तरिक बने बंगलादेशको प्रधानमन्त्री

बीएनपी संसदीय दलले आजै बिहान उनलाई सर्वसम्मत नेता चयन गरेको थियो । गत बिहीबार सम्पन्न निर्वाचनमा बीएनपीले दुई–तिहाईभन्दा धेरै मत ल्याएको थियो ।

फाल्गुन ५, २०८२

कान्तिपुर संवाददाता

Tariq becomes Prime Minister of Bangladesh

What you should know

काठमाडौँ — बंगलादेश राष्ट्रिय पार्टी (बीएनपी) अध्यक्ष तरिक रहमान बंगलादेशको प्रधानमन्त्री बनेका छन् ।

ढाकास्थित संसद् भवनको दक्षिण प्लाजमा उनलाई राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले पद तथा गोपनियताको सपथ ग्रहण गराए ।

बीएनपी संसदीय दलले आजै बिहान उनलाई सर्वसम्मत नेता चयन गरेको थियो । गत बिहीबार सम्पन्न निर्वाचनमा बीएनपीले दुई–तिहाईभन्दा धेरै मत ल्याएको थियो ।  

६० वर्षीय तरिक पूर्व राष्ट्रपति जिउर रहमान तथा बंगलादेशकी प्रथम महिला प्रधानमन्त्री बेगम खालिदा जियाका छोरा हुन् । 

सन् २०२४ अगस्टमा तत्कालीन प्रधानमन्त्री शेख हसिना अपदस्थ भएकी थिइन् । ८ अगस्टमा अन्तरिम सरकारको प्रमुख सल्लाहकारमा नियुक्त भएका नोबेल शान्ति पुरस्कार विजेता मोहमद्द युनुसले गत बिहीबार निर्वाचन गराएका हुन् ।

उक्त निर्वाचनमा ३ सय प्रत्यक्ष सिटमध्ये २ सय ९९ सिटमा मतदान भएको थियो । जसमध्ये २ सय ९७ सिटको मतगणना हुँदा बीएनपीले २ सय ९ सिट जित्यो । एक सिटमा उम्मेदवारको निधनले निर्वाचन नै सरेको थियो । त्यस्तै, दुई सिटमा अदालतले मतगणना रोक्न आदेश दिएको थियो ।

कान्तिपुर

Link copied successfully