इरानमा अमेरिका र इजरायलको आक्रमण: विभिन्न अन्तर्राष्ट्रिय विमानस्थल बन्द, उडान रद्द

इरानमा अमेरिका र इजरायलको सैन्य आक्रमणपछि पश्चिम एसियाभरका व्यावसायिक उडानहरू प्रभावित भएका छन् ।

फाल्गुन १६, २०८२

कान्तिपुर संवाददाता

US and Israeli attacks on Iran: Various international airports closed, flights canceled

What you should know

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले इरानमाथि क्षेप्यास्त्र आक्रमण सुरु गरेको घोषणा गरेसँगै अमेरिकाले पनि इरानमा ठूलो सैन्य अभियान सुरु गरेको बताएका छन् । इरानको रिभोलुसनरी गार्ड्सले इजरायलतर्फ पहिलो ठूलो प्रतिशोधात्मक क्षेप्यास्त्र र ड्रोन आक्रमणको लहर सुरु गरेको जनाएको छ ।

बहराइनले आफ्नो देशस्थित अमेरिकी नौसेनाको मुख्यालयलाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण भएको जनाएको छ भने कतारमा एक क्षेप्यास्त्र अवरोध गरिएको छ । संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीमा विस्फोट भएको खबर आएको छ । इरानको राजधानी तेहरानमा धेरै विस्फोटका आवाज सुनिएको र देशका अन्य विभिन्न स्थानमा पनि विस्फोट भएको खबर छ । इरान सरकारबाट तत्काल आधिकारिक प्रतिक्रिया आएको छैन, तर सरकारी सञ्चारमाध्यमले राष्ट्रपति मसूद पेजेश्कियन सुरक्षित रहेको जनाएका छन् ।

इरानमा अमेरिका र इजरायलको सैन्य आक्रमणपछि पश्चिम एसियाभरका व्यावसायिक उडानहरू प्रभावित भएका छन् ।

आक्रमणपछि इजरायलले नागरिक उडानका लागि आफ्नो हवाई क्षेत्र पूर्णरूपमा बन्द गरेको जनाएको छ । इजरायल विमानस्थल प्राधिकरणले अर्को सूचना नआएसम्म विमानस्थलमा नआउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

केही अन्तर्राष्ट्रिय वायुसेवाले उडान स्थगित गर्ने घोषणा गरेका छन् ।

बिज एयरले इजरायल, यूएईको दुबई, अबुधाबी तथा जोर्डनको अम्मानतर्फका सबै उडान मार्च ७ सम्मका लागि तत्काल प्रभावबाट स्थगित गरेको छ ।

लुफ्थान्साले शनिबार र आइतबार दुबई, तेल अभिभ, लेबनानको बेरुत र ओमानको मस्कटतर्फका उडान स्थगित गरेको छ ।

केएलएमले एम्स्टर्डमबाट तेल अभिभतर्फका उडान रद्द गरेको छ ।

ओमान एयरले इराकको राजधानी बगदादतर्फका सबै उडान स्थगित गरेको छ ।

रुसले इरान र इजरायलतर्फका सबै उडान स्थगित गरेको छ ।

कुवेतले अर्को सूचना नआएसम्म इरानतर्फका सबै उडान स्थगित गरेको छ।

इराकले आफ्नो हवाई सेवा बन्द गर्दै सबै आगमन र प्रस्थान उडान रद्द गरेको छ।

गल्फ देशहरू कतार कुवेत र युएईले आफ्नो हवाई सेवा बन्द गरेका छन् ।

यसैबीच टर्किस एयरलाइन्सले विभिन्न गन्तव्यतर्फका उडान रद्द गरेको छ । एयरलाइन्सले कतार, कुवेत, बहराइन, यूएई, ओमान, लेबनान, सिरिया, इराक, इरान र जोर्डनतर्फका उडान रद्द गरेको जनाएको हो । कतारी हवाई क्षेत्र बन्द गरिएपछि कतार एयरवेजले आफ्ना सबै उडान स्थगित गरेको जनाएको छ ।

यसैबीच, सिरियाको नागरिक उड्डयन प्राधिकरणले देशको हवाई क्षेत्रको एक भाग बन्द गरिएको जनाएको छ ।'दक्षिणी हवाई मार्गहरू शनिबार दिउँसो मध्याह्नदेखि १२ घण्टाका लागि बन्द गरिनेछ,' प्राधिकरणले वक्तव्यमा भनेको छ ।

भारतद्वारा मध्यपूर्वका सबै उडानहरू स्थगित

इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेपछि भारतका दुई ठूला निजी विमान कम्पनी इन्डिगो र एयर इन्डियाले मध्यपूर्वका सबै गन्तव्यमा उडान स्थगित गरेका छन् । मध्यपूर्वका केही भागहरूमा बढ्दो आक्रमणको अवस्थालाई ध्यानमा राख्दै, मध्यपूर्वका सबै गन्तव्यहरूमा जाने एयर इन्डियाका सबै उडानहरू स्थगित गरिएको एयर इन्डियाले सामाजिक सञ्जाल एक्समार्फत विज्ञप्ति जारी गर्दै जनाएको छ ।

इन्डिगोले पनि ग्राहक र चालक दलका सदस्यहरूको सुरक्षालाई ध्यानमा राख्दै अस्थायी रूपमा उडानहरू स्थगित गरिरहेको बताएको छ ।

लाखौँ भारतीय आप्रवासीहरूको घर, अन्य खाडी राष्ट्रहरूमा छ भने नयाँ दिल्लीले ऐतिहासिक रूपमा इजरायलसँगको आफ्नो सम्बन्धलाई सन्तुलित गरेको छ ।

यो क्षेत्र विश्वको सबैभन्दा तीव्र गतिमा अघि बढिरहेको प्रमुख अर्थतन्त्रका लागि ऊर्जाको महत्त्वपूर्ण स्रोत पनि हो ।

प्रधानमन्त्री नरेन्द्र मोदी इजरायलको ऐतिहासिक भ्रमण पछि स्वदेश फर्केको एक दिनपछि इरानमा आक्रमण भएको हो, जहाँ दुवै पक्षले व्यापार र रक्षा सम्बन्धलाई मजबुत बनाउन सहमत भएका थिए ।

कान्तिपुर

Link copied successfully