कतारले भन्यो - 'हाम्रा नागरिक तथा बासिन्दाको सुरक्षालाई उच्च प्राथमिकतामा राखेका छौं'

कतारमा रहेको अमेरिकी बेस क्याम्पबाट नेपालीसहित आफ्ना कर्मचारी फिर्ता 

पुस ३०, २०८२

होम कार्की

Qatar says: 'We place the safety of our citizens and residents at the highest priority'

काठमाडौँ — कतारले आफ्ना नागरिक तथा बासिन्दाको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको जनाएको छ । कतारमा चार लाख नेपाली कार्यरत छन् । 

अमेरिकाले आफूमाथि आक्रमण गरेमा इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य बेस क्याम्प र इजरायलमाथि आक्रमण गर्ने चेतावनी दिएको छ । यसलगत्तै कतारस्थित अल–उदैद एयर बेसबाट केही कर्मचारीहरू फिर्ता गरिएको भन्ने सञ्चारमाध्यममा सार्वजनिक भएपछि कतारले बुधबार विज्ञप्ति जारी गर्दै आवश्यक सुरक्षात्मक कदम अपनाएको जनाएको छ । 

अमेरिकी बेस क्याम्प नेपालीसहित आप्रवासी श्रमिक राखिएको सनैयाबाट नजिकको दूरीमा छ । इजरायलसँग तनाव बढेको समयमा पनि इरानले अल–उदैद एयर बेस लक्षित आक्रमण गरेको थियो ।

कतार सरकारको अन्तर्राष्ट्रिय सञ्चार कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार हालको क्षेत्रीय तनावलाई मध्यनजर गर्दै आवश्यक सुरक्षात्मक कदमका रूपमा ती उपाय अपनाइएको जनाएको छ । त्यसमा महत्त्वपूर्ण पूर्वाधार र सैन्य संरचनाको संरक्षणसम्बन्धी कार्यहरू पनि समेटिएका छन् ।

कतारले हालको अवस्थालाई सामान्य सुरक्षा व्यवस्थापनको हिस्सा भएको भन्दै थप कुनै नयाँ विकास भएमा आधिकारिक माध्यममार्फत जानकारी गराइने स्पष्ट पारेको छ ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully