अमेरिकाले फिर्ता बोलायो नेपालसहित ३० देशका राजदूत

राजदूतको कार्यकाल अवधि सामान्यतया ३ देखि ४ वर्ष हुने भए पनि राजनीतिक नियुक्ति भएकाले राष्ट्रपति प्रशासनले कुनै पनि समयमा फिर्ता बोलाउन सक्ने प्रावधान रहेको विदेश सचिव रुबियोले बताए ।

पुस ७, २०८२

सुदीप शिवाकोटी

US recalls ambassadors from 30 countries, including Nepal

अमेरिका — अमेरिकाले नेपालसहित ३० देशका राजदूतलाई फिर्ता बोलाएको छ । अमेरिकी विदेश मन्त्रालयले नेपालसहित ३० देशका दूताबासबाट राजदूत र वरिष्ठ पदका कर्मचारीलाई फिर्ता बोलाएको हो ।

नेपालसहित बुरुन्डी, क्यामरुन, केप भर्डे, गाबोन, आइभोरी कोस्ट, माडागास्कर, मोरिसस, नियजर, नाइजेरिया, रुवान्डा, सेनेगल, सोमालिया, युगान्डा, फिजी, लाओस, मार्सल टापु, पपुवा न्यू गिनी, फिलिपिन्स, भियतनाम, अर्मेनिया, म्यासेडोनिया, मोन्टेनेग्रो, स्लोभाकिया, अल्जेरिया, इजिप्ट, श्रीलंका, ग्वाटेमाला र सुरिनामका राजदूतलाई फिर्ता बोलाएको विदेश सचिव मार्को रुबियोले वासिङ्टन डीसीस्थित स्टेट डिपार्टमेन्टमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । 

पूर्वराष्ट्रपति जो बाइडेन कार्यकालमा नियुक्त गरिएका राजदूतलाई ट्रम्प प्रशासनले आफ्नो कार्यकालको एक वर्षपछि फिर्ता बोलाएको र अरू राजनीतिक नियुक्तिहरु पनि खारेज गर्न सक्ने सम्भावना रहेको विदेश सचिव रुबियोले बताएको समाचार संस्था एसोसिएटेड प्रेस (एपी)ले उल्लेख गरेको छ । राजदूतको कार्यकाल अवधि सामान्यतया ३ देखि ४ वर्ष हुने भए पनि राजनीतिक नियुक्ति भएकाले राष्ट्रपति प्रशासनले कुनै पनि समयमा फिर्ता बोलाउन सक्ने प्रावधान रहेको रुबियोले बताए ।

नयाँ राजदूत नियुक्तिबारे विदेश मन्त्रालयलाई ट्रम्प प्रशासनले हालसम्म कुनै जानकारी दिएको छैन । राजदूत नियुक्तिमा ढिलाइ नहुने र राजदूत राष्ट्रपतिको व्यक्तिगत प्रतिनिधि पनि भएकाले राष्ट्रपतिबाटै निर्णय हुने विदेश मन्त्रालयले दाबी गरेको छ ।

सुदीप शिवाकोटी कान्तिपुरका अमेरिका संवाददाता हुन् ।

Link copied successfully