उनले युक्रेनको विदेश गुप्तचर सेवाका प्रमुख ओलेह इभासेन्कोको प्रतिवेदन उद्धृत गर्दै ऊर्जा कम्पनीहरू र काल्पनिक कानुनी संरचनामार्फत रुसले प्रतिबन्धबाट जोगिन खोजिरहेको उल्लेख गरेका हुन् ।
What you should know
किएभ — युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसद्वारा अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहेको प्रति गम्भीर चेतावनी दिएका छन् । उनले युक्रेनको विदेश गुप्तचर सेवाका प्रमुख ओलेह इभासेन्कोको प्रतिवेदन उद्धृत गर्दै ऊर्जा कम्पनीहरू र काल्पनिक कानुनी संरचनामार्फत रुसले प्रतिबन्धबाट जोगिन खोजिरहेको उल्लेख गरेका हुन् ।
सामाजिक सञ्जाल एक्समा सार्वजनिक सन्देशमार्फत राष्ट्रपति जेलेन्स्कीले युक्रेन यस्ता गतिविधिको निरन्तर निगरानी गरिरहने र साझेदार मुलुकहरूसँग समन्वय गरेर रुसमाथि दबाब कायम राख्ने बताए ।
‘रुसले आफ्ना ऊर्जा कम्पनीहरूलाई विश्वव्यापी प्रतिबन्धबाट बचाउन अस्थायी मालिक र बनावटी कानुनी योजनाहरू प्रयोग गरिरहेको छ । हामी यी सबै गतिविधिमाथि नजर राखिरहेका छौं, रुसलाई युद्धका लागि स्रोत जुटाउन नदिन साझेदारहरूसँग सहकार्य गर्नेछौं,’ उनले भने ।
इभासेन्कोको प्रतिवेदनमा बेलारुसको भूमिमा रुसले ओरेसनिक प्रणाली तैनाथ गरेको विषय पनि समेटिएको छ, जसलाई राष्ट्रपति जेलेन्स्कीले विश्वव्यापी सुरक्षाका लागि गम्भीर खतरा भएको बताएका छन् । उनले यस्ता हतियारहरूको आक्रामक विस्तारले खतरा सिर्जना गर्ने भन्दै त्यसविरुद्ध सहयोगीहरूसँग विकल्प तयार गर्न निर्देशन दिइसकिएको जानकारी दिए ।
राष्ट्रपति जेलेन्स्कीले गुप्तचर र सैन्य उत्पादन क्षेत्रमा रुस र चीनबीच बढ्दो सहकार्यप्रति पनि चिन्ता व्यक्त गरेका छन् । विशेषगरी अन्तरिक्षमा आधारित खुफिया सूचनामा दुवै देशका संस्थाहरूबीच सहयोग बढिरहेको उल्लेख गर्दै उनले चिनियाँ उपग्रह तस्बिरहरू र युक्रेनी ऊर्जा पूर्वाधारमाथि भएका रुसी आक्रमणहरूबीच सम्बन्ध देखिएको दाबी गरे ।
‘यस्ता गतिविधिले रुसलाई युद्ध लम्ब्याउन र कूटनीतिक प्रयासहरू कमजोर पार्न सहयोग पुर्याइरहेको छ,’ उनले भनेका छन् । उनले यी सबै विषय साझेदारहरूसँग उठाइने र कूटनीतिक माध्यमबाट रुसका कदमहरूको प्रतिरोध गरिने पनि स्पष्ट पारे ।
