‘इप्स्टेन फाइल’ सार्वजनिक गर्ने क्रममा राष्ट्रपति ट्रम्प संलग्न कागजात लुकाएको र सार्वजनिक एक तस्बिर पनि पछि हटाइएको भन्दै डेमोक्रेट सांसद तथा यसका पीडित महिलाहरूले विरोध गरेका छन्
What you should know
वासिङ्टन — यौन अपराधका कुख्यात जेफ्री इप्स्टेनसम्बन्धी मुद्दामा लामो समयदेखि गोप्य राखिएका फाइलहरू अमेरिकाको न्याय विभागले गत शुक्रबार आंशिक रूपमा सार्वजनिक गरेपछि यसका पीडित तथा अमेरिकी सांसदहरूले तीव्र आलोचना गरेका छन् ।
धेरै कागजातका पृष्ठहरू कालो पारिएको र तस्बिरहरू व्यापक सम्पादनसहित ‘सेन्सर’ गरिएको भन्दै उनीहरूले यसलाई उच्च तहको ढाकछोपको संज्ञा दिएका छन् ।
सार्वजनिक गरिएका ‘इप्स्टेन फाइल’ मा अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टन तथा इप्स्टेनसँग नजिक सम्बन्ध रहेका अन्य चर्चित व्यक्तित्वहरू मिक जागर, माइकल ज्याक्सनलगायतका तस्बिरहरू समावेश छन् । तर कागजातको ठूलो अंश ‘रिडक्ट’ गरिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमाथि तथ्य लुकाउन खोजिएको आरोप लागेको छ । डेमोक्रेट सांसदहरूले ट्रम्पको तस्बिर समावेश भएको एउटा फोटो पनि पछि हटाइएको भन्दै यसको जवाफ मागेका छन् ।
वरिष्ठ डेमोक्रेट नेता चक शुमरले भनेका छन्, ‘यदि यस्ता सामग्री हटाइँदै छन् भने कति धेरै कुरा लुकाउन खोजिँदै छ भन्ने कल्पना गर्न सकिन्छ ।’ यसलाई उनले अमेरिकी इतिहासकै ठूलो भण्डाफोर हुन सक्ने पनि टिप्पणी गरेका छन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार, ‘इप्स्टेन फाइल’ बाट दर्जनौं अन्य तस्बिरहरू पनि हटाइएका छन् ।
न्याय विभागले भने फाइलको संक्षिप्त सार्वजनिक गरिएको विषयमा बचाउ गर्दै कानुनअनुसार सावधानीपूर्वक समीक्षासँगै व्यापक सम्पादन गर्नुपरेको जनाएको छ । पूर्ण रूपमा ‘रिडक्ट’ गरिएका कागजातमध्ये ‘ग्रान्ड जुरी–न्युयोर्क’ लेबल गरिएको १ सय १९ पृष्ठको दस्ताबेज पनि रहेको छ । इप्स्टेनबाट बाँच्न सफलमध्येकी एक पीडित जेस माइकल्सले आफूले एफबीआई टिप लाइनमा दिएको जानकारी र बयान न्याय विभागद्वारा सार्वजनिक गरिएका फाइलमा घण्टौं खोज्दा पनि नभेटिएको टिप्पणी गर्दै भनेकी छन्, ‘के यो सरकारले गर्न सक्ने यो नै सबैभन्दा राम्रो हो ?’
यद्यपि फाइलहरूले ट्रम्पसहित धनी र शक्तिशाली व्यक्तिहरूसँग इप्स्टेनको घनिष्ठ सम्बन्धबारे केही संकेत दिएका छन् । केही फाइलमा नग्न वा अर्धनग्न आकृतिका सेन्सर गरिएका तस्बिरहरू छन् भने पूर्वअधिराजकुमार एन्ड्र्युका पहिले नदेखिएका तस्बिरहरू पनि समावेश छन् । अन्य तस्बिरहरूमा पूर्वराष्ट्रपति क्लिन्टन ‘हट टब’ मा आराम गरिरहेको र एपस्टेनकी सहयोगी घिस्लेन म्याक्सवेलसँग पौडी खेलिरहेको देखिन्छ, यद्यपि ती आंशिक रूपमा कालो पोतेर ढाकिएका छन् ।
ट्रम्पको बचाउ तथा क्लिन्टनलाई लक्षित गर्दै ‘इप्स्टेन फाइल’ सार्वजनिक भएको आरोप लागिरहँदा ट्रम्प प्रशासनका प्रवक्ताले ह्वाइट हाउसले कसैलाई बचाउन फाइल लुकाएको वा अधिक सम्पादन गरेको भन्ने आरोप अस्वीकार गरेका छन् । कागजातमा ‘आज रातको लागि केटी छ’ जस्ता वाक्यांशसहितका हस्तलिखित नोटहरू पनि भेटिएका छन् ।
रिपब्लिकन सांसद थोमस म्यासीले ‘इप्स्टेन फाइल’ सार्वजनिकीकरण कानुनको भावना र अक्षर दुवैको गम्भीर उल्लंघन भएको टिप्पणी गरेका छन् । उपमहान्यायाधिवक्ता टोड ब्लान्चेले भने ट्रम्पलाई जोगाउनका लागि कुनै फाइल नरोकिएको दाबी गरेका छन् । यौन बेचबिखन मुद्दा खेपिरहेकै बेला इप्स्टेनको सन् २०१९ मा न्युयोर्कको जेलमा शंकास्पद मृत्यु भएको थियो । उक्त मृत्युलाई आत्महत्या बताइएको थियो ।
लामो समयदेखि इप्स्टेन फाइल गोप्य राखिएपछि कंग्रेसको निरन्तर दबाबमा राष्ट्रपति ट्रम्पले गत महिना फाइल सार्वजनिक गर्न बाध्यकारी कानुनमा हस्ताक्षर गरेका थिए । इप्स्टेनकी पूर्वप्रेमिका घिस्लेन म्याक्सवेल यतिबेला धनी व्यक्तिका लागि नाबालिकाको अनुचित प्रयोग गरेको आरोपमा २० वर्षको सजाय भोगिरहेकी छन् ।
