अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराका अनुसार बुधबार बिहान भएको उक्त दुर्घटनामा अन्य ५५ जना घाइते भएका छन् ।
काठमाडौँ — थाइल्याण्डको उत्तरपूर्वी क्षेत्रमा निर्माणधीन क्रेन यात्रुबाहक रेलमाथि खस्दा कम्तीमा २२ जनाको मृत्यु भएको छ ।
अन्तराष्ट्रिय सञ्चारमाध्यम अलजजिराका अनुसार बुधबार बिहान भएको उक्त दुर्घटनामा अन्य ५५ जना घाइते भएका छन् ।
राजधानी बैंककबाट २३० किलोमिटर उत्तरपूर्वमा पर्ने नाखोन रत्चासिमा प्रान्तको सिखियो जिल्लामा उक्त दुर्घटना भएको हो । बैंककबाट उबोन रत्चाथानीतर्फ गइरहेको रेलमाथि उच्च गतिको रेलमार्ग (हाई-स्पीड रेल) निर्माणमा प्रयोग गरिएको क्रेन खसेको थियो ।
रेल गुडिरहेको अवस्थामा माथिबाट क्रेन खसेपछि रेलले ठक्कर दिएको र त्यसलगत्तै आगलागी भएको थियो । सुरुमा ४ जनाको मृत्यु भएको भनिए पनि उद्धारका क्रममा मृतकको संख्या बढेर २२ पुगेको थाई प्रहरीलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।
स्थानीय प्रहरीका अनुसार क्रेन खसेपछि रेल ट्र्याकबाट बाहिरिएको थियो । अहिले घटनास्थलमा उद्धार कार्य भइरहेको छ र भग्नावशेषमा मानिसहरू फसिरहेका हुनसक्ने भएकाले मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन् । घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।
