यसअघि अमेरिकी कम्पनी स्पेस एक्सले मात्र पुनः प्रयोग गर्न मिल्ने रकेट ‘फाल्कन–९’ र ‘स्टारसिप’ बनाएको थियो। मस्कले ‘ल्यान्डस्पेस’ को ‘जुक्ये–३’ रकेटको प्रशंसा गर्दै यो फाल्कन–९ भन्दा उन्नत रहेको बताएका छन्।
What you should know
काठमाडौँ — चिनियाँ रकेट स्टार्टअप कम्पनी ‘ल्यान्डस्पेस’ ले पुनः प्रयोग गर्न मिल्ने अन्तरिक्षयान बनाएसँगै यसको चर्चा चुलिएको छ । अमेरिकी अर्बपति इलन मस्कको अन्तरिक्षसम्बन्धी कम्पनी ‘स्पेस एक्स’ सँग दाँज्ने गरिएको ‘ल्यान्डस्पेस’ ले डिसेम्बर पहिलो साता ‘जुक्ये–३’ नामक ‘रियुजेबल रकेट’ को नमुना प्रक्षेपण गरेको थियो । यससँगै चीनमा पुनः प्रयोग गर्न मिल्ने रकेट बन्न थालेको विषयलाई अन्तरिक्ष क्षेत्रमा अत्यन्तै चासोसाथ हेरिएको छ ।
यसअघि अमेरिकी कम्पनी र विशेषगरी स्पेस एक्सले मात्र पुनः प्रयोग गर्न मिल्ने रकेट बनाउँदै आएको थियो । स्पेस एक्सका उन्नत फाल्कन–९ र स्टारसिप रकेट पुनः प्रयोग गर्न मिल्ने प्रकृतिका हुन् । स्पेस एक्सलाई यस्ता रकेट निर्माणमा अग्रणी वा ‘पायोनियर’ मानिन्छ । कम्पनीले सन् २०१५ मा पहिलो पटक फाल्कन–९ सफलतापूर्वक प्रक्षेपण र पुनः पृथ्वीमा अवतरण गराएको थियो । सोही रकेट सन् २०१७ मा फेरि अन्तरिक्षमा पठाएर पुनः फिर्ता ल्याइएको थियो ।
यसरी रकेटहरू पुनः प्रयोग गर्न मिल्ने बनाउनुअघि अन्तरिक्ष एजेन्सीहरूले ‘एक्सपेन्डेबल बुस्टर’ प्रयोग गर्ने गरेका थिए । त्यस्ता बुस्टरहरू अन्तरिक्ष अभियान पूरा भएपछि कि समुद्रमा विसर्जन गरिन्थ्यो वा अन्तरिक्षमै तैरिन्थे । यसको अर्थ, हरेक उडानका लागि वर्षौं लगाएर र करोडौं डलर खर्चेर नयाँ रकेट बनाउनुपर्थ्यो । यसले ‘स्पेस डेब्री’ वा अन्तरिक्षमा फोहोर थुप्रिने समस्या पनि बढाउने गर्थ्यो । अझै पनि विश्वका प्रायः कम्पनीले ‘एस्पेन्डेबेल बुस्टर’ नै प्रयोग गर्ने गरेका छन् । यसले गर्दा लो–अर्थ अर्बिट भनिने पृथ्वीको तल्लो कक्षमा २ हजारदेखि २५ सयवटा निष्क्रिय रकेटका टुक्राहरू रहेको अनुमान गरिन्छ ।
रोयटर्सका अनुसार गत अक्टोबरमा मस्कले ‘ल्यान्डस्पेस’ को ‘जुक्ये–३’ रकेटको प्रशंसा गर्दै यो फाल्कन–९ भन्दा उन्नत रहेको बताएका थिए । हाल परीक्षणका क्रममा रहेको सो रकेट पूर्ण रूपमा तयार भएपछि यो कम्तीमा २० पटक पुनः प्रयोग गर्न मिल्ने र १८ हजार केजीका थुप्रै वटा भूउपग्रह ढुवानी गर्न सक्ने ‘ल्यान्डस्पेस’ले जनाएको छ । चीनमा निजी क्षेत्रका अन्तरिक्ष कम्पनीमध्ये सबैभन्दा चर्चित ‘ल्यान्डस्पेस’ले एक दशकमा झन्डै दुई दर्जन रकेट बनाएको छ । ‘जुक्ये–३’ लाई ‘चीनको फाल्कन–९’ सँग तुलना गरिँदै आएको छ ।
‘जुक्ये–३’ का सहायक चिफ डिजाइनर डोङ काइले हालै एक अन्तर्वार्तामा भनेका छन्, ‘स्पेस एक्सको फाल्कन–९ इन्जिनियरिङको हिसाबले उत्कृष्ट डिजाइन भएको पुष्टि भइसकेको छ । हामीले फाल्कन–९ को नक्कल होइन, केही नयाँ कुरा सिक्ने प्रयास गरेका छौं । ‘जुक्ये–३’ लाई चिनियाँ फाल्कन–९ भनिनु हाम्रा लागि सम्मानको कुरा हो ।’ परीक्षण प्रक्षेपण सफल नभए पनि यसलाई स्वाभाविक रूपमा लिनु र सञ्चार माध्यममा प्रसारणसमेत गर्नुलाई ‘ल्यान्डस्पेस’ स्पेसएक्सकै ‘फेल फर्स्ट’ नीतिअनुरूप अघि बढेको भन्ने गरिन्छ ।
सन् २०२३ मा ‘ल्यान्डस्पेस’ले मिथेनबाट चल्ने विश्वकै पहिलो ‘जुक्ये–२’ नामक रकेट बनाएर पृथ्वीको कक्षमा पुर्याएको थियो । योसँगै ‘ल्यान्डस्पेस’लाई ‘मिथेन किङ’ का रूपमा पनि प्रचार गरिँदै आएको छ । कम्पनीलाई चीन सरकारले नै स्पेस एक्ससँगको प्रतिस्पर्धीका रूपमा स्थापित हुन सघाइरहेको विश्लेषण हुने गरेको छ । स्पेस एक्सझैं आगामी परियोजनाहरूमा लगानी जुटाउने गरी ‘ल्यान्डस्पेस’ पुँजीबजारमा प्रवेश गर्न लागेको छ । स्पेस एक्सले सन् २०२६ भरमा आईपीओ निष्कासन गर्ने तयारी अघि बढाएको छ ।
चार दिनअघि मात्र चीनको प्रख्यात चाइसिन ग्लोबलमा प्रकाशित ‘रियुजेबिलिटी टेक्स सेन्टर स्टेज इन चाइनाज् न्यु रकेट आईपीओ रुल्स’ समाचारका अनुसार सांघाई स्टक एन्सचेन्जमा सूचीकृत हुन चाहने रकेट कम्पनीहरूले आफ्ना रकेट पुनः प्रयोग गर्न मिल्ने पुष्टि गर्नुपर्ने निर्देशिका सार्वजनिक गरेको छ । यसअनुसार कुनै रकेट स्टार्टअप कम्पनीले आईपीओ निष्कासन गर्न चाहे उसले कम्तीमा एक पटक पुनः प्रयोग गर्न मिल्ने रकेटमार्फत अन्तरिक्षको कक्षमा कुनै भू–उपग्रह पुर्याएको प्रमाणित गर्नुपर्नेछ ।
‘कुनै कम्पनीले मुनाफा नकमाएको भए पनि ऊसँग उन्नत प्रविधि छ भने उसले सेयर बजारमार्फत लगानी जुटाउन पाउनेछ,’ समाचारमा भनिएको छ, ‘चीनले आफ्ना स्टार्टअपहरूलाई स्पेस–एक्सजस्तै शक्तिशाली बनाउन आर्थिक बाटो खोलिदिएको छ तर त्यसका लागि उनीहरूले आफ्नो रकेट गतिलो छ भनेर प्रमाणित गर्नुपर्नेछ ।’
‘ल्यान्डस्पेस’ले पुनः प्रयोग गर्न मिल्ने र सस्ता रकेट बनाउँदा आगामी दशकमा १० हजार भूउपग्रह अन्तरिक्षमा पठाउने बेइजिङको योजनाका लागि निकै महत्त्वपूर्ण हुने ठानिएको छ । चीनले ‘गुओआङ कन्स्टिलेसन’ जस्ता आफ्नै विशाल स्याटेलाइट नेटवर्क बनाउने प्रयास गरिरहेको छ । यसका लागि लो–अर्थ अर्बिटमा अमेरिकी प्रभुत्व कम गर्न ‘ल्यान्डस्पेस’लाई अघि सारिरहेको बताइन्छ । चीनमा यो क्षेत्रमा काम गर्ने अन्य कम्पनीहरू पनि छन् । आईस्पेस, ग्यालेक्टिक इनर्जी, डिप ब्लू एरोस्पेसलगायत कम्पनी साना र सुरुवाती चरणका अन्तरिक्ष प्रणालीहरूमा काम गरिरहेका छन् ।
पुनः प्रयोग गर्न मिल्ने रकेट बनाउन अत्यन्तै जटिल र उच्च–ऊर्जा आवश्यक पर्छ । यसमा हालसम्म स्पेस एक्सले मात्रै नियमित रूपमा काम गर्न सकेको रोयटर्समा एडुआर्डो बापटिस्टा र जोइ रोउलेटले ‘चाइना ल्यान्डस्पेस फेल्स टु कम्पिट रियुजेबल रकेट टेस्ट’ समाचारमा लेखेका छन् ।
‘रकेटको मुख्य भाग छुट्टिएपछि बुस्टरले अन्तरिक्षमा आफ्नो दिशा मोड्नुपर्छ, तातो वायुमण्डल छिचोल्दै तीव्र गतिमा तल झर्नुपर्छ र अवतरण प्याड वा पानीमा पुग्नुभन्दा केही सेकेन्डअघि इन्जिन चालु गर्नुपर्छ,’ उनीहरूले लेखेका छन्, ‘रकेटको इन्जिन कति बेला चलाउने र कति बेला बन्द गर्ने भन्ने कुरा मिलिसेकेन्डका आधारमा हुन्छ ।’ इन्जिन ०.५ सेकेन्ड मात्र ढिलो बल्यो भने रकेट भुइँमा जोडले ठोकिएर विस्फोट हुन्छ । वा, अलि चाँडो बल्यो भने रकेटले भुइँमा छुनुभन्दा अघि नै रोकिन्छ र फेरि तल खसेर डढ्छ ।
रकेट तल झर्दै गर्दा हावाको वेग र दिशा सधैं एकनास हुँदैन । त्यसैले रकेटभित्रको कम्प्युटर सफ्टवेयरले हरेक सेकेन्डमा हजारौं पटक रकेटको स्थिति जाँच गर्छ । रकेट थोरै मात्र ढल्केको छ भने सफ्टवेयरले तुरुन्तै इन्जिनको दिशा मिलाएर रकेटलाई सिधा बनाउँछ । यस्तो जटिलताबीच हालसम्म स्पेस एक्सले मात्र पुनः प्रयोग गर्न मिल्ने रकेट प्रविधिलाई पूर्ण रूपमा र सफलतापूर्वक प्रयोग गर्न सकेको छ ।
कम्पनीले नियमित रूपमा आफ्ना फाल्कन–९ बुस्टरहरू अवतरण गराउने र फेरि उडाउने गरिरहेको छ । एक दशकभन्दा लामो अनुभव र २० पटकसम्म उडाइएका दर्जनौं बुस्टरहरूका कारण यस क्षेत्रमा स्पेस एक्सको एकाधिकारजस्तै छ । विश्वमा सबैभन्दा धेरै रकेट उडाउने कीर्तिमानी पनि स्पेस एक्सले नै कायम गरेको रोयटर्सले जनाएको छ ।
(एजेन्सीको सहयोगमा)
