२०२५ मा एक्स : राजनीतिभन्दा संगीत, खेलकुद र मनोरञ्जनमा बहस धेरै

'एक्स'को २०२५ ट्रेन्ड विश्लेषण अनुसार राजनीतिभन्दा संगीत, खेलकुद, पप-संस्कृति र मनोरञ्जनका विषयमा प्रयोगकर्ताहरूको संवाद बढी देखिएको छ ।

पुस ९, २०८२

कान्तिपुर संवाददाता

X in 2025: More debate in music, sports and entertainment than politics

What you should know

काठमाडौँ — सामाजिक सञ्जाल एक्स (पहिलेको ट्विटर) अझै पनि विश्वभरका प्रयोगकर्ताबीच बहस र संवादको लोकप्रिय थलो बनेको छ । आम बुझाइमा एक्समा सबैभन्दा धेरै राजनीतिक सामग्रीले चर्चा पाउँछ भन्ने भाष्य बलियो छ ।

तर कम्पनीले सार्वजनिक गरेको २०२६ को ट्रेन्ड विश्लेषणले फरक चित्र देखाएको छ-यस वर्ष एक्समा राजनीति होइन, संगीत, मनोरञ्जन, खेलकुद र पप-संस्कृतिसम्बन्धी विषय नै संवादको केन्द्रमा रहे ।

संगीततर्फ पश्चिमी कलाकारको उपस्थिति बलियो देखिए पनि दक्षिण कोरियाली के-पप समूह ‘स्ट्रे किड्स’ ले सबैलाई ठूलो अन्तरले पछि पारेको देखिन्छ । एक्सका अनुसार २०२५ मा 'जस्टिन बिबर'सँग सम्बन्धित ११.२ मिलियन पोस्ट र 'कार्डी बी'सम्बन्धी १०.१ मिलियन पोस्ट सार्वजनिक भए । तर ‘स्ट्रे किड्स’ सँग सम्बन्धित पोस्टको संख्या ४५.७ मिलियन पुग्यो, जसले एक्समा के-पप को विश्वव्यापी प्रभाव र फ्यान समुदायको डिजिटल सक्रियतालाई थप पुष्टि गरेको छ ।

'ओटिटी' र टेलिभिजन सामग्रीतर्फ नेटफ्लिक्स यस वर्ष पनि सबैभन्दा धेरै चर्चामा रहने प्लेटफर्म बन्यो । ‘स्ट्रेन्जर थिङ्स’ एक्समा सबैभन्दा धेरै उल्लेख भएको शो बनेको छ, जसबारे १२.४ मिलियन पटक पोस्ट गरिएको तथ्यांक छ । त्यस्तै, कोरियन सिरिज ‘स्क्विड गेम’ सम्बन्धी पोस्ट १०.९ मिलियन पुगेका छन् । ‘स्ट्रेन्जर थिङ्स’ का अन्तिम भाग २०२५ को अन्त्यअघि सार्वजनिक हुने भएकाले यसको चर्चा अझै चुलिने एक्सको प्रक्षेपण छ ।

खेलकुद संवादतर्फ इंग्लिस प्रिमियर लिग एकल रूपमा एक्समा सबैभन्दा धेरै उल्लेख भएको खेल लिग बन्यो । यससँग सम्बन्धित पोस्टको संख्या ५८२.७ मिलियनभन्दा बढी पुगेको छ । एक्समा खेलकुद संवादले परम्परागत रूपमा नै उच्च सहभागिता पाउने गरेको र एनबीएलगायतका अन्य लिगले पनि व्यापक इम्प्रेसन बनाउने गरेको कम्पनीको विश्लेषणमा उल्लेख छ ।

फेसन र लाइफस्टाइलतर्फ ‘मेट गाला’ ले पनि एक्समा संवादको तरंग सिर्जना गर्‍यो । विश्वका धनाढ्य व्यक्तित्व र सेलिब्रेटीको भड्किलो पहिरन प्रदर्शनका कारण यो कार्यक्रम हरेक वर्षजस्तै यस वर्ष पनि एक्स को ट्रेन्डिङ सूचीमा अग्रस्थानमै रह्यो ।

कम्पनीले सार्वजनिक गरेको प्रतिवेदनले एक्समा हुने संवादको दायरा फराकिलो, बहुआयामिक र विश्वव्यापी समुदायको रुचिअनुसार प्रवाहित हुने गरेको देखाएको छ । यसले एक्स प्रयोगकर्ताको प्राथमिकता राजनीतिक बहसभन्दा मनोरञ्जन, सांगीतिक संवाद र खेलकुद सहभागितामा अझै केन्द्रित रहेको संकेत गर्छ ।

कान्तिपुर संवाददाता

Link copied successfully