किसान कार्डदेखि रोजगारी सिर्जनासम्म, यस्ता छन् बंगलादेशका प्रधानमन्त्रीका योजना

बंगलादेशको हितलाई केन्द्रमा राखेर विदेश नीति तय गरिने पनि उनले बताएका छन् । शेख हसिना सरकार अपदस्थ भएपछि छिमेकी भारतसँग बंगलादेशको सम्बन्ध केही बिग्रएको छ । त्यसलाई सुधार्नुपर्ने चुनौती उनीसामु छ ।

फाल्गुन ५, २०८२

कान्तिपुर संवाददाता

From Kisan Card to Job Creation, These Are the Plans of the Prime Minister of Bangladesh

What you should know

काठमाडौँ — बंगलादेश राष्ट्रिय पार्टी (बीएनपी) अध्यक्ष तरिक रहमान बंगलादेशको प्रधानमन्त्री बनेका छन् । ढाकास्थित संसद् भवनको दक्षिण प्लाजामा उनलाई राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले पद तथा गोपनियताको सपथ ग्रहण गराए ।

 तरिकसँगै उनको मन्त्रपरिषद्का २५ मन्त्री र २४ राज्यमन्त्रीलाई पनि राष्ट्रपति शाहाबुद्दिनले मंगलबार सपथ गराएका छन् । 

उनीसामु बंगलादेशको अर्थतन्त्रलाई सुदृढ बनाउनुपर्ने, रोजगारी सिर्जना गर्नुपर्ने, हसिना कार्यकालमा दलीकरण गरिएका लोकतान्त्रिक संस्थानहरुलाई स्वतन्त्र बनाउनुपर्ने, सुरक्षाको प्रत्याभूति गराउनुपर्ने, विदेशीसँग सम्बन्ध सुधार गर्नुपर्नेलगायत चुनौती छन् । 

चुनावी अभियानका क्रममा उनले किसानहरुलाई अनुदानमा मल, बिऊ, विषादी, कृषि उपकरण, सहुलियत उर्जा, उत्पादनको बजारीकरणलगायतको व्यवस्था मिलाउने बताएका थिए । यसका लागि उनले किसान कार्डको अवधारणा अघि सारेका छन् । त्यस्तै, परिवारलाई खाद्यान्नमा सहुलियत दिनका लागि ‘फेमिली कार्ड’ अवधारणा अघि सारेका छन् ।

साना–मझौला उद्योगलाई सहयोग गर्ने, सुचना–प्रविधि क्षेत्रमा  ८ लाख रोजगारी सिर्जना गर्ने,  अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली विकास गर्ने,  सीमान्तकृत समुदायका लागि रोजगारी, विदेश जान चाहने श्रमिकका लागि तालिम र कर्जा, तथा शैक्षिक संस्थामा ‘स्किल डेभलपमेन्ट एन्ड क्यारियर सेन्टर’ स्थापना गर्ने उनका घोषणा छन् । 

बंगलादेशको हितलाई केन्द्रमा राखेर विदेश नीति तय गरिने पनि उनले बताएका छन् । शेख हसिना सरकार अपदस्थ भएपछि छिमेकी भारतसँग बंगलादेशको सम्बन्ध केही बिग्रएको छ । त्यसलाई सुधार्नुपर्ने जिम्मेवारी पनि उनीसँग छ । 

को हुन् रहमान ?

 ६० वर्षीय तरिक पूर्व राष्ट्रपति जिउर रहमान तथा बंगलादेशकी प्रथम महिला प्रधानमन्त्री बेगम खालिदा जियाका छोरा हुन् ।

शेख हसिना सरकारका पालामा तरिकलाई ढाकास्थित अन्तर्राष्ट्रिय ट्रिब्युनल अदालत (आईसिटी) ले ग्रिनेड हमला प्रकरणमा दोषी ठहर गर्दै आजीवन काराबास सजाय सुनाएको थियो ।

सन् २००४ मा हसिनाको आमसभालाई लक्षित गरेर भएको उक्त आक्रमणमा २४ जनाको मृत्यु भएको थियो भने शेख हसिनासहित ३ सयजनाभन्दा धेरै घाइते भएका थिए । तर सन् २००८ देखि नै लण्डनमा रहेकाले तरिकले उक्त सजाय काट्नुपरेन ।

उनले आफुमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै घटनामा संलग्नता अस्विकार गर्दै आएका थिए । जुलाई-अगस्ट २०२४ को विद्यार्थी आन्दोलनले शेख हसिनालाई अपदस्थ गरेपछि सर्वोच्च अदालतले जनवरी २०२५ मा यस मुद्दामा तरिक र बेगम खालिदा जियासहितका नेताहरू निर्दोष रहेको ठहर गरेको थियो ।

निर्वाचन घोषणा भएपछि गत डिसेम्बरमा तरिक १७ वर्षपछि स्वदेश फर्किएका थिए । लगत्तै जियाको निधन भयो । त्यसपछि उनी पार्टी अध्यक्ष बने । निर्वाचनमा उनलाई भावी प्रधानमन्त्रीका रूपमा प्रचार गरिएको थियो । 

उक्त निर्वाचनमा ३ सय प्रत्यक्ष सिटमध्ये २ सय ९९ सिटमा मतदान भएको थियो । जसमध्ये २ सय ९७ सिटको मतगणना हुँदा बीएनपीले २ सय ९ सिट जित्यो । सहयोगी दलहरू समेत जोड्दा बीएनपी गठबन्धनको सिट संख्या २ सय १२ छ । एक सिटमा उम्मेदवारको निधनले निर्वाचन नै सरेको थियो ।

त्यस्तै, दुई सिटमा अदालतले मतगणना रोक्न आदेश दिएको थियो । बंगलादेशको ३ सय ५० सदस्यीय संसद्मा ५० सिट महिलाका लाग आरक्षित छ । पूर्ण मतपरिणाम आइसकेपछि दलहरुले प्राप्त गर्ने मतभारका आधारमा यहाँ महिलाको समानुपातिक प्रतिनिधित्व हुनेछ । 

तरिकको सपथ समारोहमा माल्दिभ्सका राष्ट्रपति मोहम्मद्द मुइज्जु,भूटानका प्रधानमन्त्री छिरिङ टोग्बे, रतबाट लोकसभाका सभामुख ओम बिर्लो, नेपालबाट परराष्ट्रमन्त्री बालानन्द शर्मा. पाकिस्तानबाट योजना तथा विकास मन्त्री असन इक्वा, बेलायतबाट  सहायक मन्त्री सीमा मल्होत्रालगायत विदेशी अतिथीहरु सहभागी थिए । 

शेख हसिना अपदस्थ भएसँगै चुनाव सरकारको नेतृत्व गरेका नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसले १२ फेब्रुअरीमा संसदीय निर्वाचन तथा जनमतसंग्रह गराएका हुन् ।

जनमतसंग्रहले संवैधानिक सुधारका पक्षमा फैसला सुनाएको छ । गत साता सम्पन्न निर्वाचनमा जनमतसंग्रहमा ६० प्रतिशतभन्दा धेरै तथा संसदीय चुनावमा ५९ दशमलव ४४ प्रतिशत मत खसेको थियो । शेख हसिना नेतृत्वको अवामी लिगलाई भने यस निर्वाचनमा सहभागी हुनबाट बन्चित गरिएको थियो ।

कान्तिपुर

Link copied successfully