केही समयअघि मात्र अमेरिकाले कोलम्बियालाई लागुऔषध नियन्त्रणमा सहयोग नगर्ने देशको सूचीमा राखेको थियो भने राष्ट्रपति पेट्रोलाई नै लागुऔषध तस्कर र सम्पत्ति शुद्धीकरण गर्नेहरूको 'ब्ल्याकलिस्ट' मा समावेश गरेको थियो ।
What you should know
काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोलाई ह्वाइट हाउस भ्रमणको निम्तो दिएका छन् । कोलम्बियास्थित सञ्चारसंस्था कोलम्बिया रिपोर्टका अनुसार पछिल्लो समय बिग्रिएको दुई देशबीचको सम्बन्धलाई पुनः लयमा फर्काउने प्रयासस्वरूप ट्रम्पले यस्तो कदम चालेका हुन् ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मार्फत पेट्रोसँग फोनमा कुराकानी भएको र उनलाई भेट्न उत्सुक रहेको जानकारी दिएका छन् ।
'कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोसँग कुरा गर्न पाउनु सम्मानको कुरा हो,' ट्रम्पले लेखेका छन्, 'हामीबीच रहेका लागुऔषधसम्बन्धी विवाद र अन्य असहमतिबारे बुझाउन उनले फोन गरेका थिए । म उनको संवाद शैली र कुराकानीबाट प्रभावित छु ।'
कोलम्बियाको राजधानी बोगोटामा आयोजित एक र्यालीलाई सम्बोधन गर्दै राष्ट्रपति पेट्रोले ट्रम्पको निमन्त्रणाबारे पुष्टि गरेका छन् । उनले ट्रम्पसँगको सम्बन्ध चिसिनुमा मियामीका केही कुलीन वर्ग (एलिट) को हात रहेको आरोप लगाए ।
'उनीहरूले ट्रम्पलाई मेरो आफ्नै कोकिन कारखाना छ र म भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मादुरोको मान्छे हुँ भनेर ढाँटेका रहेछन्,' पेट्रोले भने, 'उनीहरूले ट्रम्पलाई झुक्याए, जसका कारण ट्रम्पले मलाई लागुऔषध तस्करीको मुख्य नाइके भएको आरोप लगाए, जुन कुरा कुनै पनि कोलम्बियालीका लागि हास्यास्पद छ ।'
पेट्रोका अनुसार ट्रम्पसँग करिब एक घण्टा लामो कुराकानी भएको थियो । सो क्रममा उनले लागुऔषध तस्करी नियन्त्रणमा आफ्नो सरकारले गरेका प्रयासहरूबारे ट्रम्पलाई जानकारी गराएका थिए ।
केही समयअघि मात्र अमेरिकाले कोलम्बियालाई लागुऔषध नियन्त्रणमा सहयोग नगर्ने देशको सूचीमा राखेको थियो भने राष्ट्रपति पेट्रोलाई नै लागुऔषध तस्कर र सम्पत्ति शुद्धीकरण गर्नेहरूको 'ब्ल्याकलिस्ट' मा समावेश गरेको थियो ।
यद्यपि, यो टेलिफोन वार्ता र निमन्त्रणापछि पनि ट्रम्पले पेट्रोमाथि लगाइएका प्रतिबन्धहरू तत्काल हटाएका छैनन् र कोलम्बियालाई दिइने लागूऔषध विरोधी सहायतामा गरिएको कटौती पनि कायमै छ । दुई नेताबीच ह्वाइट हाउसमा हुने आगामी भेटले यी प्रतिबन्धहरू हट्ने वा नहट्ने टुङ्गो लाग्ने अनुमान गरिएको छ ।
