इरानमाथिको आक्रमण निन्दनीय : स्पेनी विदेशमन्त्री

स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले यसअघि शनिबार आक्रमणको निन्दा गरेका थिए

फाल्गुन १९, २०८२

कान्तिपुर संवाददाता

Attack on Iran condemnable: Spanish Foreign Minister

काठमाडौँ — स्पेनका विदेशमन्त्री जोसे म्यानुएल अल्बारेसले  इरानमा अमेरिका र इजरायलको आक्रमणको निन्दा गरेका छन् । उनले यस युद्ध संयुक्त राष्ट्रसंघीय सन्धि वा अन्तर्राष्ट्रिय कानूनविपरीत रहेको बताए । 

युरो टुडेसँगको कुराकानीमा उनले इरानले मध्यपूर्वका अन्य देशमाथि गरेको आक्रमण पनि अन्यायपूर्ण रहेको बताए । उनले यो आक्रमण बदलाभावबाट प्रेरित रहेको र यसले सर्वसाधारणलाई समस्यामा पारेको बताए । 

'हामीले इरानी शासनबाट हुने हरेक मानवअधिकार उल्लङ्घनको निन्दा गरेका छौं र हामी इरानका जनताको साथमा छौं। हामी उनीहरूको रक्षा गर्न चाहन्छौं, हामी उनीहरूको स्वतन्त्रताको रक्षा गर्न चाहन्छौं,' अल्बारेसले भने ।

युरोपेली युनियनका देशहरूमध्ये इरानमाथिको आक्रमणको विरोध गर्ने स्पेन एकमात्रै देश हो । स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले यसअघि शनिबार आक्रमणको निन्दा गरेका थिए । 

सान्चेजको सरकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्तक्षेपकारी विदेश नीतिको निरन्तर आलोचना गरिररहेको छ ।  स्पेनले गाजामा इजरायलले गरेको आक्रमणको पनि लगातार आलोचना गर्दै आएको  छ । 

'हिंसाको माध्यमबाट शान्ति हुनेछैन । तर लोकतन्त्र वा स्थिरता पनि हुनेछैन,' विदेशमन्त्री अल्बारेसले सोमबार भने,' त्यसैले हामी वास्तवमै तनाव कम गर्न र वार्ताको टेबुलमा फर्कन सबैलाई आग्रह गर्छौं ।' 

इरानले सोमबारमात्रै अमेरिकासँग कुनै वार्ता नहुने बताएको छ । इरानका राष्ट्रपति मसुद पेजेश्कियनले आफ्नो देशका सर्वोच्च नेताको हत्याको बदला लिने कर्तव्य र वैध अधिकार इरानलाई रहेको दाबी गरेका छन् । 

कान्तिपुर

Link copied successfully