स्लोभाकियाले रोक्यो युक्रेनमा बिजुली आपुर्ति

सोभियतकालीन द्रुज्बा पाइपलाइनबाट युक्रेन हुँदै रूसी तेल स्लोभाकिया आउने गरेको थियो ।

फाल्गुन १२, २०८२

कान्तिपुर संवाददाता

Slovakia stops electricity supplies to Ukraine

What you should know

काठमाडौँ — स्लोभाकिया सरकारले युक्रेनलाई दिइरहेको आपतकालीन बिजुली आपूर्ति रोकेको छ । युद्धले उर्जा पूर्वाधारहरू क्षतिग्रस्त भएपछि विदेशबाट बिजुली निर्यात गरिररहेको युक्रेनमा यसले थप समस्या उत्पन्‍न भएको छ ।

सोमबारसम्म द्रुज्बा तेल पाइपलाइनमार्फत तेल पठाउन दिएको अल्टिमेटम युक्रेनले पुरा नगरेपछि स्लोभाकियाले बिजुली आपुर्ति रोकेको हो ।

स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोले युक्रेनलाई युरोपेली संघमा दिइएको समर्थन पनि पुनर्विचार गर्ने चेतावनी दिएका छन् ।​ फिकोले भिडियो सन्देशमार्फत भने, 'आजबाट युक्रेनले आफ्ना ऊर्जा सञ्जाल स्थिर पार्न स्लोभाकियाबाट सहयोग मागे पनि त्यस्तो सहयोग पाउने छैन।'

उनले गत शनिबार दुई दिनभित्र द्रुज्बा पाइपलाइनमार्फत तेल सञ्चालनलाई निरन्तरता दिन आग्रह गरेका थिए । सोभियतकालीन द्रुज्बा पाइपलाइनबाट युक्रेन हुँदै रूसी तेल स्लोभाकिया आउने गरेको थियो ।

तर केही महिनायता यो पाइपलाइनबाट तेल आपुर्ति रोकिएको छ । रूसी ड्रोन आक्रमणमा यो पाइपलाइन बिग्रिएको आरोप युक्रेनले लगाउँदै आएको छ । रूसले भने युक्रेनमाथि आक्रमणको दोष लगाएको छ ।

किभस्थित स्लोभाकियाली राजदूतले पाइपलाईन निरीक्षण गर्न खोज्दा युक्रेनले नमानेको आरोप पनि फिकोले लगाएका छन् । उनले प्राविधिक क्षति नभएर राजनीतिक स्वार्थका कारण यो पाइपलाइन बिग्रिएको आरोप लगाए ।

 'सधैं युक्रेनको स्वार्थका लागि मात्रै हामी काम गर्न सक्दैनौं । यदी युक्रेनले दुई दिनभित्र पाइपलाइन सञ्चालन ल्याउन सक्दैन भने हामी बिजुल आपुर्ति कटौति गर्छौं,' फिकोले गत शनिबार भनेका थिए । युक्रेनले स्लोभाकियाले रूसको स्वार्थमा काम गरेको भन्दै बिजुली कटौती गर्ने निर्णयको विरोध गरेको छ । 

यसअघि गत साता हंगेरीले युक्रेनलाई दिदैं आएको डिजेल कटौती गर्ने निर्णय गरेको थियो । त्यस्तै, ९० खर्ब डलर ऋण प्याकेज पनि बन्द गरिदिने चेतावनी दिएको थियो । 

कान्तिपुर संवाददाता

Link copied successfully