रुसले शान्ति नचाहेको जेलेन्स्कीको आरोप 

रुसले युक्रेनको पूर्वी डोन्बास क्षेत्रको अधिकांश भूभाग ( डोनेट्स्क क्षेत्रको झन्डै ७५% र लुहान्स्कको झन्डै ९९% ) हिस्सा कब्जा गरेकोे छ ।

पुस १३, २०८२

कान्तिपुर संवाददाता

Zelenskyy accuses Russia of not wanting peace

What you should know

एजेन्सी — रुसले शान्ति नचाहेको आरोप युक्रेनी राष्ट्रपति भोलोदमेर जेलेन्स्कीले लगाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्नका लागि फ्लोरिडा पुगेका जेलेन्स्कीले यस्तो आरोप लगाएका हुन् । 

 रुसले शुक्रबार किभसहित युक्रेनका धेरै भूभागमा हवाई तथा ड्रोन हमला समेत गरेको थियो ।

१० घण्टा लामो क्षेप्यास्त्र र ड्रोन आक्रमणमा दुई जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । वार्ताको तयारी चलिरहेकै बेला आक्रमणमा उत्रनुले रुस शान्तिको पक्षमा नरहेको प्रष्ट देखाएको जेलेन्स्कीले बताए ।

उनले आइतबार ट्रम्पसँग विगत चार वषैदेखि जारी युद्ध अन्त्य गर्नेबारे छलफल गर्दैछन् । यसअघि अमेरिकाले अघि सारेको २० बुँदे शान्ति योजनाबारे दुई पक्षबीच छलफल हुनेछ । 

यो योजना अमेरिकी दूत स्टिभ विट्कोफले अघि सारेको २८ बुँदे मस्यौदाको संशोधित रुप हो । यसअघि प्रारम्भिक मस्यौदालाई स्विकारेको रुसले यस संशोधनलाई भने स्विकार गरेको छैन । 

फ्लोरिडास्थित ट्रम्पको मार–ए–लागो रिसोर्टमा हुने बैठकमा जेलेन्स्कीले युक्रेनको भविष्यको सुरक्षा ग्यारेन्टीबारे छलफल गर्नेछन् ।  रुसले युक्रेनको पूर्वी डोन्बास क्षेत्रको अधिकांश भूभाग ( डोनेट्स्क क्षेत्रको झन्डै ७५% र लुहान्स्कको झन्डै ९९% ) हिस्सा कब्जा गरेकोे छ ।

रुसले सेना फिर्ता बोलाएमा यस क्षेत्रबाट आफ्नो सेना पनि फिर्ता बोलाउने जेलेन्स्कीले बताएका छन् ।  उनले यस क्षेत्रमा ‘स्वतन्त्र आर्थिक क्षेत्र’ स्थापना गर्न सकिने बताउँदै आएका छन् ।

तर, रुसले कुनै टिप्पणी गरेको छैन ।  आफ्नो कब्जामा लिएर भूभाग आफुले पाउनुपर्ने रुसको माग छ । 

कान्तिपुर संवाददाता

Link copied successfully