बाघको मृत्युपछि टाइगर चियाङ माई पार्क केही समयका लागि बन्द गरिएको छ ।
काठमाडौँ — थाइल्याण्डको उत्तरमा रहेको एक निजी पशु पार्कमा घातक भाइरस र ब्याक्टेरियाको संक्रमणले कम्तीमा ७२ वटा बाघको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
चियाङ माईस्थित प्रान्तीय पशुधन कार्यालयले शुक्रबार एक विज्ञप्तिमा जारी गर्दै ती बाघहरूमा क्यानाइन डिस्टेम्पर देखिएको जनाएको छ ।
चेकजाँचका क्रममा स्वास्थ्यकर्मीहरुले ती बाघमा माइकोप्लास्मा ब्याक्टेरिया पनि भेटाएका छन् ।
बाघको मृत्युपछि टाइगर चियाङ माई पार्क केही समयका लागि बन्द गरिएको छ । यो त्यस्तो पार्क हो, जहाँ मानिसहरूले बाघलाई नजिकबाट नियाल्न र तस्बिर खिच्नसक्छन् । त्यहीकारण यहाँ पर्यटकको ठूलो भीड लाग्ने गरेको थियो ।
'जब बाघ बिरामी पर्छन्, बिरालो वा कुकुर जस्ता जनावरहरूको तुलनामा पत्ता लगाउन गाह्रो हुन्छ । जब हामीले उनीहरू बिरामी भएको महसुस गर्यौं, धेरै ढिलो भइसकेको थियो,' राष्ट्रिय पशुधन विभागका निर्देशक सोमचुआन रतनामुंगक्लानोनले स्थानीय मिडियालाई भने ।
'यी बाघहरू जसरी बाँचेका थिए - दुःख, कैद र डरमा मरे,' पशु अधिकार संगठन पेटा एसियाले एएफपीलाई भनेका छन् ।
'यदि पर्यटकहरू टाढा बसे भने, यी ठाउँहरू चाँडै नाफामुखी हुने थिएनन्, र यस्ता त्रासदीहरू हुने सम्भावना धेरै कम हुनेछ,' समूहले थप्यो ।
