ग्रिनल्यान्ड गाभ्ने विभिन्‍न विकल्पबारे ह्वाइट हाउसमा छलफल

ह्वाइट हाउसले मंगलबार भनेको छ, 'राष्ट्रपति र उनको टोलीले यो महत्त्वपूर्ण विदेश नीति लक्ष्यलाई पछ्याउन विभिन्न विकल्पहरूको बारेमा छलफल गरिरहेका छन्, र अवश्य पनि, अमेरिकी सेनाको प्रयोग गर्नु सधैं कमाण्डर-इन-चीफको अधिकारमा रहेको विकल्प हो।'

पुस २३, २०८२

कान्तिपुर संवाददाता

White House discusses various options for annexing Greenland

एजेन्सी — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड प्राप्त गर्ने विभिन्‍न विकल्पबारे छलफल गरिरहेको ह्वाइट हाउसले जनाएको छ । नेटो सदस्य डेनमार्कको अर्ध-स्वायत्त क्षेत्र ग्रीनल्याण्ड प्राप्त गर्नु अमेरिकाको राष्ट्रिय सुरक्षा प्राथमिकताको विषय रहेको ह्वाइट हाउसले जनाएको छ ।

डेनमार्कले यस टापुमाथि अमेरिकाले गर्ने हस्तक्षेप आफुलाई मान्य नहुने बताउँदै आएको छ । ‘अमेरिकाले अर्को नाटो सदस्य राष्ट्रमाथि सैन्य आक्रमण गर्छ भने दोस्रो विश्वयुद्धपछि स्थापित सुरक्षा व्यवस्था नै समाप्त हुनेछ,’ सोमबार डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले डेनमार्कको टेलिभिजनमा अन्तर्वार्ता दिदैं भनेकी थिइन् । त्यसको केही समयपछि डेनमार्कको समर्थनमा युरोपेली नेताहरूले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।

जवाफमा ह्वाइट हाउसले मंगलबार भनेको छ, 'राष्ट्रपति र उनको टोलीले यो महत्त्वपूर्ण विदेश नीति लक्ष्यलाई पछ्याउन विभिन्न विकल्पहरूको बारेमा छलफल गरिरहेका छन्, र अवश्य पनि, अमेरिकी सेनाको प्रयोग गर्नु सधैं कमाण्डर-इन-चीफको अधिकारमा रहेको विकल्प हो।'

नाटो एक ट्रान्स-एट्लान्टिक सैन्य समूह हो । यस समुहमा कुनै एक राष्ट्रमाथि बाहिरी राष्ट्रले आक्रमण गरेमा सबैले मिलेर प्रतिवाद गर्छन् ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सोमबार क्यापिटल हिलमा आयोजित सांसदहरूसँगको छलफलमा ग्रिल्याण्डमा आक्रमण गर्ने योजना सरकारले नबनाएको बताए । तर उनले डेनमार्कबाट टापु किन्ने कुरा दोहोर्‍याए । 

कान्तिपुर

Link copied successfully