अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले १० दिनभित्र ईरानसँगको वार्ता नटुंगिए सैन्य हस्तक्षेप गर्ने धम्की दिएका छन्
काठमाडौँ — ओमानका विदेशमन्त्री बद्र अल बुसैदीले अमेरिका र ईरानबीच बिहीबार आगामी चरणको वार्ता हुने बताएका छन् ।
'अमेरिका–इरान वार्ता अब बिहीबार जेनेभामा तय भएको पुष्टि गर्न पाउँदा खुसी लागेको छ । सम्झौतालाई अन्तिम रूप दिनेतर्फ थप प्रयास हुनेछ,' अल्बुसैदीले आइतबार सामाजिक सञ्जालमा लेखेका छन् ।
अमेरिकाले मध्यपूर्वमा सेनाको उपस्थिती बढाइरहेका बेला यो घोषणा आएको हो । ओमानको घोषणा हुनुभन्दा केही घण्टाअघि, इरानका विदेशमन्त्री अब्बास अराघचीले तेहरान आफ्नो आणविक कार्यक्रमलाई शान्ति प्रयोजनमा सिमित गर्ने सुनिश्चित गर्न तयार रहेको बताएका थिए ।
उनले तनाव कम गर्न पूर्ण अनुगमन संयन्त्र स्थापना गर्न सकिने बताएका थिए । त्यसबापत ईरानलाई अन्तर्राष्ट्रिय बजारमा सहज पहुँच दिइनुपर्ने माग अघि सारिएको उनले बताए ।
‘समृद्धि हाम्रो वार्ताको एक संवेदनशील भाग हो । अमेरिकी टोलीलाई हाम्रो अडान थाहा छ, र हामीलाई उनीहरूको अडान थाहा छ । हामीले पहिले नै हाम्रा चिन्ताहरू आदानप्रदान गरिसकेका छौं, र मलाई लाग्छ समाधान प्राप्त गर्न सकिन्छ,’ मन्त्री अराग्चीले भने ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १० दिनभित्र ईरानसँगको वार्ता नटुंगिए सैन्य हस्तक्षेप गर्ने धम्की दिएका छन् । मध्यपूर्वमा अमेरिका अब्राहम लिंकन युद्धपोतसहित ठूलो संख्यामा विमान तैनाथ गरेको छ । त्यस्तै, विश्वकै ठूलो युद्धपोत युएसएस जेराल्ड फोर्ड मध्यपूर्व नजिक आइरहेको छ ।
