मध्यपूर्वमा देखिएको तनाव घटाउन कूटनीतिक प्रयास जारी छ : कतार

विदेश मन्त्रालयका प्रवक्ता माजेद बिन मोहम्मद अल अन्सारीले क्षेत्रीय सुरक्षा तथा स्थायित्वका लागि वार्तामै फर्किनु एक मात्र विकल्प भएको बताएका छन् ।

माघ २१, २०८२

कान्तिपुर संवाददाता

Diplomatic efforts continue to reduce tensions in the Middle East: Qatar

What you should know

काठमाडौँ — कतारको विदेश मन्त्रालयले मध्यपूर्व क्षेत्रमा बढ्दो तनाव घटाउन उच्चस्तरीय कूटनीतिक प्रयासलाई निरन्तरता दिइरहेको जनाएको छ । अमेरिका र इरानबीच बढ्दो तनाबले मध्यपूर्व क्षेत्रमा केही समययता चिन्ता बढेकाे छ ।

प्रधानमन्त्रीका सल्लाहकार तथा विदेश मन्त्रालयका प्रवक्ता माजेद बिन मोहम्मद अल अन्सारीले पत्रकार सम्मेलन आयाेजना गर्दै क्षेत्रीय सुरक्षा तथा स्थायित्वका लागि वार्तामै फर्किनु एक मात्र विकल्प भएको बताएका छन् ।

उनले कतारी अमिर शेख तमिम बिन हमद अल थानी र इरानका राष्ट्रपति मसुद पेजेश्कियनबीच निरन्तर सम्पर्क भइरहेको जानकारी पनि दिए । प्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान बिन जासिम अल थानीको हालैको तेहरान भ्रमण क्षेत्रीय तनाव कम गर्ने प्रयासकै हिस्सा भएको उनले बताए ।
अल अन्सारीका अनुसार कतारका यी प्रयास एक्ला होइनन् । ‘यस क्षेत्रका अन्य मुलुकहरू समेत समेटिएका छन् । पछिल्ला दिनहरूमा व्यापक क्षेत्रीय संवाद भइरहेको र तनाव पुनः चर्किन नदिन निरन्तर पहल जारी रहेको छ,’ उनले स्पष्ट पारे ।

इरानसम्बन्धी विषय अत्यन्त जटिल रहेको जनाउँदै अल अन्सारीले क्षेत्रीय समस्याको समाधान एकल मुद्दाबाट सम्भव नहुने बताए । 'सबै विषयहरू समेटिने नयाँ वार्ता प्रक्रियामा फर्किनु अहिलेको आवश्यकता हो,' उनले भने । कतारले तनाव, आरोप–प्रत्यारोप र चर्को अभिव्यक्तिबाट वार्तामुखी वातावरणतर्फ क्षेत्रलाई लैजान प्रयास गरिरहेको उनको भनाइ थियो।

कतार र इरानबीच भूगोल, इतिहास र ऊर्जा क्षेत्रमा साझा चासो रहेको उल्लेख गर्दै अल अन्सारीले संवाद नै शान्ति र तनाव न्यूनिकरणको एकमात्र बाटो भएको दोहोर्याए । कतारले हालको क्षेत्रीय अवस्थालाई ध्यानमा राख्दै आवश्यक सबै सावधानी अपनाएको र घटनाक्रम नजिकबाट नियालिरहेको पनि उनले बताए।

कान्तिपुर

Link copied successfully