आक्रमणमा परेर मृत्यु हुने र घाइते हुनेको विवरण सार्वजनिक भइसकेको छैन
What you should know
काठमाडौँ — अमेरिकाले आफ्ना सहयोगी दस्ताहरुसँग मिलेर सिरियामा ईस्लामिक स्टेट (आईएस) विरुद्ध ठूलो आक्रमण गरेको छ । युएस सेन्ट्रल कमाण्ड (सेन्टकम) ले आक्रमणको जानकारी दिएको हो ।
१३ डिसेम्बरमा आईएसले सिरियामा अमेरिकी सेनामाथि गरेको आक्रमणको जवाफस्वरुप शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमो आक्रमण गरिएको सेन्टकमले सामाजिक सञ्जाल एक्समार्फत जनाएको छ ।
आतंकवादलाई निस्तेज गर्न र मध्यपूर्वमा अमेरिका तथा उसका सहयोगी दस्ताको संरक्षण गर्न आक्रमण आवश्यक रहेको सेन्टकमले जनाएको छ ।
‘हाम्रो सन्देश बलिाये छ । यदी हाम्रा लडाकुहरुलाई हमला गर्यौं भने हामी तिमीलाई विश्वमा जहाँसुकै भएपनि खोज्नेछौं र मार्नेछौं,’ सेन्टकमले भनेको छ ।
अमेरिकी सञ्चारमाध्यम सीबीएस न्युजलाई एक अधिकारीले बताए अनुसार अमेरिका र उसका साझेदारहरुले ३५ भन्दा बढी स्थानमा कुल ९० वटाभन्दा धेरै आक्रमण गरेका थिए । यसक्रममा २० वटाभन्दा बढी विमान प्रयोग गरिएको पनि सीबीएस न्युजले जनाएको छ ।
आक्रमणमा एफ–१५ ईएस, ए–१० एस, एसी–१३० जेएस, एमक्यु–९ एस, जोर्डनियन एफ–१६एस लगायतका विमानहरु प्रयोग गरिएको ती अधिकारीले बताएका छन् ।
आक्रमणमा परेर मृत्यु हुने र घाइते हुनेको विवरण सार्वजनिक भइसकेको छैन ।
डिसेम्बर २०२४ मा पूर्वराष्ट्रपति बसर अल–असदको सत्ता ढलेसँगै सिरिया अहिले संक्रमणकालमा छ । असद कार्यकालमा सन् २०११ मा सुरु भएको गृहयुद्ध अझै नियन्त्रणमा आइसकेको छैन ।
असद भागेर रुस गएपछि गत वर्षदेखि अहमद अल शारा राष्ट्रपतिको जिम्मेवारीमा छन् । सिरियामा निकै कमजोर भइसकेको आईएस समुहले संक्रमणकालको फाइदा उठाएर आफ्नो उपस्थिति बलियो बनाउने प्रयास गर्दै आएको छ ।
