८६ वर्षका अली खामेनाई : उदयदेखि पतनसम्म

देशभित्रैको विरोध प्रदर्शन, अन्तर्राष्ट्रिय प्रतिबनध, सहयोगीहरुको कमजोर अवस्थालगायतलाई मध्यनजर गरेको ईरानले पछिल्लो समय वार्तामा जोड दिइरहेको थियो ।

फाल्गुन १७, २०८२

कान्तिपुर संवाददाता

Ali Khamenei, 86: From rise to fall

What you should know

काठमाडौँ — इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेईको अमेरिकी आक्रमणमा मृत्यु भएको छ ।

आइतबार बिहानै इरानी सरकारी मिडियाले ८६ वर्षका अली खामेनेईको मृत्युको पुष्टि गरेको हो । ईरानमा ४० दिन शोक बिदा दिइएको छ । 

आक्रमणमा खामेनेईकी छोरी, ज्वाइँ र नाति पनि मारिएको ईरानको अर्धसरकारी समाचार एजेन्सी तस्मिनले जनाएको छ ।

ईस्लामिक क्रान्तिको नेतृत्व गरेका संस्थापक नेता आयतोल्लाह रुहोल्लाह खोमेनेईको १९८९ मा निधन भएपछि अली खामेनेई नयाँ नेता बनेका थिए । 

सर्वोच्च नेता बन्नुअघि उनी १९८१ देखि १९८९ सम्म राष्ट्रपति थिए । यस अवधिमा ईरानले ईराकसँग ८ वर्ष युद्ध लडेको थियो । यस युद्धमा पश्चिमा देशहरुले इराकी नेता सद्दाम हुसेनलाई समर्थन गरेका थिए । 

एक्लै लडेको ईरानमा यस युद्धले ठूलो क्षति पुर्या‍एको थियो । पीडादायी द्वन्द्व देखेका खामेनेईले यसपछि अमेरिकासँग वार्ता र प्रतिरोधको लडाँइ एकसाथ लडे । 

‘मानिसहरूले इरानलाईे धर्मतन्त्रको रूपमा सोच्छन्, किनभने खामेनेई पगडी लगाउँछन् र राज्यको भाषा धर्मको भाषा हो । तर वास्तविकतामा, उनी युद्धकालका राष्ट्रपति थिए । इरान कमजोर छ र सुरक्षाको आवश्यकता छ भन्ने धारणाका साथ उनी युद्धबाट बाहिर निस्केका थिए,’ इरानी मामिला विज्ञ र इरानको ग्रान्ड स्ट्राटेजीः अ पोलिटिकल हिस्ट्रीका लेखक भली नस्रले भने। ‘अमेरिका इरानप्रति शत्रुतापूर्ण छ  र क्रान्ति, इस्लामिक गणतन्त्र र राष्ट्रवादलाई जोगाउन आवश्यक छ भन्ने खामेनेईको मान्यता रह्यो ।’

यस दृष्टिकोणले इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्सलाई  अर्धसैनिक बलबाट एक शक्तिशाली सुरक्षा, राजनीतिक र आर्थिक संस्थामा विकसित गरियो । यस क्षेत्रमा इरानको प्रभावलाई व्यापक बनाउने काम यही दस्ताले गर‍्यो ।

ईस्लामिक सत्ताले ल्याएका नीतिहरु कार्यान्वयनमा यस दस्ताले महत्वपूर्ण भूमिका खेल्यो । यस अवधि सांस्कृतिक क्रान्तिका नाममा कट्टर धार्मिक संस्कार तथा निरङ्कुशता प्रवर्द्धन गरिएको थियो ।

यसमा अनिवार्य हिजाब लगाउनुपर्ने, महिलाले गाडी चलाउन नपाइने, सरिया कानुनअनुसार अपराधमा दण्ड सजाय, महिलाले यात्राका लागि बाहिर जान पतिको अनुमति लिनुपर्ने, प्रदर्शनकारीमाथि गुप्तचर वा देशद्रोहको आरोपमा फाँसी, अल्यसंख्यक धार्मिक समु्दायमाथिको दमनलगायत पर्छन् । ईस्लामिक क्रान्तिअघि उदार रहेको समाजलाई यसले विपरीत बाटोमा डोहोर्‍यायो ।

खामेनेईको कार्यकाल पश्चिमा प्रतिबन्धहरूको मारमा बित्यो । उनले  आत्मनिर्भरतालाई बढावा दिन ‘प्रतिरोध अर्थतन्त्र’ लाई प्रवद्र्धन गरे, पश्चिमाहरूसँग वार्ता जारी राखे, तर ठूलो शंकाका साथ ।

उनको शासनकालमा देशभित्रै उदारवादी र प्रजातन्त्रवादीहरुले ठूलो प्रदर्शन गरे । यसलाई दबाउन ईरानी सेनाले ठूलो बल प्रयोग गर्‍यो, जसमा सयौंको मृत्यु भयो ।

सन् २००९ मा राष्ट्रपति चुनाव धाँधलीपूर्ण भएको भन्दै ईस्लामिक सरकारविरुद्ध चलेको जनप्रदर्शनलाई खामेनेईको सत्ताले दबाएको थियो । त्यसपछि सन् २०२२ मा हिजाब प्रतिबन्धविरुद्ध अर्को आन्दोलन चल्यो ।

यसलाई पनि दबाएको इस्लामिक सत्तालाई गत २८ डिसेम्बरदेखि सुरु भएको सरकार विरोधी प्रदर्शन दबाउन मुस्किल परेको थियो । आर्थिक संकट गहिरिएपछि सुरु भएको यो आन्दोलन सन् १९७९ यताकै सबैभन्दा ठूलो हिंसात्मक प्रदर्शन थियो । 

यी क्रुर दमनहरुले उनको सत्ताको निरङ्कुश छवि उजागर गर्यो‍ । सन् १९३९ मा उत्तरपूर्वी इरानको मशहदमा खामेनेई जन्मिएका थिए । उनका बाबु अजरबैजानी मुलका हुन् । जो पहिले ईराकमा एक चर्चित मुस्लिम नेता थिए । 

खामेनीले आफ्नी आमा खादिजेह मिर्दमादीलाई कुरान र पुस्तक पढ्ने एक उत्साही महिलाका रूपमा वर्णन गरेका छन् । उनले आफ्नो छोरामा साहित्य र कविताप्रति प्रेम जगाइन् र पछि पहलवी राजवंशको शासनविरुद्ध छोराले गरेको आन्दोलनलाई समर्थन गरिन् । 

खामेनेईले चार वर्षको उमेरमा कुरान सिकेर आफ्नो अध्ययन सुरु गरे । मशहदको पहिलो इस्लामिक स्कूलमा आफ्नो प्राथमिक शिक्षा पूरा गरे। उनले उच्च माध्यमिक शिक्षा पूरा गरेनन्, बरु धर्मशास्त्र स्कूलमा गए र आफ्ना बुबा र शेख हाशेम गाजविनीजस्ता समयका प्रख्यात इस्लामिक विद्वानहरूबाट शिक्षा लिए । त्यसपछिका वर्षहरूमा, उनले नजफ र कोममा उच्च शिक्षा थिए । 

सन् १९५३ मा सिआईए र बेलायती गुप्तचर (एमआई६ ) को समर्थनमा ईरानका शाहले जननिर्वाचित सत्तालाई अपदस्थ गरेृ । प्रधानमन्त्री मोहम्मद मोसाद्देगलाई जेल चलान गरियो ।

यसको विरोधमा उत्रिएका खामेनेईलाई शाहका गुप्तरहरुले पटक–पटक पक्राउ गरे । त्यसपछि दक्षिणपूर्वी इरानको दुर्गम शहरमा निर्वासनको सजाय सुनाइयो । उनी एकैपटक पहलवी शासनको अन्त्य गर्ने १९७८ को विरोध प्रदर्शनमा भाग लिन फर्किए ।

राजतन्त्र अपदस्थ भएपछि रुहोल्लाह खामेनेई सर्वोच्च नेता बने । अली खामेनेई १९८० मा रक्षामन्त्री बने । उनले छोटो रक्षामन्त्रीको कार्यकाल चलाउँदा इरान–इराक युद्ध सुरु भयो । त्यसपछि उनलाई इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्सको पर्यवेक्षकको भूमिका दिइयो । 

१९८१ खामेनीको लागि एउटा महत्वपूर्ण वर्ष साबित भयो । यस वर्ष विपक्षी समुह मोहाहिदिन–ए खाल्कले उनको हतया प्रयास गरेको थियो । जो सफल भएन । यही वर्ष उनले राष्ट्रपति पद जिते । उनी इरानको पहिलो धर्मगुरु राष्ट्रपति हुन् । उनको कार्यकालमा ८ वर्ष ईरान–ईराक युद्ध चल्यो ।

सन् १९८९ मा रुहोल्लाह खोमेनेईको मृत्यु इस्लामिक भयो । रुहोल्लाहले उत्तराधिकारी तोकेका आयतोल्लाह हुसेन अली मोन्टाजेरी आफ्नो कट्टरपन्थी स्वभावका कारण विवादमा थिए ।

संविधान संशोधन गर्न गठित परिषद्ले अली खामेनेईलाई सर्वोच्च नेता नियुक्त गर्‍यो । परिषद्ले देशको सर्वोच्च पद धारण गर्न आवश्यक योग्यताहरू खुकुलो पारेर यस्तो निर्णय लिएको थियो । किनकी, अली खामेनेईसँग यतिबेला उच्च श्रेणीको शिया धर्मगुरुको उपाधि (होजातोलेस्लाम) उपाधि थिएन ।

सर्वोच्च नेता बनेपछि खामेनेईले ईराकसँगको युद्धले ध्वस्त पारेका देशका पूर्वाधारलाई पुननिर्माण गर्न थाले । उक्त द्वन्द्वमा दस लाखभन्दा बढी मानिसहरू मारिएका थिए  र अर्थतन्त्र ध्वस्त थियो । 

सन् १९९७ मा सुधारवादी नेता मोहम्मद खतामी भारी मतले राष्ट्रपतिमा विजयी भए । उनी पश्चिमसँग सम्बन्ध राम्रो बनाउनुपर्ने वकालत गरिरहेका थिए । यता, खामेनेईलाई , पश्चिमप्रति शंका र अविश्वास कायमै थियो । त्यसैले उनले देशका राष्ट्रपतिलाई नै चुनौती दिनेगरी विश्वासपात्रहरुको आफ्नै समुह बनाउन थाले । 

राष्ट्रिय सेनाभन्दा पनि रिभोलुशनरी गार्डस् कप्र्सलाई बलियो बनाइएको थियो । राष्ट्रिय खर्चको धेरै हिस्सा यसैमा खर्च गरियो । किनकी, यो अली खामेनेईको विश्वासिलो र भरपर्दो सेना थियो । 

२००९ मा महमूद अहमदिनेजाद राष्ट्रपति चुनावमा विजयी भए । उनी खामेनेईजस्तै कट्टर पश्चिमा विरोधी थिए । राष्ट्रपति चुनावमा धाँधली भएको भन्दै देशमा आन्दोलन सुरु भयो । 

आन्दोलनकारीको समर्थन सुधारवादी उम्मेदवार मीर हुसेन मौसावीलाई थियो । एम्नेस्टी इन्टरनेशनलका अनुसार यसक्रममा हजारौंलाई पक्राउ गरिएको थियो र दर्जनौं मारिएका थिए ।

पश्चिमी देशहरूले आफ्ना धार्मिक प्रतिष्ठानलाई ढाल्न अशान्ति फैलाएको आरोप इरानी नेतृत्वले  लगाए । 

खामेनी एक व्यावहारिक पनि थिए । र पश्चिमा देशहरुसँग आवश्यक पर्दा वार्ताको टेबुलमा बस्न पनि तयार देखिए । २०१५ मा ईरानले  अन्तर्राष्ट्रिय प्रतिबन्धहरूबाट ठूलो समस्या व्यहोरेको थियो ।

आर्थिक दबाब कम गर्नका लागि उनले तत्कालीन राष्ट्रपति हसन रुहानीले पश्चिमाहरूसँग गरेको वार्तालाई उनले समर्थन गरे । ईरान र विश्व शक्तिहरूले हस्ताक्षर गरेको यो ऐतिहासिक सम्झौतामा ईरानले आफ्नो आणविक कार्यक्रमलाई हतियार निर्माणमा प्रयोग नगर्ने सहमति भएको थियो । त्यसको बदलामा ईरानलाई अन्तर्राष्ट्रिय बजारमा निर्बाध पहुँच सुनिश्चित गर्ने सहमति बनेको थियो । 

तर त्यो सम्झौतामा हस्ताक्षर भएको दुई वर्षमै डोनाल्ड ट्रम्प अमेरिकामा राष्ट्रपति विजयी भए । सन् २०१८ मा उनले एकतर्फी रुपमा अमेरिका उक्त सम्झौताबाट बाहिरिएको घोषणा गरे । त्यसपछि फेरि ईरानमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाइयो ।

जवाफमा इरानले युरेनियमको संवर्धनको स्तर फेरि बढाउन थाल्यो । पछिल्लो रिपोर्टअनुसार ईरानको युरेनियम सम्वद्र्धन स्तर ६० प्रतिशत हराहारीमा छ । जबकी, हतियार बनाउनका लागि ८० देखि ९० प्रतिशत युरेनियम सम्वद्र्धन चाहिन्छ । 

यसबीच सन् २०१९ मा मुल्यवृद्धिविरुद्ध र सन् २०२२ मा हिजाब प्रतिबन्ध खुकुलो गर्नुपर्ने विषयमा चलेको आन्दोलनमा ठूलो संख्यामा मानिस मारिए । 

ईरानले लेबनानमा हिजबुल्लाह, सिरियामा पूर्व राष्ट्रपति बसर अल–असद, प्यालेस्टाइनमा हमास, यमनमा हुथी विद्रोही र इराकका सशस्त्र समूहहरूसँग गठबन्धन गर्‍यो ।

अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायलमा हमासको आक्रमणपछि ईरानका सहयोगीहरुमाथि मध्यपूर्वमा इजरायलले लगातार हमला गर्‍यो । पश्चिमा प्रतिबन्धका कारण यी सहयोगीहरुलाई आवश्यक आर्थिक सहयोग गर्न पनि ईरानलाई मुस्किल परिरहेको थियो ।

प्यालेस्टाइनमा हमास र लेबनानमा हिजबुल्लाह इजरायलको आक्रमणले लगातार कमजोर भए । डिसेम्बर २०२४ मा सिरियामा विद्रोहीहरुले बसर अल असदलाई अपदस्थ गरे ।  

इरानका सहयोगीहरू कमजोर भएको अवस्थालाई बुझेर इजथरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आक्रमक देखिए । जुन १३, २०२५ मा, इजरायली सेनाले अमेरिकालाई जानकारी दिएर  इरानमाथि आक्रमण गर्‍यो । यसमा ईरानको रिभोलुशरी गार्डस् कप्र्सका  वरिष्ठ कमाण्डरहरू र शीर्ष आणविक वैज्ञानिकहरु समेत मारिए । 

आणविक स्थलहरू र नागरिक तथा सैन्य पूर्वाधारहरूमा आक्रमण भयो । इरानले तेल अभिभमा क्षेप्यास्त्र प्रहार गरेर आक्रमणको जवाफ दियो । झन्डै दुई हप्तासम्म पूर्ण युद्ध चल्यो । यही युद्धमा दौरान अमेरिकाले ईरानका प्रमुख तीन आणविक पूर्वाधारमा आक्रमण गर्‍यो । 

जवाफमा ईरानले पनि कतारस्थित अमेरिकी सेनाको अखडामा हमला गरेको थियो । तर, त्यो ठूलो परिमाणको थिएन । 

१२ दिने युद्धपछि ईरानमा सरकारको पक्षमा केही समय माहोल बनेको थियो । तर, अर्थतन्त्रले सम्पूर्ण क्षेत्र डमाडोल भएकाले २८ डिसेम्बरमा साना व्यापारीहरुले आन्दोलन थाले ।

यसलाई समाजका सबै तप्काले साथ दियो । ९–१० जनवरीमा यो आन्दोलन उच्च थियो । आन्दोलनमा ईरानी सेनाले ठूलो दमन गर्‍यो । यस दमनमा परेर झन्डै ३२ हजार नागरिक मारिएको दाबी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्दै आएका छन् । 

देशभित्रैको विरोध प्रदर्शन, अन्तर्राष्ट्रिय प्रतिबनध, सहयोगीहरुको कमजोर अवस्थालगायतलाई मध्यनजर गरेको ईरानले पछिल्लो समय वार्तामा जोड दिइरहेको थियो ।

तर, युरेनियम सम्वद्र्धको स्तर घटाउन तयार भएपनि पूर्ण रुपमा आफ्नो आणविक कार्यक्रम अन्त्य गर्न तयार थिएन । ओमानको मध्यस्थतामा भएका अमेरिकासँगका  पछिल्ला तीनवटा अप्रत्यक्ष वार्ता यही मुद्दामा पुगेर अड्किए ।

६ फेब्रुअरी, १७ फेब्रुअरी र पछिल्लो समय २६ फेब्रुअरीमा वार्ता चलेको थियो । तेस्रो चरणको वार्ता प्रगतिउन्मुख रहेको ईरानको दाबी थियो । तर, त्यसको दुईदिनभित्रै ईरानमाथि आक्रमण गरेर अमेरिकाले सर्वोच्च नेता खामेनेईको हत्या गर्यो । 

अमेरिकी सैनिक स्रोतलाई हवाला दिएर न्युयोर्क टाइम्सले प्रकाशित गरेको समाचारअनुसार पछिल्ला केही साता खामेनाई गायब थिए । तर,  शनिबार अमेरिका-ईरानले आक्रमण गर्नुअघि आफ्ना शीर्ष नेताहरूसँग छलफल गर्नका लागि उनी सर्वोच्च नेताको कार्यलयमा आउने कार्यक्रम थियो । यो सुचना अमेरिकी गुप्तचर निकाय (सिआईए) ले प्राप्त गर्‍यो ।

त्यसपछि कार्यालयमा  आक्रमण गर्दा खामेनेईसँगै अन्य केही नेता मारिएका छन् ।मारिनेमा रिभोलुसनरी गार्ड्सका कमान्डर इन चिफ मोहम्मद पकपूर, रक्षा मन्त्री अजिज नासिरजादेह, सैन्य परिषद् प्रमुख अली शमखानी,  रिभोलुसनरी गार्डसका एयरोस्पेस फोर्स कमान्डर सेय्यद माजिद मूसावी, उप-गुप्तचर मन्त्री मोहम्मद शिराजी लगायत छन् । अमेरिकी सेनाले स्थानीय समयअनुसार ९;४० मा कार्यालयमा आक्रमण गरेको थियो ।

कान्तिपुर

Link copied successfully