अमेरिकी उपराष्ट्रपति भान्सको घरमा तोडफोड

भान्सको घरको झ्याल फुटेको, घरमा क्षति पुगेको र सेक्रेट सर्भिसको सवारी साधनमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

पुस २१, २०८२

सुदीप शिवाकोटी

US Vice President Vance's home vandalized

अमेरिका — अमेरिकी उपराष्ट्रपति जेडी भान्सको निजी घरमा तोडफोड भएको छ । ओहायो राज्यस्थित सिन्सिनाटीस्थित स्थानीय समयअनुसार आइतबार साँझ उनको घरमा तोडफोड भएको हो ।

भान्सको घरको झ्याल फुटेको, घरमा क्षति पुगेको र सेक्रेट सर्भिसको सवारी साधनमा क्षति पुगेको जनाइएको छ । घर तोडफोडलगत्तै प्रहरीले एक आरोपीलाई नियन्त्रणमा लिइएको छ । 

सिन्सिनाटी प्रहरी विभागका अनुसार एक वयस्क पुरुषलाई हतौडासहित नियन्त्रणमा लिइएको छ । घटना हुनुभन्दा केही घण्टाअघि मात्र भान्स उनको परिवारसहित सिन्सिनाटीबाट वासिङ्टन डीसीतर्फ प्रस्थान गरेका थिए । हालसम्म आरोपीको व्यक्तिगत विवरण र तोडफोड गर्नुको उद्देश्यबारे प्रहरीले कुनै कुरा सार्वजनिक गरेको छैन । 

घटनालगत्तै उपराष्ट्रपति भान्सले सामाजिक सञ्जाल एक्समार्फत उद्धार तथा सुरक्षाकर्मीप्रति आभार व्यक्त गरेका छन् । उनले आफ्नो घरमा जबर्जस्ती प्रवेशको प्रयास भएको उल्लेख गर्दै सेक्रेट सर्भिस र सिन्सिनाटी प्रहरीको तीव्र कार्यको प्रशंसासमेत गरेका छन् ।

सुदीप शिवाकोटी कान्तिपुरका अमेरिका संवाददाता हुन् ।

Link copied successfully