स्टक एक्सचेन्जमा चिनियाँ एआई कम्पनीको छलाङ

बजार अनुसन्धान संस्था ‘फ्रस्ट एन्ड सुलिभन’ ले चीनको एआई चिप बिक्री २०२५ मा करिब ५४ अर्ब डलर रहेको र २०२९ सम्म १ सय ८९ अर्ब अमेरिकी डलर पुग्ने अनुमान सार्वजनिक गरेको छ ।

पुस ८, २०८२

सजना बराल

Chinese AI company leaps onto stock exchanges

What you should know

काठमाडौँ — पछिल्ला केही महिनायता चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनीहरूले पुँजी बजारमा एकपछि अर्को कीर्तिमानी उचाइ हासिल गरिरहेका छन् ।

चिप निर्माता मेटाएक्सले गत साता सांघाई स्टक एक्सचेन्जमा गरेको उल्लेखनीय सुरुवातले स्थानीय एआई क्षेत्र उत्साही बनेको छ । सो कम्पनीको सेयर मूल्य आईपीओ खुल्ने दिन नै करिब ६ सय प्रतिशतले उक्लँदै ७ सय युआनमा कारोबार भएको थियो । सो आईपीओमार्फत मेटाएक्सले करिब ६० करोड अमेरिकी डलर उठायो । यसले एआई हार्डवेयर क्षेत्रमा चिनियाँ घरेलु कम्पनीहरूप्रति लगानीकर्ताको बढ्दो चासो देखाएको छ ।

बजार अनुसन्धान संस्था ‘फ्रस्ट एन्ड सुलिभन’ ले चीनको एआई चिप बिक्री २०२५ मा करिब ५४ अर्ब डलर रहेको र २०२९ सम्म १ सय ८९ अर्ब अमेरिकी डलर पुग्ने अनुमान सार्वजनिक गरेको छ । मेटाएक्स मात्र होइन, गएका केही सातामा थुप्रै चिनियाँ स्टार्टअप र प्रविधि कम्पनीहरूले उल्लेख्य प्रगति सार्वजनिक गरेका छन् । यसले पश्चिमी मुलुकमा बनेका एआई हार्डवेयरको विकल्प विकास गर्ने चीनको व्यापक प्रयासलाई संकेत गरेको छ । एनभिडियासँग तुलना गरिँदै आएको घरेलु जीपीयू निर्माता ‘मुर थ्रेड्स’ को सेयर मूल्य पहिलो कारोबार दिनमै ४ सय प्रतिशतभन्दा धेरैले बढेको थियो ।

रोयटर्सका अनुसार आईपीओकै कारण मुर थ्रेड्सको बजार मूल्यांकन २०२४ मा आम्दानीको तुलनामा १ सय २३ गुणा माथि पुगेको छ । २०२५ मा यो २ सय ४२ प्रतिशतसम्म बढेर १.५ अर्ब युआन पुग्ने अपेक्षा गरिएको छ । यसैबीच, बीआर १०० जस्ता एआई जीपीयूका लागि चिनिने बिरेन टेक्नोलोजी हङकङ स्टक एक्सचेन्जमा आईपीओ जारी गर्ने तयारीमा छ । त्यसबाट करिब ६२ करोड अमेरिकी डलर उठ्ने लक्ष्य लिइएको वाल स्ट्रिट जर्नलमा पत्रकार शेरी सिनले उल्लेख गरेकी छन् । ‘ग्राफिक्स प्रोसेसिङ युनिट क्षेत्रमा चीनका चार साना शक्तिमध्ये एक मानिने बिरेन टेक्नोलोजीले २४ करोड ७७ लाख सेयर निष्कासन गर्दै छ,’ उनले लेखेकी छन्, ‘हङकङको सेयर बजारमा एआई कम्पनीहरूको आकर्षण बढेको देखिन्छ ।’

यस्तो उछाल स्टार्टअपमा मात्र सीमित नरहेर ठूला चिनियाँ कम्पनीहरूमा पनि देखिन थालेको छ । बाइडुको एआई चिप इकाइ कुनलुनसिन हालै करिब ३ अर्ब अमेरिकी डलर बजार मूल्यांकनमा पुगेको छ र सूचीकरणको प्रयास सुरु गरिसकेको छ । हङकङ र न्युयोर्कमा सूचीकृत अलिबाबाको यस वर्षको सेयर मूल्य पछिल्लो चार वर्षयताकै धेरै ८० प्रतिशतले वृद्धि भएको छ । कम्पनीले तीन वर्षभित्रमा एआई पूर्वाधार र एआई–जेनेरल इन्टेलिन्स वा ह्यमुन–लेभल इन्टेलिजेन्सका लागि ५३ अर्ब अमेरिकी डलर लगानी गर्ने योजना सुनाएको छ ।

यी चिनियाँ एआई–चिप कम्पनीहरूको पछिल्लो प्रगति विश्वव्यापी एआई हार्डवेयर आपूर्ति शृंखलामा देखिएको अस्थिरतासँग पनि जोडिएको विश्लेषकहरू बताउँछन् । लामो समयदेखि एआई जीपीयू बजारमा प्रभुत्व जमाउँदै आएको अमेरिकी कम्पनी एनभिडिया अमेरिकी सरकारको निर्यात नियन्त्रणका कारण दबाबमा देखिएको छ । अमेरिकी कम्पनीका चिप चीन पठाउन कडाइ गर्दा स्थानीय चिप निर्माता झनै बलिया हुने भन्दै हालै मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एनभिडियाको एच२०० चिप निर्यात गर्न अनुमति दिएका छन् ।

युरोन्युजका अनुसार अप्रिलमा अमेरिकाले चीनतर्फ उन्नत चिप निर्यातमा थप कडाइ गरेकाले एच२० चिप बेच्न नपाउँदा एनभिडियाले ५.५ अर्ब अमेरिकी डलर बराबरको क्षति बेहोर्नुपरेको थियो । एनभिडिया प्रमुख जेन्सेन हुआङले यस्तो निर्यात प्रतिबन्धलाई ‘असफल’ रणनीति भनेका थिए । ‘यी कदमले स्थानीय कम्पनीहरूलाई अझ तीव्र रूपमा अघि बढ्न ऊर्जा र आत्मबल दिएको छ,’ उनले फर्च्युन म्यागाजिनसँग भनेका थिए । वाल स्ट्रिट जर्नलका रोरी जन्स र ट्रेन्सी चुको समाचारअनुसार एआई प्रविधिमा बेइजिङ र वासिङ्टनबीच प्रतिस्पर्धा बढिरहे पनि अमेरिकी लगानीकर्ताहरूले चिनियाँ एआई कम्पनीमा पैसा खन्याइरहेका छन् ।

द गार्डियनका अनुसार २०२१ मा अमेरिकी प्रतिबन्ध सुरु हुँदा चीनको एआई चिप बजारमा एनभिडियाको हिस्सा करिब ९५ प्रतिशत थियो । यो घटेर हाल करिब ५० प्रतिशतमा झरेको छ । निर्यात नियन्त्रणले सिर्जना गरेको अवसरको फाइदा उठाउन एकपछि अर्को चिनियाँ घरेलु कम्पनीहरू दौडमा देखिएका छन् । यसैबीच २०२५ बाट अमेरिकाभित्रै पनि केही ठूला कम्पनीहरूले एनभिडियाको प्रभुत्वलाई चुनौती दिन खोजिरहेका छन् । तर, विश्वव्यापीस्तरमा एनभिडियाको आकार र प्रभावका कारण त्यसको उल्लेख्य सामना गर्न सकेका छैनन् ।

चीनमा भने सरकारी तहमै नीतिगत समर्थन र लगानीकर्ताको उत्साहका कारण एआई स्टार्टअपहरू तीव्र रूपमा विस्तार भइरहेका छन् । पछिल्लो आईपीओ माहोलमा मेटाएक्स, मुर थ्रेड्स, बिरेन टेक्नोलोजी र कुनलुनसिनले छोटो समयमै उल्लेखनीय लगानीकर्ता चासो आकर्षित गरेका छन् । रोयटर्सका रिपोर्टहरूमा उल्लेख भएअनुसार यो गति विदेशी प्रविधिमा निर्भरता घटाउने सरकारी रणनीति र चीनको विशाल एआई बजारको व्यावसायिक सम्भावनाबाट प्रेरित देखिन्छ ।

विश्वभर एआई हार्डवेयरको माग तीव्र बढिरहेकाले उत्पादन क्षमता र आपूर्तिमा उल्लेख्य दबाब बढेको छ । एआई उद्योगसम्बन्धी अनुमानअनुसार २०२६ मा विश्वव्यापी रूपमा उन्नत चिपको माग ९ प्रतिशतभन्दा बढीले बढेर करिब १ सय २६ अर्ब डलर पुग्ने अपेक्षा छ । रोयटर्सका अनुसार नयाँ उत्पादन क्षमता विस्तारमा चीन अग्रणी बन्ने अनुमान छ । एआई चिप्स सैन्य उपकरणमा प्रयोग भएको, राष्ट्रिय सुरक्षामा जोखिम आइपर्नेलगायत कारण देखाएर २०२० यता अमेरिकाले चीनतर्फ निर्यात हुने उन्नत सेमिकन्डक्टर चिप र यससम्बन्धी प्रविधि र लगानीमा एकपछि अर्को नियन्त्रण प्रयास गर्दै आएको छ । पछिल्ला दिनमा अमेरिकी उन्नत चिप चीनलाई बेच्न दिने विषयमा ट्रम्प सरकार इच्छुक देखिए पनि पहिलेकै तहमा एनभिडियामा निर्भर रहन चीन आफैं अनिच्छुक देखिएको छ । चीनभित्र प्रविधिगत आत्मनिर्भरता खोज्ने तीव्र माग र विश्वव्यापी रूपमा एआई हार्डवेयरप्रतिको बढ्दो चाहनाले यो क्षेत्रलाई निर्णायक मोडमा पुर्‍याएको छ । (एजेन्सीको सहयोगमा)

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully