कार्यलाई आक्रमणकारीहरूसँगको सहकार्य मानिनेछ। यसलाई इरान विरुद्धको युद्ध मानिनेछ,' बुधबार पत्रकार सम्मेलनमा इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले भने,' रक्षात्मक भन्‍नु आक्रमणको पर्यायवाची हो । यसको कुनै अर्थ छैन । उनीहरुले इरानलाई आक्रमणकारीहरूविरुद्ध लड्ने क्षमता र क्षमताबाट वञ्चित गर्न चाहेमा जवाफी आक्रमण हुनेछ ।'

उनले इरानले जवाफी हमला गर्ने चेतावनी दिए । 

कान्तिपुर

Link copied successfully