इन्डोनेशियाको रिसर्च एन्ड इनोभेशन एजेन्सी (बीआरआईएन) का पुरातत्वविद् अधी अगुस ओख्ताभियानाले गुफाको भित्तामा एक मानिस कुखुरासँगै घोडामा सवार भएको चित्र रहेको बताए ।
What you should know
काठमाडौँ — इन्डोनेशियाको सुलावेसी प्रान्तस्थित मुना टापुका चुनढुंगाका गुफामा भेटिएका हातको स्टेन्सिल (हाते छाप) झन्डै ६७ हजार ८ सय वर्षसम्म पुराना हुनसक्ने पुरातत्वविद्हरूले बताएका छन् ।
विश्वमा अहिलेसम्म पहिचान भएका पेन्टिङमध्ये यी सबैभन्दा पुराना चित्रकला हुनसक्ने अनुमान गरिएको छ ।
इन्डोनेशियाली र अस्ट्रेलियन अनुसन्धानकर्ताहरूका अनुसार गुफाका भित्तामा हात राखेर त्यसको वरिपरि रङ फुकेर (ब्लोइङ विधिमार्फत) यी चित्रकला बनाइएका हुन् । यी चित्रकला खैरो रंगको रहेको वैज्ञानिकहरुले बताएका छन् ।
इन्डोनेशियाको रिसर्च एन्ड इनोभेशन एजेन्सी (बीआरआईएन) का पुरातत्वविद् अधी अगुस ओख्ताभियानाले गुफाको भित्तामा एक मानिस कुखुरासँगै घोडामा सवार भएको चित्र रहेको बताए । सुरुमा ती आकृतिहरू वास्तवमै मानिसका हाते छापले तयार गरिएको प्रमाणित गर्न कठिन भएको उनले बताए ।
'तर अन्ततः हामीले मानिसका औंलाजस्तै देखिने केही दाग–धब्बा भेट्टायौं,' उनले भने । उनी सन् २०१५ देखि नै मुना टापु क्षेत्रमा यस्ता हाते छापका चित्रकलाहरूको खोजीमा संलग्न छन् ।
अनुसन्धानमा संलग्न अस्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयका पुरातत्व विज्ञान विशेषज्ञ म्याक्सिम ओबेर्टका अनुसार यी हाते छाप चित्र सुलावेसी क्षेत्रमा मात्रै पाइन्छन् ।
उनका सह–अनुसन्धानकर्ता एडम ब्रुमले ती हातका आकृतिहरूमा गहिरो अर्थ लुकेको हुनसक्ने बताए । ‘यसमा कुनै गहिरो सांस्कृतिक अर्थ लुकेको छ, तर त्यसको ठोस व्याख्या अहिलेसम्म स्पष्ट छैन,’ उनले भने।
चित्रकलाको न्यूनतम उमेर निर्धारण गर्न वैज्ञानिकहरूले रङमाथि समयक्रममा बनेका खनिज तहमा रहेको युरेनियम र थोरियम तत्वको विश्लेषण गरेका थिए । लेजर प्रविधिबाट गरिएको यो परीक्षण अत्यन्तै सटीक मानिन्छ ।
अनुसन्धानकर्ताहरूका अनुसार मुना टापुका गुफाहरू लामो समयसम्म पटक–पटक चित्रकलाका लागि प्रयोग गरिएको देखिन्छ ।
सन् २०२४ मा यो सुलावेसी क्षेत्रमा भेटिएका चित्रकलाभन्दा अहिलेको चित्रकला झन्डै १५ हजार वर्ष पुरानो रहेको देखिएको वैज्ञानिकहरुले बताएका छन् । यी गुफा–चित्रकलाले सुलावेसी हुँदै मानव समुदाय बसाइँसराइ गरेको सिद्धान्तलाई थप बल पुर्याउँछ ।
'यसले देखाउँछ कि हाम्रा पुर्खा केवल उत्कृष्ट डुंगाा खियाउने मात्रै थिएनन्, उनीहरू कलाकार पनि थिए,' उनले भने ।
अस्ट्रेलिया रहेका आदिवासी समुदायको संस्कृतिलाई विश्वको सबैभन्दा पुरानो जीवन्त संस्कृति मानिन्छ । यहाँ झन्डै ६० हजार वर्षभन्दा पुरानो पराम्परा कायम रहेको पुरातात्विक प्रमाणहरुले देखाउँछन् ।
उत्तरपश्चिम अस्ट्रेलियास्थित एक मुरुजुगामा क्षेत्रमा ढुंगामा कुँदिएको ५० हजार वर्ष चित्रलाई विश्व सम्पदा सुचीमा समावेश गरिएको छ ।
