इरान युद्ध चार हप्तासम्म लम्बिनसक्छ : ट्रम्प

ट्रम्पले आगामी हप्ताहरूमा थप क्षति हुन सक्ने बताएका छन्

फाल्गुन १८, २०८२

कान्तिपुर संवाददाता

Iran war could last four weeks: Trump

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चार हप्तासम्म लम्बिन सक्ने दाबी गरेका छन्  । यसभन्दा कम समयमा पनि अमेरिकाले विजय हासिल गर्नसक्ने उनको दाबी छ । 

‘ यो ठूलो देश हो । यसले चार हप्ता वा कम समय लिनेछ,’ ट्रम्पले आइतबार भने । उनले सबै काम योजनाअनुसार नै भइरहेको बताए । शनिबार गरिएको संयुक्त कारबाहीमा इरानका आयतोल्लाह अली खामेनाइ र इरानी सेनाका  दर्जनौं वरिष्ठ कमाण्डरहरू मारिएका थिए । 

त्यसपछि इरानले अमेरिकी सैन्य पूर्वाधारहरु राख्न दिएका खाडी राष्ट्रमाथि निरन्तर प्रत्याक्रमण गरिरहेको छ ।  ट्रम्पले इरानलाई आणविक हतियार प्राप्त गर्न वा अमेरिकासम्म पुग्न सक्ने क्षेप्यास्त्रहरू बनाउनबाट रोक्न सैन्य हस्तक्षेप गर्नुपरेको दाबी गरे । 

यसैबीच, इरानमा अमेरिकी आक्रमणको क्रममा तीन अमेरिकी सैनिक मारिएको र पाँच जना गम्भीर घाइते भएको अमेरिकी सेनाले जनाएको छ । ट्रम्पले आगामी हप्ताहरूमा थप क्षति हुन सक्ने बताएका छन् । 

ट्रम्पले सबै लक्ष्यहरु प्राप्त नहुदाँसम्म इरानमा आक्रमण जारी रहने बताए । इरानलाई आणविक हतियार निर्माण गर्नबाट रोक्ने र यहाँको सत्तालाई बदल्ने मुद्दा उनले लामो समयअघिदेखि अघि सारेका छन् । 

कान्तिपुर

Link copied successfully