यूएईमा थप ३ वटा ब्यालिस्टिक मिसाइल र १२१ ड्रोन निस्तेज

हालसम्म युएईमा ७८ जना सामान्य घाइते भएको युएईको रक्षा मन्त्रालयले जनाएको छ ।

फाल्गुन २०, २०८२

कान्तिपुर संवाददाता

3 more ballistic missiles and 121 drones downed in UAE

काठमाडौँ — संयुक्त अरब इमिरेट्स (यूएई) को रक्षा मन्त्रालयले बुधबार वायु रक्षा प्रणालीमार्फत ३ वटा ब्यालिस्टिक मिसाइल निष्क्रिय पारेको जनाएको छ । १२९ वटा ड्रोन पहिचान गरेकोमा १२१ वटा ड्रोन निस्तेज गरिएको छ । जसमध्ये ८ वटा जमिनमा खसेका छन् ।

रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार इरानबाट हालसम्म कुल १८९ वटा ब्यालिस्टिक मिसाइल पठाएको छ । जसमध्ये १७५ वटा नष्ट गरिएका छन् । १३ वटा समुद्रमा खसेका छन् भने एउटा मिसाइल देशभित्र खसेको उल्लेख गरिएको छ ।

९४१ वटा इरानी ड्रोनमध्ये ८७६ वटा अवरोध गरिएको र ६५ वटा यूएईभित्र खसेका छन् । यसबाहेक ८ वटा मोबाइल मिसाइल पनि पहिचान गरी नष्ट गरिएको मन्त्रालयले जनाएको छ ।

यी घटनाबाट नेपाली, पाकिस्तानी र बंगलादेशी नागरिक गरी ३ जनाको मृत्यु भएको थियो । यूएई, इजिप्ट, सुडान, इथियोपिया, फिलिपिन्स, पाकिस्तान, इरान, भारत, बंगलादेश, श्रीलंका, अजरबैजान, यमन, युगान्डा, एरिट्रिया, लेबनान र अफगानिस्तानका नागरिकसहित ७८ जना सामान्य घाइते भएका छन् ।

रक्षा मन्त्रालयले उक्त सैन्य आक्रमणको कडा निन्दा गर्दै यसलाई राष्ट्रिय सार्वभौमिकता तथा अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लंघन भएको जनाएको छ । रक्षाले आफ्नो भूमि, नागरिक र बासिन्दाको सुरक्षा सुनिश्चित गर्न तथा राष्ट्रिय हित, सुरक्षा र स्थायित्व जोगाउन आवश्यक सबै कदम चाल्ने र प्रतिकार गर्ने पूर्ण अधिकार सुरक्षित राखेको जनाएको छ ।

कान्तिपुर

Link copied successfully