प्रारम्भिक रिपोर्ट अनुसार कन्सर्टका क्रममा आतसबाजी प्रयोग गर्दा आगो लागेको हुनसक्ने अनुमान गरिएको छ
What you should know
एजेन्सी — नयाँ वर्षको पूर्वसन्ध्यामा स्विस क्रान्स मोन्टानास्थित एक बारमा आगलागी भएको छ । क्षतिको आधिकारिक विवरण आइसकेको छैन ।
दक्षिण पश्चिमी स्विजरल्यान्डको वालिस क्यान्टन प्रहरीले जारी गरेको विज्ञप्तिमा यस घटना ‘गम्भीर’ भएको उल्लेख गरिएको छ ।
प्रहरी प्रवक्ता गेटान लाथिओनका अनुसार, बिहान १:३० बजे ‘ले कन्स्टेलेसन’ नामक स्की रिसोर्टमा विस्फोट र आगलागी सुरु भएको थियो । भवनमा नयाँ वर्षको उत्सव मनाउन ठूलो संख्यामा मानिस भेला भएका थिए ।
घटनास्थलमा प्रहरी, अग्नि नियन्त्रक र उद्धारकर्मीहरूको ठूलो टोली तुरुन्तै पुगेको र धेरै पीडितलाई उद्धार गरिएको जनाइएको छ । यस घटनामा १०० भन्दा बढी घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
स्विस मिडियाले प्रकाशित गरेको तस्बिरमा आगो लागेको भवन र मानिसहरू चिच्याउँदै भागिरहेको दृश्य देखाइएको छ । प्रहरीले आगलागीको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेको छ ।
प्रारम्भिक रिपोर्टअनुसार कन्सर्टका क्रममा आतसबाजी प्रयोग गर्दा आगो लागेको हुनसक्ने अनुमान गरिएको छ । लाथिओनले भने, 'अपरेसन अझै जारी छ र प्रभावित क्षेत्र जनताका लागि पूर्ण रूपमा बन्द गरिएको छ । क्रान्स मोन्टानामा नो–फ्लाई जोन लागू गरिएको छ ।'
घटनास्थलमा एम्बुलेन्सहरूको ठूलो भीड देखिएको थियो र अधिकारीहरूले प्रभावित परिवारको सहयोगका लागि विशेष हेल्पलाइन तथा स्वागत केन्द्र स्थापना गरेका छन् ।
