उत्तर कोरियामा नवौं पार्टी महाधिवेशन, किम जोङ महासचिवमा सर्वसम्मत 

किम परिवारको तीन पुस्ते लामो शासनकालमा वर्कर्स पार्टीको भेला नौपटक मात्रै गरिएको छ ।

फाल्गुन ११, २०८२

कान्तिपुर संवाददाता

North Korea's ninth party congress unanimously elects Kim Jong-un as general secretary

काठमाडौँ — उत्तर कोरियाको सत्तारुढ वर्कर्स पार्टीले आइतबार पार्टी महाधिवेशनको चौथो दिन नेता किम जोङ उनलाई पुनः महासचिवमा सर्वसम्मत चयन गरेको छ ।

सोमबार सरकारी कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) ले तयार गरेको रिपोर्टमा किमको नेतृत्वमा, ‘आणविक शक्तिका रूपमा देशको युद्ध प्रतिरोधमा आमूल सुधार भएको उल्लेख गरेको छ ।

‘महाधिवेशनले पार्टीका केन्द्रीय समितिका सदस्यहरूको पनि चयन गरेको छ र पार्टी नियमहरूमा संशोधनहरू अपनाएको छ,’ केसीएनएको समाचारमा उल्लेख छ । तर परिवर्तनहरुबारे बिस्तृतमा उल्लेख छैन । 

पाँच वर्षमा एक पटक मात्र आयोजना हुने वर्कर्स पार्टी भेलामा सर्वोच्च नेताले आवास निर्माणदेखि युद्ध योजनासम्मका प्रयास सुनाउँछन् । किम परिवारको तीन पुस्ते लामो शासनकालमा वर्कर्स पार्टीको भेला नौपटक मात्रै गरिएको छ ।

किम जोङ इल सर्वोच्च नेता छँदा बैठक नै डाकेका थिएनन् । तर, किम जोङ सर्वोच्च नेता बनेपछि सन् २०१६, २०२१ र २०२६ मा लगातार तीनपटक भेला बोलाएका हुन् । 

बिहीबार आफ्नो उद्घाटन भाषणमा , किमले जीवनस्तर सुधार गर्ने वाचा गरेका छन् । उनले पश्चिमा प्रतिबन्धहरूबाट आफ्नो राष्ट्रले विभिन्न चुनौती सामना गर्नुपरेको बताए । भेलामा झन्डै ५ हजार पार्टी प्रतिनिधि सहभागी थिए । 

कान्तिपुर संवाददाता

Link copied successfully