भारतीयका लागि बङ्गलादेशको पर्यटक भिसा पुनः सुरु

औपचारिक रूपमा निलम्बन घोषणा नगरिए पनि सीमित गरिएको सेवा अब सोमबारदेखि व्यापक रूपमा पुनः सुरु गरिने

फाल्गुन १०, २०८२

रासस

Bangladesh resumes tourist visas for Indians

काठमाडौँ — बङ्गलादेशले भारतमा रहेका आफ्ना कूटनीतिक नियोगहरूबाट भारतीय नागरिकका लागि पर्यटक भिसा सेवा सोमबारदेखि पूर्ण रूपमा पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

बङ्गलादेशको विदेश मन्त्रालयका एक अधिकारीले आइतबार यसबारे जानकारी दिएका हुन् । यसअघि सुरक्षा कारण देखाउँदै बङ्गलादेश सरकारले भारतस्थित आफ्ना कूटनीतिक मिसनहरूबाट पर्यटक भिसा सेवा अस्थायी रूपमा निलम्बन गरेको थियो । 

तर फेब्रुअरी १२ मा सम्पन्न राष्ट्रिय निर्वाचनपछि समग्र अवस्थामा सुधार आएको निष्कर्षसहित अब सेवा नियमित रूपमा विस्तार गरिने अधिकारीले बताए । 

उनका अनुसार नयाँदिल्लीस्थित बङ्गलादेश उच्च आयोग तथा गुवाहाटी, अगरतला, मुम्बई र कोलकाताजस्ता सहरहरूमा रहेका बङ्गलादेशी नियोगहरूले पर्यटक भिसाबाहेक अन्य अधिकांश भिसा सेवा जारी राखेका थिए । “पर्यटक भिसा सामान्यतया रोकिएको थियो, यद्यपि अत्यावश्यक अवस्थामा जारी गरिएको थियो”, उनले भने । 

औपचारिक रूपमा निलम्बन घोषणा नगरिए पनि सेवा सीमित गरिएको र अब सोमबारदेखि व्यापक रूपमा पुनः सुरु गरिने उनले स्पष्ट पारे । निर्वाचनको पूर्वसन्ध्यामा, जनवरी १५ देखि फेब्रुअरी १५ सम्म भारतस्थित सबै बङ्गलादेशी नियोगलाई पर्यटक भिसा सेवा निलम्बन गर्न निर्देशन दिइएको थियो । 

सो अवधिमा अत्यावश्यक श्रेणीका भिसा मात्र जारी गरिएका थिए । भारतबाहेक सुरक्षा कारण देखाउँदै नेपाल र भुटानजस्ता देशहरूका लागि पनि सेवा अस्थायी रूपमा बन्द गरिएको थियो । समीक्षा पश्चात् अब सबै प्रकारका भिसा सेवा पुनः पूर्ण रूपमा सञ्चालनमा ल्याइएको अधिकारीले जानकारी दिए । 

रासस

Link copied successfully