मध्यपूर्वका कतार, टर्की र इजिप्टले वार्तामा छलफल गरिने प्रमुख विषयहरुको एउटा खाका प्रस्तुत गरेका छन्।
What you should know
काठमाडौँ — युद्धउन्मुख इरान र संयुक्त राज्य अमेरिकाबीचको आणविक वार्ता यसै हप्ता ओमानमा हुने भएको छ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले इरान र अमेरिकाबीचको आणविक वार्ता शुक्रबार ओमानमा हुने पुष्टि गरेको अलजजिराले जनाएको छ।
अराघचीले बुधबार राति सामाजिक सञ्जालमार्फत वार्ता शुक्रबार ओमानको राजधानी मस्कटमा हुने जानकारी दिएका हुन्।
‘सबै आवश्यक व्यवस्था मिलाइदिएकोमा हाम्रा ओमानी दाजुभाइप्रति म आभारी छु,’ उनले लेखेका छन्। यसअघि वार्ता स्थान र वार्ताको ढाँचाबारे कुरा नमिल्दा बैठक अनिश्चित बनेको खबर आएका थिए।
वार्ता सुरुमा टर्कीमा हुने भनिएको थियो। तर, अब अमेरिका इरानसँग ओमानमा उच्चस्तरीय वार्तामा सहभागी हुन तयार भएको हो।
यसअघि पनि ओमानमै आणविक सम्झौताबारे दुई देशका अधिकारीबीच छलफल भएको थियो। तर, इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि त्यो बिथोलिएको थियो।
मध्यपूर्वका कतार, टर्की र इजिप्टले वार्तामा छलफल गरिने प्रमुख विषयहरुको एउटा खाका प्रस्तुत गरेका छन्। तीमध्ये इरानले युरेनियम संवर्धनलाई उल्लेखनीय रूपमा सीमित गर्ने प्रतिबद्धता पनि समावेश छ।
त्यस्तै ब्यालिस्टिक मिसाइलको प्रयोगमा प्रतिबन्ध र क्षेत्रीय रूपमा इरानका सहयोगी समूहहरूलाई हतियार आपूर्ति सीमित गर्ने विषय पनि समावेश गरिएको छ।
इरान आणविक हतियार बनाउने कामबाट पछाडि हट्नुपर्ने अडान अमेरिकाले लामो समयदेखि राख्दै आएको छ। पछिल्लो समय इरानमा भएको सरकार विरोधी आन्दोलनलाई दबाएको भन्दै अमेरिकाले इरान नजिकैको समुन्द्रमा युद्धका लागि आवश्यक हतियार बोक्ने यरक्राफ्ट क्यारियर लिएर राखेको छ।
यसले दुई देशबीच युद्धको खतरा रहेको भन्दै विश्वभरबाट चिन्ता व्यक्त गरिएको छ। अमेरिका र इरानबीच सन् १९८० यता औपचारिक कूटनीतिक सम्बन्ध छैन।
