निरन्तर शत्रुताले मानिसको ज्यान गइरहेको र नागरिक पूर्वाधारमा गम्भीर क्षति पुगिरहेको रूसले जनाएको छ ।
काठमाडौँ — इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेइको हत्याप्रति रूसले गहिरो दुख व्यक्त गरेको छ । रूसी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यस घटनाले मस्को आक्रोशित बनेको उल्लेख छ ।
सभ्य संसारमा यस्तो हत्यालाई कुनै स्थान नभएको रुसी विदेश मन्त्रालयले बताएको छ। तेहरानले आइतबार बिहान ८६ वर्षीय खामेनेइको आक्रमणमा मृत्यु भएको पुष्टि गरेको थियो ।
उनकी छोरी, ज्वाइँ र नातिनीले पनि आक्रमणमा ज्यान गुमाएका छन्। 'रूसले राजनीतिक हत्या र सार्वभौम राज्यका नेताहरूको 'शिकार' गर्ने अभ्यासको दृढतापूर्वक र निरन्तर निन्दा गर्दछ।
यस्तो हत्या सभ्य समाज र राज्यहरूबीचको सम्बन्धको आधारभूत सिद्धान्तहरूको विपरीत छ । अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लङ्घन भएको छ,' रूसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
निरन्तर शत्रुताले मानिसको ज्यान गइरहेको र नागरिक पूर्वाधारमा गम्भीर क्षति पुगिरहेको रूसले जनाएको छ ।
द्वन्द्वले हर्मुजको घाँटीमा आवागमन बन्द हुने र यसले विश्वव्यापी ऊर्जा बजारमा ठूलो असंतुलन निम्त्याउने विज्ञप्तिमा उल्लेख छ ।
'हामी संयुक्त राष्ट्र संघको बडापत्र र आणविक हतियारको अप्रसार सम्बन्धी सन्धिको आधारमा विद्यमान समस्याहरू समाधान गर्न तत्काल तनाव कम गर्न, शत्रुता समाप्त गर्न र राजनीतिक तथा कूटनीतिक प्रक्रियामा फर्कन आह्वान गर्दछौं,' मन्त्रालयले थप्यो ।
इरानी राष्ट्रपति मसूद पेजेश्कियानको कार्यालयले खामेनीको हत्याको बदला लिएर छाड्ने बताएका छन् । 'यस महान् अपराधका दोषी र कमाण्डरहरूविरुद्ध पूर्ण शक्तिका साथ बदला लिने वाचा गर्छौं,' उनले भने ।
