युद्धमा सहभागी नहुन युरोपेली देशलाई इरानको चेतावनी

फ्रान्सले युएईस्थित आफ्नो सैन्य आधार क्षेत्रको रक्षार्थ त्यहाँ रहेका राफेल विमान तैनाथ गरेको छ

फाल्गुन २०, २०८२

कान्तिपुर संवाददाता

Iran warns European countries not to join war

काठमाडौँ — इरानले युरोपेली देशलाई युद्धमा सहभागि नहुने चेतावनी दिएको छ ।

इरानको सम्भावित आक्रमणबाट जोगिन युरोपेली देशहरूले रक्षात्मक कारबाही गर्ने बताएपछि यस्तो चेतावनी आएको हो ।

इरानले यस्तो परिस्थितिमा युरोपेली शहर र देशहरूलाई लक्षित गरेर आक्रमण गरिने बताएको छ । 

'यो युद्धको कार्य हुनेछ। इरान विरुद्धको त्यस्तो कुनै पनि कार्यलाई आक्रमणकारीहरूसँगको सहकार्य मानिनेछ। यसलाई इरान विरुद्धको युद्ध मानिनेछ,' बुधबार पत्रकार सम्मेलनमा इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले भने, 'रक्षात्मक भन्‍नु आक्रमणको पर्यायवाची हो । यसको कुनै अर्थ छैन । उनीहरुले इरानलाई आक्रमणकारीहरूविरुद्ध लड्ने क्षमता र क्षमताबाट वञ्चित गर्न चाहेमा जवाफी आक्रमण हुनेछ ।'

इरानमाथि पश्चिमा देशहरूले यसअघि नै आर्थिक प्रतिबन्ध लगाएर ठूलो क्षति पुर्याएको उनले बताए । 'यी देशहरूले आक्रमणकारीहरूको पक्ष लिए भने त्यो लाजमर्दो कुरा हुनेछ । उनीहरूले इरान विरुद्ध पहिले नै पर्याप्त काम गरिसकेका छन्,' बघाईले भने । 

इरान युद्ध पश्चिम एशियाबाट बाहिर फैलिने त्रासबीच युरोपेली राष्ट्रहरूले आफ्नो प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन चाहइरहेका छन् । 

सोमबार, इरानी  ड्रोनहरूले ईयू सदस्य राष्ट्र साइप्रसमा रहेको ब्रिटिश आईआर फोर्सको अक्रोटिरी बेसलाई निशाना बनाएका थिए । बेलायती अधिकारीहरूले ती ड्रोनहरू लेबनानबाट हिजबुल्लाहले प्रहार गरेको  हुनसक्ने अनुमान लगाएका छन् । 

यस आक्रमणपछि बेलायती प्रधानमन्‍त्री केयर स्टार्मरले रक्षात्मक प्रयोजनका लागि साइप्रसस्थित बेलातयी सैन्य आधार अमेरिकालाई प्रयोग गर्न दिइने बताएका छन् ।

भविष्यमा हुने सम्भावित आक्रमणबाट बच्न स्टार्मरले  युद्धपोत परिचालन गर्ने विचार गरिरहेको पनि बेलायती मिडियाहरूले जनाएका छन् । यसैबीच, ग्रीस, जर्मनी र फ्रान्स सबैले साइप्रसलाई यसको प्रतिरक्षा बलियो बनाउन सहयोग गर्ने वाचा गरेका छन् । 

फ्रान्सले युएईस्थित आफ्नो सैन्य आधार क्षेत्रको रक्षार्थ त्यहाँ रहेका राफेल विमान तैनाथ गरेको छ । 

नेटो प्रमुख मार्क रुटले मंगलबार नेटो गठबन्धन युद्धमा सहभागी नभएको बताएका छन् । तर, आवश्यक परेमा नेटो क्षेत्रको जमिन रक्षार्थ उसले सबै कदम चाल्ने उनले बताए ।

कान्तिपुर

Link copied successfully