मेक्सिकोमा रेल दुर्घटना, कम्तीमा १३ को मृत्यु

के कारणले दुर्घटना भएको हो भन्नेचाहिँ खुलिसकेको छैन ।

पुस १४, २०८२

कान्तिपुर संवाददाता

Train crash in Mexico kills at least 13

काठमाडौँ — मेक्सिकोमा रेल दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने कम्तीमा ९८ जना घाइते भएका छन् ।

रोयटर्स र सीएनएनलगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने उल्लेख गरेका छन् । २४१ यात्रु र ९ रेल चालकदलका सदस्य सवार रहेको उक्त रेल मेक्सिकोको राजधानीबाट झन्डै ६ सय किलोमिटर दूरीमा पर्ने ओआक्साका राज्यको असुनसियोन इक्स्टाल्टेपेक क्षेत्रमा दुर्घटनामा परेको थियो ।

सीएनएनले घाइतेमध्ये ३६ जनालाई उपचारका लागि अस्पताल लगिएको र अन्यलाई सामान्य चोटपटक मात्रै लागेको उल्लेख गरेको छ । के कारणले दुर्घटना भएको हो भन्नेचाहिँ खुलिसकेको छैन ।

दुर्घटनामा परेको इन्टरओसियानिक रेल सेवा सन् २०२३ मा तत्कालीन राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले उद्घाटन गरेका थिए । यो रेल सेवा दक्षिणी मेक्सिकोमा रेल यात्रालाई प्रोत्साहन गर्न सुरु गरिएको थियो ।

कान्तिपुर

Link copied successfully