तामाङ दुई वर्षअघि २०२४ जुलाईमा प्रहरी सेवामा प्रवेश गरेका थिए । उनले २०२५ मेमा १ सय २१ औं ब्याचमा प्रहरी एकेडेमीको स्नातक पूरा गरी फिल्डमा काम सुरु गरेको जनाइएको छ ।
अमेरिका, टेक्सस — अमेरिकाको जर्जिया राज्यमा नेपाली मूलका एक अमेरिकी प्रहरीको मृत्यु भएको छ । जर्जिया राज्यको ग्विनेट काउन्टीमा स्थानीय समयअनुसार आइतबार बिहान भएको गोलीकाण्डमा ड्युटीमा खटिएका ग्विनेट प्रहरी विभागमा कार्यरत नेपाली मूलका २५ वर्षीय प्रहरी प्रदीप तामाङको मृत्यु भएको हो ।
तामाङसँगै ड्युटीमा खटिएका अर्का एक प्रहरी गम्भीर घाइते भएका छन् ।
आइतबार बिहान करिब साढे सात बजे ठगीसम्बन्धी उजुरीको छानबिनका लागि तामाङसहितको प्रहरी टोली इस्ट पार्क प्लेस ब्लभर्डमा खटिएको थियो । ग्विनेट काउन्टी प्रहरी विभागका अनुसार छानबिनका लागि घटनास्थलमा पुगेको तामाङसहितको टोलीमाथि ३५ वर्षीय केभिन एर्ण्ड्युजले अन्धाधुन्ध गोली प्रहार गरेका हुन् ।
एर्ण्ड्युजकै गोली प्रहारबाट गम्भीर घाइते भएका तामाङको उपचारका क्रममा मृत्यु भएको प्रहरी विभागले जनाएको छ । जवाफी फायरमा प्रहरीमाथि गोली प्रहार गर्ने एर्ण्ड्युज पनि घाइते भएका छन् ।
२५ वर्षीय तामाङ र मास्टर पुलिस अफिसर डेभिड एम रिड एकसाथ गम्भीर घाइते भएको र उपचारका क्रममा तामाङको मृत्यु भएको विभागले पुष्टि गरिसकेको छ । तामाङ दुई वर्षअघि २०२४ जुलाईमा प्रहरी सेवामा प्रवेश गरेका थिए । उनले २०२५ मेमा १ सय २१ औं ब्याचमा प्रहरी एकेडेमीको स्नातक पूरा गरी फिल्डमा काम सुरु गरेको जनाइएको छ । तामाङसँगै घाइते प्रहरी अधिकृत डेभिड एम रिड सन् २०१५ देखि विभागमा कार्यरत थिए ।
