अन्तर्राष्ट्रिय सहकार्य राज्यमन्त्री रिम अल हाशिमीले देशको रक्षा गर्न र त्यसका लागि पूर्ण तयारी अवस्थामा रहन कुनै कसर बाँकी नराख्ने बताइन् ।
What you should know
काठमाडौँ — संयुक्त अरब इमिरेट्स (यूएई)ले आफ्ना नागरिक तथा आप्रवासी श्रमिकको सुरक्षा सुनिश्चित गर्न विश्वकै उन्नत हवाई प्रतिरक्षा प्रणाली प्रयोग गरिरहेको जनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार युएईमा ७ लाख नेपाली कार्यरत छन् ।
अन्तर्राष्ट्रिय सहकार्य राज्यमन्त्री रिम अल हाशिमीले देशको रक्षा गर्न र त्यसका लागि पूर्ण तयारी अवस्थामा रहन कुनै कसर बाँकी नराख्ने बताइन् ।
आइतबार सीएनएनसँगको अन्तर्वार्तामा उनले इरानले खाडी मुलुकहरूलाई लक्षित गरी गरेको क्षेप्यास्त्र र ड्रोन आक्रमणलाई यूएईले निस्तेज गरिरहेको बताइन् । उनले भनिन्, 'हामी युएईवासीलाई स्पष्ट सन्देश दिन्छौँ कि तपाईंहरू यस्तो नेतृत्वसँग सुरक्षित हुनुहुन्छ जसले तपाईंको ख्याल राख्छ र सुरक्षा कायम राख्न सक्दो सबै प्रयास गर्नेछ ।'
उनका अनुसार यूएई बलियो पूर्वाधार भएको सुरक्षित स्थान हो । यहाँको नेतृत्वले स्थानीय नागरिक मात्र नभई विदेशी बासिन्दा, पर्यटक र आगन्तुक सबैको सुरक्षामा ध्यान दिएको उनले बताइन् ।
उनले यूएईको प्रतिरक्षा प्रणाली विश्वकै उत्कृष्टमध्ये एक रहेको बताइन् । शनिबार इरानको आक्रमणको पहिलो दिनमै, १३७ भन्दा बढी ब्यालेस्टिक मिसाइल र २०० भन्दा बढी ड्रोनलाई निस्तेज गरिएको उनले बताइन् ।
उनका अनुसार ठूलो आवाज सुन्दा धेरै बासिन्दा डराएका भए पनि ती आवाजहरू वास्तवमा मिसाइल अवरोध गरिएका ध्वनि हुन् । उनले भनिन्, 'जहाँ क्षति भएको छ, त्यो मुख्यतः निस्तेज पारिएका मिसाइलका अवशेष हुन् ।
इरानको आक्रमण युएईमा दुई जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । पाम जुमेराह, बुर्ज अल अरब आसपासका भवन, आवासीय क्षेत्र, विमानस्थल तथा जेबेल अली बन्दरगाहको एक भागमा आगलागीसहित क्षति पुगेको छ ।
