‘ तिम्रो टापुमा रमाइलो पार्टी कुन रात हुनेछ ?’ मस्कले सोधेका छन् ।
What you should know
काठमाडौँ — अमेरिकी न्याय विभागले यौन अपराधी जेफ्री इप्स्टेनसँग सम्बन्धित लाखौं नयाँ फाइलहरू सार्वजनिक गरेको छ ।
शुक्रबार तीस लाख पृष्ठ, १ लाख ८० हजार फोटो र २,००० भिडियोहरू सार्वजनिक गरिएको हो ।
सार्वजनिक फाइलहरूमा जेफ्री इप्स्टेनको जेल जीवनका विवरणहरू समावेश छन् । यसमा इप्स्टेनकी सहयोगी गिस्लेन म्याक्सवेलमाथिको अनुसन्धान रेकर्डहरू पनि छ । इप्स्टेनको रिसोर्टमा नाबालिग किशोरी पुर्याउने काम गरेको अभियोग म्याक्सवेलमाथि छ ।
सार्वजनिक फाइलहरुमा इप्स्टेन र हाई–प्रोफाइल व्यक्तिहरूबीचका इमेलहरू पनि समावेश छन् । यौन बेचबिखनको मुद्दामा जेल सजाय बिताइरहेका बेला इप्स्टेनको अगस्ट २०१९ मा मृत्यु भएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम पनि धेरैवटा इमेलमा उल्लेख छ । तर, उनीसँग प्रत्यक्ष इमेल आदनप्रदान भएको देखिदैंन । ट्रम्पले इप्स्टेनसँग कुनै समय आफ्नो मित्रता रहेको स्विकारेका छन् । तर, वर्षौंअघि नै मित्रता टुटुको र उनको यौन अपराधबारे कुनै जानकारी नभएको बताउँदै आएका छन् ।
एलोन मस्कसँग सम्बन्धित इमेल पनि बाहिरिएको छ । सन् २०१२ को इमेलमा एलोन मस्कले एपस्टाइनलाई सोधेका छन् , ‘ तिम्रो टापुमा रमाइलो पार्टी कुन रात हुनेछ ?’
नोभेम्बर २०१२ मा इप्स्टेनले मस्कसँग सोधका छन्, ‘कतिजनालाई हेलिकप्टरमार्फत टापुमा लैजान आवश्यक छ ।’
जवाफमा मस्कले आफु र आफ्नी तत्कालीन पत्नी तालुलाह रिलमात्रै सहभागी हुने बताएका छन् । अर्को एक इमेलमा मस्कले ‘शान्तिपूर्ण टापुको अनुभव लिन चाहेको’ उल्लेख गरेका छन् ।
इप्स्टेनले आफुलाई टापुमा निम्तो दिएको भएपनि त्यहाँ नगएको दाबी मस्कले गरिरहेका छन् ।
माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सको नाम पनि यसमा मुछिएको छ । १८ जुलाई २०१३ मा बिल गेट्सलाई पठाउन दुई इमेलहरू इप्स्टेनले नै ड्राफ्ट गरेको देखिन्छ ।
तर ती इमेल गेट्सलाई पठाइएका थिए कि थिएनन् भन्ने कुरा स्पष्ट छैन । एउटा इमेलमा ‘रूसी युवाहरूसँगको यौन सम्बन्धपछि देखिएका समस्यासँग जुध्न गेट्सका लागि औषधि किन्न परेको उल्लेख छ ।’
बिल गेट्सका प्रवक्ताले इप्स्टेनले गरेका दाबी झुटो रहेको बताएका छन् । उनले इप्स्टेनसँग गेट्सको कुनै सम्बन्ध नभएको बताएका छन् । जबकी, गत डिसेम्बरमा सार्वजनिक भएको इप्स्टेन फाइनलमा बिल गेट्सका तस्बिर पनि समावेश थिए ।
बेलायती राजकुमारलाई रुसी महिला भेट्न निमन्त्रणा
इप्स्टेनको सम्बन्ध हाइ–प्रोफाइल व्यक्तिहरुसँग थियो । उनीसँग नजिक सम्बन्ध भएका व्यक्तिमध्ये बेलायतका राजकुमार एन्ड्रयु माउन्टबेटन एक थिए । इप्स्टेनसँगको मित्रताले आलोचित भएका माउन्टबेटनले दरबार त्याग्ने निर्णय केही समयअघि नै लिइसकेका छन् । यद्यपी, उनले कुनै गलत नगरेको बताउँदै आएका छन् ।
अहिले सार्वजनिक गरिएको एउटा फाइलमा ‘द ड्युकलाई २६ वर्षीया रुसी युवतीसँग परिचय गराउने इप्स्टेनको निमन्त्रणा प्रस्ताव पनि एक हो । यसमा ‘एचआरएच ड्युक अफ द योर्क केजी’ भनेर लेखिएको छ । यो इमेल सन् २०१० मा पठाइएको देखिन्छ ।
त्यस्तै ४ अप्रिल २००९ मा एन्ड्रयूकी पूर्व पत्नी सारा फर्गुसन र इप्स्टेनबीच इमेला आदनप्रदान भएको देखिन्छ । साराले इप्स्टेनलाई ‘मेरो प्यारो शानदार र विशेष साथी जेफ्री’ भनेर सम्बोधन गरेकी छिन् ।
त्यसैगरी बेलायतका लागि पूर्व अमेरिकी राजदूत लर्ड मन्डेलसन र इप्स्टेनबीचको संवाद पनि सार्वजनिक भएको छ ।
कति सार्वजनिक भयो ?
अमेरिकी न्याय विभागका सहायक महान्यायाधिवक्ता टोड ब्लान्चेले इप्स्टेनसँग पहिचानमा आएका प्रायः सबै फाइल सार्वजनिक भइसकेको बताएका छन् । जबकी, विपक्षी डेमोक्रेटिक पार्टीका नेताहरुले विभागले अझै २५ लाख कागजात रोकिएको दाबी गरेका छन् ।
‘न्याय विभागले ६० लाख भन्दा बढी सम्भावित उत्तरदायी पृष्ठहरू पहिचान गरेको बताएको थियो । तर समीक्षा र सम्पादन पछि लगभग ३५ लाख मात्र जारी गरिरहेको छ,“डेमोक्रेटिक पार्टीको कंग्रेसम्यान रोह खन्नाले भने,‘यसले बाँकी किन रोकिएको छ भन्ने प्रश्न उठाउँछ ।’
शुक्रबार जारी गरिएका धेरैजसो कागजातहरू सम्पादीत छन् । पीडितहरूलाई जोगाउने उद्देश्यले दस्तावेजहरु सम्पादन गर्नुपरेको ब्लान्चेले बताएका छन् ।
को हुन् इप्स्टेन ?
व्यवसायी तथा यौन दूराचारी जेफ्री इप्स्टेनको सन् २०१९ मा जेलमै शंकास्पद मृत्यु भएको थियो । उनमाथि क्यारेबियन समुद्र आसपास आलिसान रिसोर्टहरु सञ्चालन गर्ने र त्यहाँ किशोरीहरुलाई लगेर धनाढ्यहरुको सेवा गर्न लगाउने गरेको अभियोग थियो ।
यसक्रममा यौन दुर्व्यबहार भएको गुनासो किशोरीहरुले गरेका छन् । धेरै हाइप्रोफाइल व्यक्ति, राजनीतिज्ञ तथा व्यवसायी इप्स्टेनको रिसोर्टका ग्राहक रहेको आशंका गरिएको छ ।
इप्स्टेनलाई किशोरी तथा युवतीहरू खोज्ने काममा गिस्लेन म्याक्सवेलले सहयो गर्ने गरेकी थिइन् ।
