ओपनसोर्स फ्लाइट डाटाले मध्यपूर्व क्षेत्रमा २५० भन्दा बढी अमेरिकी सैनिक कार्गो उडेको देखाउँछ । यी विमानमा बन्दोबस्तीका सामानहरु राखिएको अनुमान लगाइएको छ ।
What you should know
काठमाडौँ — अमेरिकाले जेनेभामा हुने ईरानसँगको अप्रत्यक्ष वार्ताअघि मध्यपूर्वमा आफ्नो हवाई र जलसेनाको शक्ति तीव्र रूपमा बढाएको छ । ईरानसँग वार्ता र सैन्य हस्तक्षेप दुबैको विकल्प खुला राखिएको अमेरिकाले बताउँदै आएको छ ।
मंगलबार बेलायतस्थित अमेरिकी वायुसेनाको अखडाबाट केही लडाकु विमानहरूलाई मध्यपूर्व नजिक लगेर राखिएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ । सेनालाई तयारी अवस्थामा राख्ने लक्ष्यले इन्धन भर्ने ट्यांकर पनि लगिएको छ ।
अमेरिकी अधिकारीहरूका अनुसार यस क्षेत्रमा थप हवाई रक्षा प्रणाली पठाइँदै छ । फ्लाइट ट्रयाकिङ डाटाअनुसार दर्जनौं अमेरिकी कार्गो विमानहरू विगत केही सातामा अमेरिका हुँदै जोर्डन, बहराइन र साउदी अरबसम्म उडेका थिए । ओपनसोर्स फ्लाइट डाटाले यस क्षेत्रमा २५० भन्दा बढी अमेरिकी सैनिक कार्गो उडेको देखाउँछ । यी विमानमा बन्दोबस्तीका सामानहरु राखिएको अनुमान लगाइएको छ ।
शुक्रबार साँझ धेरैवटा लडाकु विमानले जोर्डनको हवाई क्षेत्रमा प्रवेश गर्न कूटनीतिक अनुमति लिएका थिए । स्याटेलाइट तस्बिरहरूले जनवरी २५ देखि जोर्डनको मुवाफक साल्टी हवाई अखडामा १२ वटा अमेरिकी एफ–१५ लडाकु विमान तैनाथ भएको देखाउँछ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले केही हप्तादेखि इरानविरुद्ध सैन्य कारबाहीको सम्भावना कायमै रहेको धम्की दिँदै आएका छन् । शुक्रबार ईरानमा सत्ता परिवर्तन हुँदैछ भनेर सोधिएको प्रश्नको जवाफमा उनले भनेका थिए, ‘यस्तो भए त उत्तम हुन्थ्यों ।’
अमेरिकाले वार्तालाई पनि निरन्तरता दिएको छ गत साता ओमानमा पहिलो चरणको वार्ता भएको थियो । आज ओमानकै मध्यस्थतामा स्विचरल्यान्डको जेनेभामा दोस्रो चरणको वार्ता हुँदैछ । वार्तामा अमेरिकाबाट राष्ट्रपति ट्रम्पका दूत स्टिभ विटकफ र उनका ज्वाइँ जारेड कुशनर रहने अपेक्षा गरिएको छ । इरानको टोलीको नेतृत्व विदेशमन्त्री अब्बास अराग्चीले गरेका छन् ।
ईरानमा २८ डिसेम्बरदेखि जारी आन्दोलन केही दिन मत्थर भएजस्तो देखिन्थ्यों । तर, आइतबार फेरि तेहरानमा सरकारविरोधी नारा लागेको छ ।
जनवरीको अन्त्यमा विदेशमन्त्री मार्को रुबियोले संसद्मा सुनुवाईका क्रममा भनेका थिए, ‘ईरानमा शासन ढलिहाल्यो भने त्यसपछि कसले नयाँ सरकार बनाउँछ भन्ने स्पष्ट छैन ।’ उनले पछिल्लो सुनुवाईमा पनि यही अभिव्यक्ती दोहोर्याएका छन् ।
सीएनएनले दुई अमेरिकी अधिकारीहरुसँग यस विषयमा कुराकानी गरेको छ । स्रोतका अनुसार, सत्ता ढलेमा इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सले छोटो समयका लागि भएपनि शासन सम्हाल्नसक्छ ।
अमेरिकाले मध्यपूर्वमा अब्राहम लिंकन युद्धपोत तैनाथ गरेको छ । गत शुक्रबार ट्रम्पले विश्वकै ठूलो युद्धपोत युएसएस जेराल्ड फोर्डलाई पनि क्यारेबियन सागरबाट मध्यपूर्व जान आदेश दिइसकेका छन् । तीन साताभित्र यो जहाज मध्यपूर्व पुग्नसक्ने आँकलन गरिएको छ । वार्ता विफल भएमा सैन्य हस्तक्षेप गर्नुपर्ने परिस्थिति बुझेर अमेरिकाले यहाँ सैन्य उपस्थिती दरिलो बनाएको हो ।
