ट्रम्पले दोस्रो कार्यकाल सुरु भएयता पहिलोपटक संयुक्त सदनलाई सम्बोधन गरेका हुन् ।
What you should know
काठमाडौँ — ईरानले अमेरिकासम्म मार हान्नसक्नेगरी क्षेप्यास्त्र निर्माण गरिरहेको आरोप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका छन् । यसअघि गत जुनमा अमेरिकाले ईरानका आणविक पूर्वाधारमा हमला गरेको थियो ।
त्यसबेला ट्रम्पले ईरानका लगभग सबै आणविक पूर्वाधार क्षतिग्रस्त भएको दाबी गरेका थिए । ईरानलाई आणविक हतियार बनाउन वर्षौं लाग्ने उनको दाबी थियो । तर, मंगलबार राति अमेरिकी कंग्रेस (सदन) लाई झन्डै १ घण्टा ५० मिनेट सम्बोधन गर्दा उनले आफ्नै दाबी खण्डन गरे ।
‘उनीहरूले पहिले नै युरोप र विदेशमा रहेका हाम्रा अखडाहरुलाई धम्की दिन सक्ने क्षेप्यास्त्रहरू विकास गरिसकेका छन् । तिनीहरू चाँडै अमेरिका पुग्ने क्षेप्यास्त्रहरू निर्माण गर्नेगरी काम गरिरहेका छन्,’ ट्रम्पले भने, ‘तीनीहरूलाई भविष्यमा आफ्नो हतियार कार्यक्रम, विशेष गरी आणविक हतियारहरू पुनर्निर्माण गर्ने प्रयास नगर्न चेतावनी दिइएको थियो । तर, तिनीहरू फेरि सुरु गर्न चाहन्छन् र अहिले आफ्नो भयावह महत्वाकांक्षालाई पछ्याइरहेका छन्,’ ट्रम्पले भने ।
ट्रम्पले दोस्रो कार्यकाल सुरु भएयता पहिलोपटक संयुक्त सदनलाई सम्बोधन गरेका हुन् ।
‘मेरो प्राथमिकता कूटनीतिमार्फत यो समस्या समाधान गर्नु हो । तर एउटा कुरा निश्चित छ कि म विश्वको आतंकवादको नम्बर एक प्रायोजकलाई कहिल्यै पनि आणविक हतियार राख्न दिने छैन,’ ट्रम्पले ईरानबारे भने । सदनमा अमेरिकी राष्ट्रपतिले यति लामो सम्बोधन गरेको यो पहिलोपटक हो ।
यसअघि गत शुक्रबार ट्रम्पले मध्यपूर्वका दूत स्टिभ विटकफ र उनका ज्वाइँ जरेद कुश्नरलाई जेनेभामा ईरानी अधिकारीहरुसँगको अप्रत्यक्ष वार्ताका लागि पठाएका थिए । आगामी बिहीबार फेरि दुई पक्षबीच वार्ता तय भएको छ । यस अप्रत्यक्ष वार्तामा ओमानका अधिकारीहरुले अमेरिका र ईरान दुबै पक्षका प्रतिनिधिसँग बेग्ला–बेग्लै भेट गर्दै आएका छन् । यो वार्ताको लक्ष्य आणविक सम्झौतामा हस्ताक्षर गर्ने हो । तेहरानले आफ्नो आणविक कार्यक्रम अन्त्य गर्न सहमत नभएमा ठूलो आक्रमण गरिने चेतावनी पनि ट्रम्पले दिएका छन् ।
वार्ता जारी रहँदा, ट्रम्पले मध्यपूर्वमा आफ्नो जलसेना, युद्धपोत, लडाकु जेट र बमवर्षकहरु लगेर राखेका छन् । अब्राहम लिंकन क्यारियर स्ट्राइक ग्रुप अरब सागरमा छ । जेराल्ड फोर्ड क्यारियर स्ट्राइक ग्रुप भूमध्यसागरबाट मध्यपूर्वतर्फ गइरहेको छ । गत जनवरीमा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई कब्जामा लिनुअघि उनीमाथि दबाब सिर्जना गर्न क्यारेबियन सागरमा जेराल्ड फार्ड क्यारियर युद्धपोत तैनाथ गरिएको थियो । यो विश्वकै सबैभनदा ठूलो युद्धपोत हो ।
ट्रम्प आगामी दिनहरूमा इरानसँग वार्ता जारी रहने बताए । ‘हामी उनीहरूसँग वार्ता गरिरहेका छौं । उनीहरू सम्झौता गर्न चाहन्छन् । तर आणविक हतियार पूर्ण त्याग्ने कुरा गरिरहेका छैनन,’ ट्रम्पले भने, ‘कुनै पनि राष्ट्रले अमेरिकाको दृढ संकल्पमा कहिल्यै शंका गर्नु हुँदैन । हामीसँग संसारको सबैभन्दा शक्तिशाली सेना छ ।’
उनले २८ डिसेम्बरदेखि सुरु भएको ईरानी क्रान्तिका दौरान ३२ हजार मानिसहरु मारिएको दाबी पनि गरे । ईरानमा इन्टरनेटमाथि प्रतिबन्ध भएकाले मारिनेको यकिन संख्या बाहिरिएको थिएन । जनवरीको अन्त्यमा पत्रकार सम्मेलन गर्दै ईरान सरकारले आन्दोलनमा झन्डै ३१ सय १७ जना मारिएको जनाएको थियो । तर, मारिनेको संख्या यसभन्दा धेरै रहेको मानवअधिकारवादी संस्था तथा स्वतन्त्र निकायहरुले जनाएका छन् ।
त्यसैगरी ट्रम्पले आफ्नो सुरुवाती १० महिनाभित्र विश्वका विभिन्न ८ वटा युद्ध अन्त्य गरेको दाबी गरेका छन् । ईजरायल–हमास, पाकिस्तान–भारत, रुवान्डा– प्रजातान्त्रिक गणतन्त्र कंगो, थाइल्यान्ड–कम्बोडिया, अर्मेनिया– अजरबैजान, इजिप्ट–इथियोपिया र सर्बिया–कोसोभो युद्ध अमेरिकाको मध्यस्थतामा अन्त्य भएको दाबी उनले गरे । ईजरायल र हमासबीचको युद्धविराम ट्रम्पकै मध्यस्थतामा भएको थियो ।
अहिले उनको नेतृत्वमा गाजामा अत्याधुनिक शहर बनाउने लक्ष्यसहित शान्ति बोर्ड पनि गठन भएको छ । तर, अन्य युद्धका विषयमा उनको दाबी सही नरहेको बेलायती सञ्चारमाध्यम बीबीसीको विश्लेषण छ ।
‘यसमध्ये धेरैजसो युद्ध केही दिनमात्रै चलेका थिए । ती युद्ध दिर्घकालीन तनावका नतिजा थिए । यसमध्ये इजिप्ट र इथियोपियाबीच कुनै लडाँइ नै भएको थिएन । उनीहरुबीच केवल ड्याम निर्माणलाई लिएर तनावमात्रै उत्पन्न भएको थियो,’ बीबीसीमा लेखिएको छ, ‘ वासिङटनमा रुवान्डा र प्रजातान्त्रिक गणतन्त्र कंगोबीच शान्ति सम्झौता भइसकेपछि पनि दुई देशबीच युद्ध चलिरहेको थियो । अर्कोतर्फ पाकिस्तानसँगको युद्ध अन्त्य गर्न भूमिका खेलेको ट्रम्पको दाबीलाई भारतले खण्डन गर्दै आएको छ । ’
ट्रम्पले विदेशी कम्पनी र देशहरुसँग चर्को भन्सार शुल्क लिदाँ अमेरिकीमाथि आयकरको बोझ कम हुने भन्दै भन्सार वृद्धिको आफ्नो रणनीतिको बचाउ गरे ।
‘मलाई विश्वास छ विदेशी देशहरूले तिर्ने शुल्कले, विगतमा जस्तै, आधुनिक आयकर प्रणालीलाई उल्लेखनीय रूपमा प्रतिस्थापन गर्नेछ । मैले माया गर्ने मानिसहरूबाट ठूलो आर्थिक भार हट्नेछ,’ उनले भने ।
यसक्रममा ट्रम्पले अवैध आप्रवासीका कारण अमेरिका विगतमा असुरक्षित भएपनि अहिले आफ्नो कार्यकालमा अपराध नियन्त्रणमा आएको बताए । उनले आफ्नो कर्तव्य अमेरिकी नागरिकको सुरक्षा रहेको बताए । अमेरिकाले स्वतन्त्रतापछिका २ सय ५० वर्षमा धेरै प्रगति गरेको र आफ्नो कार्यकालमा अमेरिका अझै सुदृढ र बलियो बन्ने आशा उनले व्यक्त गरे ।
ट्रम्पको दाबी आधारहिन रहेको ईरानको प्रतिक्रिया
आफ्नो क्षेप्यास्त्र कार्यक्रमको बारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले झुठो बोलेको ईरानले बताएको छ । ईरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले बुधबार ट्रम्पको दाबी सही नरहेको बताए ।
‘इरानको आणविक कार्यक्रम, इरानको ब्यालिस्टिक क्षेप्यास्त्र र जनवरीको अशान्तिको समयमा भएको हताहतको संख्याको बारेमा उनीहरूले जे आरोप लगाइरहेका छन्, त्यो केवल ’ठूला झूट’ को निरन्तरता मात्र हो,“ उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।
