एन्ड्रयुमाथि यौन अपराधी जेफरी एपस्टीनसँग सम्बन्ध राखेको आरोप छ ।
काठमाडौँ — बेलायतका पूर्वराजकुमार एन्ड्रयु माउन्टबेटन-विन्डसर सार्वजनिक पदको दुरुपयोग गरेको आरोपमा पक्राउ परेका छन् । एन्ड्रयु माउन्टबेटन बेलायतका राजा चार्ल्सका भाइ तथा पूर्वराजकुमार हुन् ।
थेम्स भ्याली प्रहरीले यौन अपराधी जेफरी एपस्टीनसँग गोप्य सूचना साझा गरेको आरोपमा पूर्वराजकुमारविरुद्धको उजुरीमाथि अनुसन्धानमा गरिरहेको अवस्थामा पक्राउ गरेको हो । एन्ड्रयुले भने आफूले कुनै पनि गलत कार्य नगरेको बताउँदै आएका छन् ।
उनको राजकुमार उपाधि गत वर्ष गुमेको थियो । उपाधिको अन्त्यसँगै उनले रोयल लज, प्यालेस अफ विन्डसर पनि छोड्नुपरेको थियो । उनलाई प्रहरीले कहाँबाट पक्राउ गर्यो भन्ने खुलेको छैन तर आज बिहान नोरफोकको स्यान्ड्रिङ्घममा केही नौला सवारी साधनहरू देखिएका थिए । विन्डसरस्थित आफ्नो घर छोडेपछि उनी स्यान्ड्रिङ्घममा बस्दै आएका थिए ।
पूर्व राजकुमार पक्राउ परेको यो पहिलो पटक हो । उनीमाथि दोषी यौन अपराधी जेफरी एपस्टीनसँग सम्बन्ध राखेको आरोप छ । बिबिसीको रिपोर्टका अनुसार उनलाई सार्वजनिक पदको दुरुपयोग गरेको आरोपमा पक्राउ गरिएको हो ।
