इजरायली सेनाले गरेको व्यापक आक्रमणका कारण प्यालेस्टाइनमा धेरै घरहरु बस्न योग्य छैनन् । प्यालेस्टिनीहरू समुद्र तटमा पाल टाँग्न बाध्य रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिरामा उल्लेख छ ।
What you should know
काठमाडौँ — प्यालेस्टाइको मध्य गाजा क्षेत्रस्थित देइर अल बलहमा चिसाले एक शिशुको मृत्यु भएको छ । इजरायली पक्षले नाकाबन्दी गरेका कारण यहाँका जनताले मानवीय संकट व्यहोरिरहेका छन् ।
अस्थायी पालहरूमा बस्ने प्यालेस्टिनीहरूलाई तेज हावा र वर्षाले सताएको छ । धेरैजसो आश्रयस्थलहरू प्लास्टिकको पातलो टेन्टबाट बनेका छन् ।
गाजामा विभिन्न गैर सरकारी तथा मानवीय उद्धारमा कार्यरत संस्थाहरुले हस्तान्तरण गर्नका लागि ल्याएका टेन्ट र अन्य आधारभूत सामाग्रीहरुमाथि इजरायलले रोक लगाएको छ । यो अन्तर्राष्ट्रिय कानुनको उल्लंघन हो ।
गत अक्टोबरमा हमाससँग भएको युद्धविराम सहमतिका समयमा इजरायल आफैंले व्यक्त गरेको प्रतिवद्धता विपरीत हो । हालैका दिनहरूमा गाजामा रातको तापक्रम नौ डिग्री सेल्सियस (४८ डिग्री फरेनहाइट) सम्म झरेको छ ।
गाजाको नागरिक रक्षा विभागले शुक्रबार एक विज्ञप्तिमा भनेको छ, ‘भवन निर्माण सामग्रीको प्रवेशमा लगाइएको रोक र पुनर्निर्माणमा अवरोधका यहाँ ठूलो मानवीय समस्या निम्तिएको छ ।’
इजरायली सेनाले गरेको व्यापक आक्रमणका कारण प्यालेस्टाइनमा धेरै घरहरु बस्न योग्य छैनन् । प्यालेस्टिनीहरू समुद्र तटमा पाल टाँग्न बाध्य रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिरामा उल्लेख छ ।
गाजा शहरमा रहेकी अल जजीराकी हिन्द खौदरीले भनिन् धेरै ठाउँमा पालहरू नष्ट भएको बताए । ‘यी पालहरू मर्मत गर्ने कुनै उपाय छैन, किनभने परिवारहरूसँग त्यसका लागि आवश्यक सामग्री छैन,’ उनले भनिन् ।
गत हप्ता प्यालेस्टिनी गैरसरकारी संस्था नेटवर्कका निर्देशक अमजद शावाले गाजाका २२ लाख बासिन्दामध्ये लगभग १५ लाखले इजरायल र हमासबीचको युद्धका दौरान घरबार गुमाएको बताएका थिए ।
संयुक्त राष्ट्र संघका अनुसार दुई वर्षभन्दा बढी समयदेखि चलिरहेको युद्धमा इजरायलले यस क्षेत्रका लगभग ८० प्रतिशत भवनहरू ध्वस्त वा क्षतिग्रस्त पारेको छ ।
