अमेरिकी न्याय विभागले शुक्रबार सार्वजनिक गरेको पछिल्लो किस्तामा ३० लाख पृष्ठभन्दा धेरै कागजात छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष कागजातहरू जारी गर्न स्विकृति दिएयता सबैभन्दा धेरै फाइल अहिले सार्वजनिक भएका हुन् ।
What you should know
काठमाडौँ — कुख्यात यौन अपराधी जेफ्री एप्स्टिनसँग सम्बन्धित दस्तावेजहरु सार्वजनिक भएसँगै विश्वभर खैलाबैला मच्चिएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, नर्वेकी युवराज्ञी मेट्टे–मारिट, बेलायतका राजनीतिज्ञ पिटर मन्डेलसन, स्लोभाकियाका राष्ट्रिय सुरक्षा सल्लाहकार मिरोस्लाभ लाज्काक, अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री केभिड रुड, भारतीय व्यवसायी अनिल अम्बानीदेखि नेपालका मुस्ताङ्गी राजासम्मको प्रसङ्ग यस फाइलमा उल्लेख छ ।
अमेरिकी न्याय विभागले शुक्रबार सार्वजनिक गरेको पछिल्लो किस्तामा ३० लाख पृष्ठभन्दा धेरै कागजात छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष कागजातहरू जारी गर्न स्विकृति दिएयता सबैभन्दा धेरै फाइल अहिले सार्वजनिक भएका हुन् ।
सार्वजनिक कागजातहरुमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प , बेलायतका राजकुमार एन्ड्रयु माउन्टबेट्टन, खर्बपति बिल गेट्स र एलोन मस्क, पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टनलगायतको नाम समावेश छ । यस फाइलमा समावेश भएका व्यक्ति अपराधमा मुछिएका होइनन् । तर, कुख्यात अपराधी एप्स्टिनको सञ्जाल र सम्पर्क कहाँसम्म फैलिएको छ भन्ने यस फाइलले देखाएको छ । यस फाइलमा उल्लेख भएका कतिपय व्यक्तिहरूले आफुसँग कुनै सम्बन्ध नभएपनि एप्स्टिनले नाम उल्लेख गरेको प्रतिक्रिा दिएका छन् ।
नरेन्द्र मोदी, प्रधानमन्त्री, भारत
शुक्रबार सार्वजनिक गरिएका कागजातहरूले प्रधानमन्त्री नरेन्द्र मोदीनिकट रिलायन्स समूहका अर्बपति अध्यक्ष अनिल अम्बानी र एप्स्टिनबीचको कुराकानी उजागर गरेका छन् । सन् २००८ मा एप्स्टिन पहिलोपटक यौन अभियोगमा दोषी ठहर भएका थिए । दोषी ठहर भइसकेपछि यही वर्ष उनले अम्बानीसँग इमेल आदन–प्रदान गरेको देखिन्छ । यी इमेलमा भारतमा आउने अमेरिकी राजदूतहरूको संख्या निर्धारण गर्नेदेखि मोदीका लागि शीर्ष अमेरिकी अधिकारीहरूसँग भेटघाटको प्रबन्ध गर्नेसम्मका विषय समावेश थिए । अनिल अम्बानी भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीका भाइ हुन्, जो प्रधानमन्त्री मोदी निकट छन् ।
ट्रम्पले अमेरिकाको राष्ट्रपतिको रूपमा आफ्नो पहिलो कार्यकालको शपथ लिएको दुई महिनापछि मार्च १६, २०१७ मा, अम्बानीले एप्स्टिनलाई एउटा सन्देश पठाएका छन् । जसमा एप्स्टिसँग सहयोग माग्दै लेखिएको छ, ‘ नेतृत्वले ट्रम्पको सर्कलका वरिष्ठ व्यक्तित्वहरुसँग सम्पर्क गर्न खोजिरहेको छ ।’ यस इमेलमा अम्बानीले ‘मे महिनामा’ ट्रम्प–मोदी संभावित भेट प्रबन्ध गर्न सकिने भन्दै एप्स्टिनको राय मागेका थिए । २९ मार्चमा एप्स्टिनले अम्बानीलाई जवाफ लेखेका छन् । यसमा उनले इजरायलको रणनीतिको विषयमा पनि छलफल गर्नुपर्ने बताएका छन् । दुई दिनपछि अम्बानीले एप्स्टिनलाई गरेको इमेलमा मोदी जुलाईमा इजरायलको भ्रमणमा जाने उल्लेख छ ।
२६ जुनमा मोदीले ट्रम्पलाई वाशिंगटनमा भेटेका छन् । त्यसको छोटो समयमै ६ जुलाई २०१७ मा मोदी इजरायल भ्रमणमा गए । उनी इजरायल भ्रमण गर्ने पहिलो भारतीय प्रधानमन्त्री हुन् ।
त्यस वर्ष नयाँ दिल्ली इजरायली हतियारको सबैभन्दा ठूलो खरिदकर्ता बन्यो । उसले ७१ करोड ५० लाख अमेरिकी डलर बराबरका हतियार किनेको थियो । प्यालेस्टाइनको गाजामा इजरायलले नरसंहार मच्चाइरहेको भएपनि मोदी प्रशासन इजरायलप्रति नरम छ । जसलाई प्यालेस्टाइनले निन्दा गर्दै आएको छ । दुई देशबीचको रक्षा साझेदारी अहिलेसम्म नै जारी छ ।
अम्बानी रिलायन्स डिफेन्स लिमिटेडले पनि गत वर्ष इजरायली राज्य रक्षा समूहसँग एक दशकमा १० अर्ब डलरको सम्झौतामा संयुक्त उद्यममा प्रवेश गरेको थियो ।
सार्वजनिक अर्को कागजातमा २०१९ मा एप्स्टिनले मोदी र ह्वाइट हाउसका रणनीतिकार स्टिभ बाननबीच भेटघाटको प्रस्ताव गरेका छन् । मोदी भारी बहुमतले चुनाव जितेको केही घण्टाभित्रै अम्बानीमार्फत मोदीलाई एप्स्टिनले यस्तो प्रस्ताव पठाएका थिए ।
१९ मे २०१९ मा एप्स्टिनले यस विषयमा बाननलाई पनि इमेल गरेका छन् । त्यहाँ अम्बानीको नाम उल्लेख गर्दै एप्स्टिनले लेखेका छन्, ‘मोदीले बिहीबार मलाई भेट्न कसैलाई पठाउँदै हुनुहुन्छ ।’ २३ मेइमा अम्बानी भेट भएको पनि एप्स्टिनले बाननलाई लेखेको पत्रमा उल्लेख छ । उनीहरुबीच बानन र मोदीको भेट गराउने विषयमा छलफल भएको एप्स्टिनको इमेलमा उल्लेख छ । अम्बानीलाई उद्रृत गर्दै एप्स्टिनले भारतको मुख्य शत्रु चीन र पाकिस्तान रहेको र चीन सम्बन्धी समस्याबारे मोदीले बाननसँग वार्ता गर्न चाहेको उल्लेख गरेका छन् । तर, अम्बानीलाई यस्तो विषयमा वार्ता गर्ने अधिकार भारत सरकारले दिएको थियो. वा थिएन भन्ने विषय स्पष्ट छैन । यस विषयलाई लिएर अहिले भारतमा प्रमुख विपक्ष कंग्रेस आईसहितका पार्टीहरुले मोदीको ठूलो आलोचना गरेका छन् । उनीहरुले विशेषगरी इजरायलसँग निकट सम्बन्धबारे आफ्नो धारणा सार्वजनिक गर्न माग गरेका छन् । भारत सरकारले यसलाई खण्डन गरेको छ ।
हरदीप सिंह पुरी, भारतीय राजनीतिज्ञ
एपस्टाइन फाइलहरूमा भारतीय जनता पार्टीका नेता तथा पूर्व कुटनीतिज्ञ हरदीप सिंह पुरीको नामपनि समावेश छ । जुन २०१४ मा पुरी एप्स्टिनबीच कुराकानी सुरु भएको थियो । एप्स्टिनले लिंक्डइनका सह–संस्थापक रीड हफम्यानको भारत भ्रमण प्रबन्ध गर्नेबारे पुरीलाई ईमेल लेखेका छन् । जवाफमा पुरीले एप्स्टिनमार्फत हफम्यानलाई भारतमा लगानीका अवसरहरूबारे विस्तृत प्रस्ताव राखेका छन् । सार्वजनिक कागजातहरुले एप्स्टिनसँग न्युयोर्कको म्यानहट्टनमा कम्तिमा तीनपटक पुरीको भेटघाट भएको देखाएको छ । नवनिर्वाचित मोदी सरकारका तर्फबाट उनले भारतमा आर्थिक योजनाहरू प्रस्तुत गर्दै हफम्यानलाई भ्रमणमा ल्याउन प्रयास गरेका थिए । पुरीले आफ्नो भेट अन्तक्रिया र लगानीका विषयमा केन्द्रीत रहेको बताएका छन् ।
केभिन रुड, पूर्व अष्ट्रेलियाली प्रधानमन्त्री
२००७ देखि २०१० फेरि २०१३ मा केही महिना देशको प्रधानमन्त्रीको रूपमा काम गरेका अष्ट्रेलियाली राजनीतिज्ञ केभिन रुडको नाम पनि एप्स्टिन फाइलमा उल्लेख छ । उनले जेम्स रुडसँग जुन २०१४ मा न्युयोर्कमा बैठक गरेको तथ्य नयाँ फाइलहरुले उजागर गरेको छ । तर, हाल अमेरिकाका लागि अष्ट्रेलियाली राजदूतको रूपमा सेवा गरिरहेका रुडले आफू एप्स्टिनसँग भेट्न नगएको दाबी गरेका छन् । उनले एप्स्टिनसँग कुनै मित्रता नरहेको बताए ।
पिटर मन्डेलसन, बेलायती राजनीतिज्ञ
बेलायतका पूर्वमन्त्री तथा हाउस अफ लर्डस्का सदस्य पिटर म्यान्डेलसनको नाम पहिले सार्वजनिक गरिएका एप्स्टिनसँग सम्बन्धित फाइलहरुमा पनि देखिएको थियो । अमेरिकाका लागि बेलायती राजदूतबाट उनी गत वर्ष बर्खास्त हुनुको कारण यही थियो । एप्स्टिनसँगको सम्बन्धलाई पछिल्ला कागजातहरुले थप पुष्टि गरेपछि उनले लेबर पार्टीको सदस्यता त्याग गरेको घोषणा गरेका छन् । पछिल्ला कागजातहरुले एप्स्टिनसँग उनको आर्थिक लेनदेन देखाएको छ । सन् २००३ र २००४ मा तीन छुट्टाछुट्टै कारोबारमा म्यान्डेलसनलाई एप्स्टिनले ७५,००० डलर भुक्तानी गरेको उजागर भएको छ । यी कागजातले देखाउँछ ।
बेलायतमा यसअघि नै राजकुमार एन्ड्रयु माउन्टबाट्टनको नाम एप्स्टिन फाइलमा मुछिएको छ । नाबालिग किशोरीहरूमाथि दुर्व्यबहार गरेको आरोप लागेपछि उनले राजकुरमा पदवी नै त्याग गरेका थिए ।
नर्वेकी युवराज्ञी मेट्टे–मारिट
नर्वेकी युवराज्ञी मेट्टे–मारिटको नाम एप्स्टिन फाइलमा झन्डै १ हजार पटक उल्लेख छ । युवराज हाकोनकी पत्नी मारिटसँग एप्स्टिनले धेरैप्टक इमेलमा कुराकानी गरेका छन् । मेट्टे–मारिटले एप्स्टिनको तारिफ गर्दै उनलाई कोमल हृदयका व्यक्ति बनेकी छिन् । त्यस्तै प्रिय भएर सम्बोधन गरेकी छिन् । अस्वस्थ्य महसुस हुँदा एप्स्टिनले फूल पठाएको भन्दै धन्यवाद् दिएकी छिन् । २०१२ मा, मेट्टे–मारिटले एप्स्टिन निकै आकर्षक रहेको बताएकी छिन् ।
युवराज्ञी मारिटका छोरा मारियस बोर्ग होइबी (उनका पूर्व पतिका सन्तान हुन्) पछिल्लो समय बलात्कार, आक्रमण र लागुऔषध अपराधसहित ३८ अपराधको सामना गरिरहेका छन् । यस्तो अवस्थामा एप्स्टिन फाइल विवादले मारिटलाई थप समस्यामा परेको छ ।
मिरोस्लाभ लाज्काक, स्लोभाकियाका राष्ट्रिय सुरक्षा सल्लाहकार
एप्स्टिन फाइलहरूको नयाँ शृंखलाले स्लोभाकियाका राष्ट्रिय सुरक्षा सल्लाहकार मिरोस्लाभ लाज्काकलाई राजीनामा दिन बाध्य पारेको छ । विदेशमन्त्री छँदा लाज्काकले सन् २०१८ मा विभिन्न महिलाका विषयमा एप्स्टिनसँग इमेलमा कुराकानी गरेका थिए । इमेलसँग लाज्काकका विभिन्न तस्बिर पनि सार्वजनिक भएका छन् । आइतबार, स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोले लाज्काकको राजीनामा स्विकृत भएको बताए ।
मुस्ताङ्गी राजा र महाभूकम्पको प्रसङ्ग
सार्वजनिक नयाँ फाइलहरुमा नेपालका मुस्ताङ्गी राजाको प्रसङ्ग पनि उल्लेख छ । ह्यात होटेल चेनका पूर्वअध्यक्ष अमेरिकी अर्बपति थोमस प्रिट्ज्करले एप्स्टिनलाई लेखेको एक इमेलमा मुस्ताङका राजा आफ्नो साथी भएको दाबी गरेका छन्। दस्तावेजमा मुस्ताङका कुन राजा भन्नेबारे भने केही खुलाइएको छैन ।
अर्को एक दस्तावेजमा नेपालमा बनेको तिब्बती गलैँचा झन्डै ५१ हजार अमेरिकी डलरमा किनबेच भएको उल्लेख छ । इमेल कुराकानीमा एप्स्टिन आफैंले र उनका सहकर्मीहरूले नेपाली कार्पेटको प्रसंग बारम्बार उल्लेख गरेको पाइएको छ। न्युयोर्कमा रहेको स्टार्क कार्पेटका तेन्जिङ नेपालीले एप्स्टिनसँग भेटेरै उनलाई कार्पेट बिक्री गर्न खोजेको प्रसंग यी इमेलहरूमा उल्लेख छ । नेपालमा हातले बुनेको कार्पेटलगायतका उत्पादनहरूमा एप्स्टिनको चासो रहेको कैयौं इमेलमा उल्लेख गरिएको प्रसंगबाट बुझ्न सकिन्छ।
त्यसैगरी नेपालमा महाभूकम्प गएपछि चेक गणतन्त्रकी मोडल पेट्रा नेम्कोभाले एप्स्टिनलाई सम्बोधन गरेर पत्र लेखेकी छिन् । उनले इमेलमार्फत नेपालका कलिला बालबालिकाले आफ्नो घर, विद्यालय र आफन्तहरू गुमाएकोले सहयोग गर्न आग्रह गरेकी छिन् । यद्यपी एप्स्टिनले सघाएको कुनै प्रमाण देखिएको छैन । आफ्नो संस्था ह्याप्पी हार्ट्स फन्डबाट नेम्काभाले नुवाकोट, सिन्धुली, सिन्धुपाल्चोक लगायत जिल्लामा विद्यालय मर्मत र अन्य सहयोग गरेकी थिइन् । अल ह्यान्ड्स एन्ड हार्ट्सको रूपमा यो स्वयंसेवी संस्था अझै नेपालमा समाजिक क्षेत्रमा कार्यरत छ।
अर्को, एक इमेलमा सेकेन्ड रेस्पोन्स नामक संस्थाका विलियम स्पेयरले २५ हजार अमेरिकी डलर चन्दाका लागि एप्स्टिनलाई धन्यवाद भन्दै त्यो सहयोग नेपालमा सघाउनका लागि खर्च गरिने बताएका छन् । इजरायली सैन्य न्युजलेटरले एप्स्टिनलाई पठाएको इमेलमा पनि नेपालको प्रसङ्ग उल्लेख छ । यसमा भूकम्पपछि नेपाल पुगेर झन्डै १ हजार ५ सय व्यक्तिको उपचार गरेको उल्लेख गरिएको छ आफ्नो समयमा एप्स्टिनले आईडीएफ भनिने इजरायली डिफेन्स फोर्सलाई नियमित चन्दा दिने गरेको रेकर्डहरूमा भेटिन्छ ।
नेपालको सन्दर्भ राखेर विभिन्न व्यक्तिहरूले पनि एप्स्टिनसँग सहयोग मागेको देखिन्छ। एक व्यक्तिले आफूले नेपालको मेडिकल एसोसियसनलाई १० हजार डलर सघाउने गरेको भन्दै एप्स्टिनसँग जागिर मागेका छन्।
के हो एप्स्टिन फाइल ?
व्यवसायी तथा यौन अपराधी जेफ्री एप्स्टिनसँग सम्बन्धित कानुनी कागजात, हवाइ उडान रेकर्ड, भेटघाटका नोट र शिलबन्दी गरिएका अभिलेखहरूको एउटा संग्रहलाई 'एप्स्टिन फाइल' भनिन्छ । अमेरिकी न्याय विगभाले किस्ता-किस्तामा गरेर यी फाइल सार्वजनिक गरिरहेको छ । यी फाइलहरूको अध्ययनले एप्स्टिनको सम्बन्ध कहाँसम्म फैलिएको थियो र उनले कसरी बालिकाहरूलाई दुर्व्यबहार गरे भन्ने बुझ्न सहयोग गर्छ ।
नाबालिगहरूलाई यौन तस्करीमा संलग्न गरेको आरोपमा संघीय अपराधअन्तर्गत सन् २००८ मा पहिलोपटक एप्स्टिन पक्राउ परेका थिए । तर यसबेला उनीमाथि १८ महिनामात्रै जेल सजाय भयो । उनी राजनीतिक पहुँच प्रयोग गर्दै
१३ महिना जेल बसेर बाहिर निस्किन सफल भए । त्यसपछि फेरि पनि आफ्नो व्यवसायलाई जारी राखे । उनको सञ्जालमा राजनीतिकर्मी, सेलेब्रेटी, प्राज्ञिक तथा व्यावसायिक नेतृत्वकर्ताहरू थिए ।
सन् २०१५ मा भर्जिनिया जिउफ्रेले एप्स्टिनकी सहयोगी गिलेन म्याक्सवेलविरुद्ध मुद्दा दायर गरेपछि एप्स्टिन फेरि विवादमा तानिए। जिउफ्रेले आफू बालिका छँदा एप्स्टिनको यौन तस्करी सञ्जालमा परेको र आफूलाई धनी तथा प्रभावशाली व्यक्तिहरूको ‘सेवामा’ लगाइएको आरोप लगाएकी थिइन् । उनले बेलायती राजकुमार प्रिन्स एन्ड्रयु माउन्टबाट्टनले समेत आफूमाथि दुर्व्यवहार गरेको दाबी गरेकी थिइन् । यसपछि एपस्टिनको यौन अपराध र बाल यौन दूराचारजस्ता क्रियाकलापमा को-को सामेल थिए भन्ने अड्कल बढेर गयो ।
सन् २०१९ मा उनी फेरि पक्राउ परे । तर पक्राउ परेको एक महिनामै कारागारभित्रै संदिग्ध अवस्थामा मृत फेला परे । उनले आत्महत्या गरेको प्रहरीको दाबी छ । यस प्रकरणसँगै अमेरिकामा उनीसँग सम्बन्धित सबै कागजात सार्वजनिक गर्नुपर्ने माग उठ्यो । सन् २०२५ मा अमेरिकाका दुबै सदनले एप्स्टिनसँग सम्बन्धित कागजात सार्वजनिक गर्नुपर्ने प्रस्ताव पारित गरे । राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त प्रस्तावमा हस्ताक्षर गरेपछि यी फाइल क्रमश: सार्वजनिक हुन थालेका हुन् ।
सन् १९५३ मा न्युयोर्कको एक मध्यमवर्गीय, यहुदी परिवारमा जन्मिएका जेफ्री एडवार्ड एप्स्टिन असाध्यै महत्वाकांक्षी थिए । विद्यालय शिक्षापछि न्युयोर्क विश्वविद्यालयमा भर्ना भए पनि उनले पढाइ पूरा गरेनन् । बरु सहरकै एक विद्यालयमा गणित विषय पढाउन थाले । त्यहाँ उनका एक विद्यार्थीका बुबा, अमेरिकी अर्बपति एलेन ग्रिनबर्गसँग एप्स्टिनको चिनजान भयो ।
ग्रिनबर्ग त्यो बेला चर्चित इन्भेष्टमेन्ट फर्म ‘बियर स्टर्नन्स’ का प्रमुख कार्यकारी अधिकृत भएकाले एप्स्टिनलाई जागिर दिए । एप्स्टिनले त्यहाँ छँदा धनाढ्यहरूको सोच र पैसा कमाउने तरिकाबारे बुझेपछि सन् १९८१ मा आफ्नै लगानीमा फर्म खोले । एप्स्टिनको फर्मले अर्बपतिलाई मात्रै सेवा दिने रणनीति लिएको थियो । उनी अर्बपतिहरूका वित्तीय सल्लाहकार बने ।
तर, उनका ग्राहक को, को थिए भन्ने गोप्य रह्यो । सन् १९९० को दशकमा उनीसँग कयौँ निजी विमान, पानी जहाज र अनेकौँ विलासी साधान थिए । उनले अमेरिकी भर्जिन आइल्यान्डमा ‘लिटल सेन्ट जेम्स’ नामक आफ्नै रिसोर्ट पनि खोले । यसै रिसोर्टबाट उनले नाबालिग बालिकाहरूको शोषण र तस्करी सुरु गरेको बताइन्छ । त्यही समय उनको भेट बेलायती मिडिया उद्यमी रोबर्ट म्याक्सवेलकी छोरी गिलेन म्याक्सवेलसँग भएको मानिन्छ । गिलेन असाध्यै टाठी भएकाले दुई मिलेर थप योजनाबद्ध ढंगले बालिकाहरूलाई ‘ग्रुमिङ’ गर्दै रिसोर्टमा लगेर मसाजको नाममा उनीहरूको शोषण गर्ने व्यवसाय अघि बढाएको मानिन्छ ।
एप्स्टिन सामाजिक सम्बन्धहरू मजबुत बनाउन आफ्ना पाहुनाहरूका लागि ठूल्ठूला पार्टी आयोजना गर्थे । त्यसका लागि आफ्नो निजी जेट, जसलाई ‘लोलिता एक्सप्रेस’ भनिन्थ्यो, त्यसमा पाहुनाहरूलाई ल्याउने-पुर्याउने गर्थे । न्युयोर्क, पाम बिच तथा अमेरिकी भर्जिन आइल्यान्डस्थित घरहरूमा पाहुनाको सत्कार गर्थे ।
