१९५४ देखि १९६८ सम्म अमेरिकामा रंगभेदविरुद्ध अश्वेतहरुले जनाधिकार अभियान चलाएका थिए । यसले अफ्रिकी अमेरिकीमाथि शताब्दीऔंदेखि भइरहेको विभेदको अन्त्य गर्न माग गरेको थियो । यसक्रममा शान्तिपूर्ण प्रदर्शन र बहिस्कार कार्यक्रम भएको थियो ।
What you should know
काठमाडौँ — अमेरिकामा १९६० को दशकमा जनाधिकार अभियान चलाउन महत्वपूर्ण भूमिका खेलेका नेता जेस्सी ज्याक्सनको मंगलबार निधन भएको छ ।
८४ वर्षको उमेरमा उनको निधन भएको परिवारले जनाएको छ । उनले दुईपटक राष्ट्रपति पदमा उम्मेदवारी पनि दिएका थिए ।
‘हाम्रा पिता एक जनसेवक हुन् । हाम्रो परिवारमात्रै होइन दमित, आवाजहित र विश्वभर नजरअन्दाज गरिएकाहरुका नेता हुन्,’ ज्याक्सन परिवारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनको निधनको कारण खुलेको छैन । ज्याक्सन परिवारले मृत्युअघि उनी प्रियजनसँगै रहेको र शान्तिपूर्वक मृत्युवरण गरेको उल्लेख गरेका छन् ।
झन्डै एक दशकदेखि प्रोग्रेसिभ सुप्रान्युक्लिर पाल्सी (पीएसपी)बाट ग्रस्त ज्याक्सनलाई गत नोभेम्बर अस्पताल भर्ना गरिएको थियो ।
सन् २०१७ मा उनले आफुलाई पाकिन्सन भएको खुलासा गरेका थिए । उनलाई त्यसपछि सिकागोस्थित अस्पतालमा दुई वर्ष उपचार गरिएको थियो ।
दक्षिण क्यारोलिनाको ग्रिनभिलमा उनको जन्म भएको थियो । जनाधिकारविरुद्धको आन्दोलनमा उनी मार्टिन लुथर किङ्गसँगै सहभागी भए । उनले सन् १९८४ र १९८८ मा दुईपटक डेमोक्रेटिक पार्टीको प्राइमरी इलेक्सनमा राष्ट्रपतिका लागि उम्मेदवारी दिए । तर सफल भएनन् । १९८४ मा प्राइमरीमा १८ प्रतिशत हाराहारी मत ल्याएका थिए ।
के थियो जनाधिकार आन्दोलन ?
अब्राहम लिंकनको घोषणाले १८६५ मै दासप्रथा अन्त्य भएपनि अमेरिकी समाजमा रंगभेद कायम थियो ।
विशेषगरी, दक्षिणी राज्यहरुमा स्वेत र अश्वेतका लागि बेग्ला–बेग्लै बस्ती, धारा, विद्यालय, सार्वजनिक बसको व्यवस्था गरिएको थियो । श्वेतहरुका लागि पर्याप्त स्रोत साधनको व्यवस्था भएपनि अश्वेतहरुको बस्तीमा आधारभूत कुराहरुको पनि अभाव थियो ।
दक्षिणतर्फका राज्यहरुले अश्वेतहरुलाई मतदान प्रक्रियामा निरुत्साहित गर्नका लागि मत खसाल्नुअघि साक्षरता परीक्षण, मतदान शुल्कलगायत झन्झटिला प्रावधान राखेका थिए ।
१९५४ देखि १९६८ सम्म अमेरिकामा रंगभेदविरुद्ध अश्वेतहरुले जनाधिकार अभियान चलाएका थिए । यसले अफ्रिकी अमेरिकीमाथि शताब्दीऔंदेखि भइरहेको विभेदको अन्त्य गर्न माग गरेको थियो । यसक्रममा शान्तिपूर्ण प्रदर्शन र बहिस्कार कार्यक्रम भएको थियो ।
मार्टिन लुथर किङले यस आन्दोलनलाई नेतृत्व गरेका थिए । सन् १९६४ मा यस आन्दोलनको सफलतापछि राष्ट्रपति लाइनडन जोनसनले जनाधिकार विधेयक १९६४ मा हस्ताक्षर गरेका थिए ।
यस विधेयकले छालाको वर्ण, रंग, धर्म, लिंग वा सम्प्रदायका आधारमा सकैलाई पनि विभेद गर्न नपाउने यसमा उल्लेख छ । यसले सार्वजनिक विद्यालय, बसलगायत क्षेत्र अलग–अलग हुने व्यवस्था हटायो । त्यस्तै, रोजगारीमा विभेद अन्त्य गर्ने, निर्बाध मताधिकार सुनिश्चित गर्नेलगायत काम गरेको थियो ।
