चीन र रूसका जासुसलाई भेनेजुएलाबाट निकाल्न अमेरिकाको दबाब

बैठकमा भएकाहरुका अनुसार शनिबार मदुरो र उनकी पत्नीलाई अमेरिकी सेनाले कब्जामा लिएर अमेरिकी जहाजमा ल्याएको केही मिनेटभित्रै रूबियोले डेल्सीलाई फोन गरेका थिए ।

पुस २३, २०८२

कान्तिपुर संवाददाता

US pressure to expel Chinese and Russian spies from Venezuela

काठमाडौँ — अमेरिकाले चीन, रुस, क्युबा र इरानका गुप्तचर र सैन्य कर्मचारीहरुलाई देश निकाला गर्न भेनेजुएलालाई दबाब दिएको छ । कुटनीतिज्ञहरूलाई भने भेनेजुएलामा बस्न अनुमति दिन सकिने अमेरिकाले जनाएको छ ।

विदेशमन्त्री मार्को रुबियोले भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिग्वेजलाई यस्तो दबाब दिएका हुन् । रुबियोले  सोमबार अमेरिकी संसद्‍का नेताहरूसँगको गोप्य बैठकमा यस खुलासा गरेका हुन् ।

बैठकमा भएकाहरुका अनुसार शनिबार मदुरो र उनकी पत्नीलाई अमेरिकी सेनाले कब्जामा लिएर अमेरिकी जहाजमा ल्याएको केही मिनेटभित्रै रूबियोले डेल्सीलाई फोन गरेका थिए ।

रुबियोले डेल्सीसँगको कुराकानीमा अमेरिका र भेनेजुएलाबीचको तेल व्यापार पुन: सञ्चालन गर्ने इच्छा पनि राखिएको बताए ।

यसअघि सन् १०९८ मा हुगो चाभेज सरकारले तेल उद्योगहरूलाई राष्ट्रियकरण गर्न थालेपछि अमेरिकी कम्पनीहरु यहाँबाट फर्कन थालेका थिए । अहिले अमेरिकी कम्पनीमध्ये चेभरोनबाहेक अरू सबैले यहाँ उत्पादन र व्यपार गर्न छाडिसकेका छन् ।

ती कम्पनीलाई फेरि फर्काउनका लागि भेनेजुएलाले राष्ट्रियकरणलाई अन्त्य गर्नुपर्ने हुनसक्छ वा क्षतिपूर्ति तिर्नुपर्ने पनि हुन सक्छ । राष्ट्रपति ट्रम्पले यसअघि अमेरिकी कम्पनीलाई यहाँ तेल उत्खनन् र व्यापारमा लगाउने बताएका थिए ।

उनले यसरी उत्खनन् गरिएको तेल अमेरिका र भेनेजुएलाले मिलेर बेच्ने बताएका थिए । ‘उनीहरुले हाम्रो धेरै तेल चोरेका छन् । त्यहीकारण अब हामी मिलेर व्यापार गर्छौं ,’ ट्रम्पले भनेका थिए । 

कान्तिपुर

Link copied successfully