फेडेरल एभिएसन एड्मिनिस्ट्रेसन (संघीय उड्डयन प्रशासन, एफएए) का अनुसार अमेरिकाको आकाशमा दैनिक औसत ४४ हजार जहाज उड्छन् ।
What you should know
अमेरिका — उड्डयनको अवस्थालाई मूल्यांकन गर्दा सबैभन्दा व्यस्त आकाशमध्ये अमेरिका पनि अग्रपंक्तिमा आउँछ । विश्वमै सबैभन्दा धेरै १९ हजार ४ सय ८२ वटा विमानस्थल रहेको अमेरिकाको आकाशमा दैनिक हजारौं जहाज उड्ने बताइन्छ ।
फेडेरल एभिएसन एड्मिनिस्ट्रेसन (संघीय उड्डयन प्रशासन, एफएए) का अनुसार अमेरिकाको आकाशमा दैनिक औसत ४४ हजार जहाज उड्छन् ।
अन्तर्राष्ट्रिय, आन्तरिक, प्रशासनिक, सैन्य र साना–ठूला व्यक्तिगत गरी अमेरिकाको आकाशमा दैनिक ४४ हजार ३ सय ६० वटा जहाज उड्ने गरेको एफएएको तथ्यांकमा उल्लेख छ । ५ हजार १ सय ४६ सार्वजनिक र १४ हजार ३ सय ३६ निजी विमानस्थलबाट १४ हजार एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले उडान नियन्त्रणको काम गर्दै आएका छन् ।
अमेरिकाभर रहेका विमानस्थलमध्ये १० व्यस्त विमानस्थलको सूचीमा हाड्सफिल्ड–ज्याक्सन एट्लान्टा (एटीएल), डालस–फोर्टवर्थ (डीएफडब्लू) टेक्सस, ओहारे (ओआरडी) सिकागो, डेन्भर (डीइएन) कोलोराडो, लस एन्जलस (एलएएक्स) क्यालिफोर्निया, जोनएफकेनेडी (जेएफके) न्युयोर्क, ओरल्यान्डो (एमसीओ) फ्लोरिडा मायमी (एमआईए) फ्लोरिडा, एरिजोना, ह्यारी रिइड (एलएएक्स) इन्टरनेसनल एयरपोर्ट, क्यालिफोर्निया पर्दछन् ।
दैनिक औसत ३० लाख यात्रु विमानस्थलमा आवागमन र प्रस्थान गर्ने गरेको एफएएले उल्लेख गरेको छ । ‘अमेरिकाका आकाशमा दैनिक उड्ने जहाज र तिनमा यात्रा गर्ने यात्रुबाट अर्थात् समग्र उड्डयन क्षेत्रबाट मात्र बर्सेनि ५० करोड २० लाख डलरको कारोबार हुँदै आएको तथ्यांक छ,’ एफएएले वेबसाइटमा उल्लेख गरेको छ । उड्डयन क्षेत्रमा यो आर्थिक कारोबार विश्वमै सबैभन्दा बढी हुने र विश्वभर हुने उड्डयन क्षेत्रको कारोबारमा अमेरिकाले ठूलो हिस्सा ओगट्ने एफएएले दाबीसमेत गरेको छ ।
उड्डयन क्षेत्रबाट हुने आम्दानीलाई एफएएले सोही क्षेत्रमै खर्च गर्दै आएको छ । पाँच वर्षको अन्तरालमा १५ करोड डलर उड्डयन क्षेत्रकै विकासमा खर्च गरिएको छ । एयरपोर्ट टर्मिनल्स प्रोग्राम (एटीपी) मा र एयर ट्राफिक फ्यासिलिटिज (एटीएफ) को क्षेत्रमा प्रत्येक वर्ष एक/एक करोड डलर लगानी गर्ने योजना अघि बढाइएको छ । एफएएले उड्डयन क्षेत्रको थप विकासका लागि एयरपोर्ट इन्फाइस्ट्रक्चर ग्र्यान्ट्स (एआईजी), फन्डिङ रियललोकेसन र एफएए कन्ट्याक्ट टावर (एफसिटी) मा लगानी गर्ने गरेको योजना सार्वजनिक गरेको छ ।
अमेरिकाको ठूला एयरलाइन्समा अमेरिकन एयरलाइन्स, सबैभन्दा व्यस्त विमानस्थलमा जर्जिया राज्यमा रहेको हाड्सफिल्ड–ज्याक्सन एट्लान्टा इन्टरनेसनल एयरपोर्ट, व्यस्त आन्तरिक उडान रुटमा न्युयोर्कबाट क्यालिफोर्निया राज्यको लसएन्जलसलाई समावेश गरिएको छ । यसैगरी एफएएले अमेरिकामा रहेका १० व्यस्त एयरलाइन्सको सूचीसमेत सार्वजनिक गरेको छ । जसमा अमेरिकन, साउथवेस्ट, डेल्टा, युनाइटेड, अलस्का, जेटब्लू, फ्रोन्टिएर, स्प्रिट, एलिजीएन्ट र ह्वाइएन एयरलाइन्सलाई अमेरिकाभरमै व्यस्त प्राइभेट उड्डयनमा समावेश गरिएको छ ।
विश्वभर उड्डयनको अवस्थाबारे अध्ययन गर्ने ओएजी नामक संस्थाले सार्वजनिक गरेको रिपोर्टअनुसार अघिल्लो एक वर्ष ३० डिसेम्बर २०२४ देखि ७ डिसेम्बर २०२५ सम्म ३ करोड ५८ लाख ३७ हजार १ सय ३९ वटा उडान भएको थियो । जसमध्ये दैनिक १ लाख ४ हजार ४ सय ८१ जहाजले व्यावसायिक उडान भरेका थिए ।
