पाकिस्तानको पञ्जाबमा भीषण सडक दुर्घटना, १४ जनाको मृत्यु

मृतक तथा घाइते सबै इस्लामाबादका बासिन्दा रहेको उद्धार अधिकारीहरूले बताएका छन्।

माघ ३, २०८२

कान्तिपुर संवाददाता

14 killed in fatal road accident in Pakistan's Punjab

काठमाडौँ — पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको सरगोधा जिल्लामा शनिबार घना कुहिरोका कारण भएको सडक दुर्घटनामा कम्तीमा १४ जनाको ज्यान गएको छ भने केही अन्य व्यक्ति घाइते भएका छन्।

उद्धार अधिकारीहरूका अनुसार अत्यन्त कम दृश्यताका कारण मिनी–ट्रक अनियन्त्रित भई सडकबाट खस्दै सुक्खा नहरमा पुगेको थियो। दुर्घटनास्थलमै सात जनाको मृत्यु भएको थियो भने गम्भीर घाइतेहरूलाई तत्काल नजिकका अस्पतालमा लगिएको थियो। 

उपचारका क्रममा थप सात जनाको मृत्यु भएपछि मृतक संख्या १४ पुगेको जनाइएको छ।

कुहिरोका कारण मोटरवे बन्द भएपछि चालकले वैकल्पिक स्थानीय मार्ग प्रयोग गरेको बताइएको छ। सूचना प्राप्त हुनासाथ रेस्क्यु ११२२ का टोली घटनास्थलमा पुगेर उद्धार तथा राहत कार्य सञ्चालन गरेका थिए।

दुर्घटनामा महिलाहरू र बालबालिकासमेत परेको पुष्टि भएको छ। मृतक तथा घाइते सबै इस्लामाबादका बासिन्दा रहेको उद्धार अधिकारीहरूले बताएका छन्।

कान्तिपुर

Link copied successfully