युनिफिकेसन चर्चबाट घुस लिएको आरोपमा दक्षिण कोरियाकी पूर्व प्रथम महिलालाई २० महिनाको जेल सजाय

५२ वर्षीया किमले युनिफिकेसन चर्चबाट करिब ५६ हजार अमेरिकी डलर बराबरका उपहार प्राप्त गरेकी थिइन्। उनले लिएको उपहारमा ग्राफ ब्रान्डको हीराको हार र थुप्रै च्यानेल ह्यान्डब्यागहरू थिए।

माघ १४, २०८२

कान्तिपुर संवाददाता

Former South Korean First Lady Sentenced to 20 Months in Prison for Taking Bribes from Unification Church

काठमाडौँ — दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योलकी पत्नी किम केओन हीलाई २० महिनाको जेल सजाय भएको छ।

विवादास्पद युनिफिकेसन चर्चबाट घुस लिएको अभियोगमा पूर्वप्रथम महिला समेत रहेकी उनलाई बुधबार सियोल केन्द्रीय जिल्ला अदालतले सजाय फैसला सुनाएको बीबीसीले जनाएको छ।

५२ वर्षीया किमले युनिफिकेसन चर्चबाट करिब ५६ हजार अमेरिकी डलर बराबरका उपहार प्राप्त गरेकी थिइन्। उनले लिएको उपहारमा ग्राफ ब्रान्डको हीराको हार र थुप्रै च्यानेल ह्यान्डब्यागहरू थिए। अदालतले उनलाई अब १ करोड २८ लाख ५० हजार वन फिर्ता गर्नुपर्ने आदेश दिएको छ।

किममाथि युनिफिकेसन चर्चका अनुयायीहरूलाई आफ्ना पतिको कन्जरभेटिभ पिपुल पावर पार्टीमा भर्ती गराएको, अनि सरकारी जागिर लगाइ दिएको बदलामा उपहार लिएको अभियोग पनि छ। तर, उक्त अभियोगमाथि भने सुनुवाइ हुन बाँकी छ।  

तर, उक्त अदालतले उनलाई सन् २०२२ को राष्ट्रपति चुनावअघि बिचौलीयाबाट निःशुल्क जनमत सर्वेक्षण प्राप्त गरेको आरोपबाट भने सफाइ दिएको छ। उक्त चुनावमा उनका पति युन सुक योलले जितेका थिए।

यद्यपि, उनलाई यसअघि नै  ‘मार्सल ल’ घोषणामा शक्तिको दुुरुपयोग गरेको र न्यायमा अवरोध गरेको भन्दै ५ वर्षको जेल सजाय भइसकेको छ।  

कान्तिपुर

Link copied successfully