इजरायलको आक्रमणले खल्लो बन्यो गाजामा क्रिसमस

गाजामा अक्टोबर २०२३ देखि इजरायलको आक्रमणमा परेर कम्तीमा ७०,९४२ प्यालेस्टिनीहरू मारिएका छन् र १ लाख ७१,१९५ घाइते भएका छन् ।

पुस १०, २०८२

कान्तिपुर संवाददाता

Christmas in Gaza marred by Israeli attacks

एजेन्सी — इजरायलले क्रिसमसको पूर्वसन्ध्यामा गाजापट्टीमा ड्रोनमार्फत हमला गरेको छ । यस हमलापछि स्थानीयवासी त्रस्त भएको र क्रिसमसका सबै कार्यक्रम बिथोलिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराले जनाएको छ ।

‘गाजाभरिका धेरै चर्चहरूले या त क्रिसमस गतिविधिहरू घटाए वा पूर्ण रूपमा रद्द गरे । वा चर्चको भित्ताभित्र सानो प्रार्थना वा , निजी जमघट गरे,' गाजापट्टीबाट अलजजिराका संवाददाता हानी महमूद भन्छन्,'त्यहाँ उत्सवको कुनै वास्तविक भावना थिएन।' क्रिसमस इभमा बमको आवाजले स्थानीयलाई त्रसित भएको पनि उनले बताए । 

बेलायत, क्यानडा, डेनमार्क र फ्रान्स सहित चौध देशहरूले वेस्ट ब्यांकमा १९ वटा नयाँ बस्ती बिस्तार गर्ने इजरायली कदमको विरोध गरेका छन् ।

उनीहरुले यो कदम संयुक्त राष्ट्रसंघको 'दुई राज्य समाधान' विपरीत रहेको र यसले क्षेत्रीय शान्ति सुरक्षालाई खतरामा पार्ने बताएका छन् । 

गाजामा अक्टोबर २०२३ देखि इजरायलको आक्रमणमा परेर कम्तीमा ७०,९४२ प्यालेस्टिनीहरू मारिएका छन् र १ लाख ७१,१९५ घाइते भएका छन् ।  

इरानसँग हमासको वार्ता

ओसामा हम्दान नेतृत्वको हमासको प्रतिनिधिमण्डलले इराकको राजधानी बग्दादमा इराकी नेताहरूसँग विभिन्‍न चरणमा वार्ता गरेको छ । यसक्रममा हमासले प्यालेस्टाइनीहरुका मागमा समर्थन जनाउन इराकसँग आग्रह गरेको छ ।

त्यस्तै, विगतमा भएको गाजा युद्धविराम सम्झौतालाई कार्यान्वयनमा लैजान विषयमा छलफल भएको छ । गाजामा निम्तिएको भयावह अवस्था तथा इजरायलको जेलमा बन्दी जीवन बिताइरहेका प्यालेस्टाइनीहरुका विषयमा पनि यस वार्तामा छलफल भएको थियो । 

कान्तिपुर

Link copied successfully