विगतमा इप्स्टेनसँग ट्रम्पको पनि सम्बन्ध रहेको आरोप लाग्दै आएको थियो । तर शुक्रबार सार्वजनिक ‘इप्स्टेन फाइल’मा प्रत्यक्ष सम्बन्ध स्थापित हुने खालका कुनै कागज नभेटिएको बीबीसीले जनाएको छ । न्याय विभागले पीडितहरूको गोपनीयता र सक्रिय छानबिनलाई कारण देखाउँदै केही सामग्री रोकेको बताएको छ ।
What you should know
वासिङ्टन — अमेरिकी न्याय विभागले शुक्रबार कुख्यात यौन अपराधी जेफ्री इप्स्टेनसँग सम्बन्धित कागजातहरू सार्वजनिक गरेको छ । यी कागजातमा हालका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उल्लेख निकै कम छ भने पूर्वराष्ट्रपति बिल क्लिन्टनको व्यापक रूपमा उल्लेखसँगै फोटोहरू छन् ।
‘इप्स्टेन फाइल’ खोल्नका लागि चर्को दबाब परिरहँदा पनि ट्रम्प प्रशासनले महिनौंसम्म यसलाई गोप्य राख्ने प्रयास गरेको थियो । पछि यसलाई सार्वजनिक गर्न अमेरिकी कांग्रेसले नोभेम्बरमा अनिवार्य गरेको थियो । त्यसपछि मात्रै राष्ट्रपति ट्रम्पले यी फाइल सार्वजनिक गर्ने अनुमति दिएका थिए ।
सार्वजनिक गरिएका फाइलहरूमा अमेरिकाका पूर्वराष्ट्रपति क्लिन्टनसँग बेलायती शाही परिवारका सदस्य एन्ड्र्यु माउन्टब्याटन–विन्डसर, मिक जगर र माइकल ज्याक्सनजस्ता प्रसिद्ध व्यक्तिहरूको नाम वा तस्बिर देखिएको छ । यसअघि पनि धेरै व्यक्तिहरूको नाम ‘इप्स्टेन प्रकरण’मा जोडिएको थियो । तर उनीहरूले इप्स्टेनसँग मिलेर कुनै गलत काम नगरेको दाबी गर्दै आएका छन् ।
कागजातहरूमा ट्रम्पको नाम लगभग नदेखिएको र क्लिन्टनका धेरै पुराना फोटोहरू समावेश भएको देखिनु राजनीतिक विवादको केन्द्र बनेको छ । सार्वजनिक कागजातहरूमा क्लिन्टनलाई इप्स्टेनकी सहयोगी घिस्लेन म्याक्सवेलसँग स्विमिङ पुल र हट टबमा रमाइरहेको देख्न सकिन्छ, जबकि ती कागजातमा भएका केही व्यक्तिका अनुहारलाई ‘ब्ल्याक आउट’ गरिएको छ ।
क्लिन्टनले यसअघि नै इप्स्टेनसँगको सम्बन्धका लागि आफूलाई पछुतो लागेको व्यक्त गरेका थिए । उनले इप्स्टेनका अपराधहरूबारे थाहा नभएको दाबी गरेका छन् । ट्रम्प र इप्स्टेन १९९० र २००० को दशकमा निकट मित्र थिए, तर इप्स्टेन २००८ को पहिलो दोषी ठहरिएपछि उनीहरूको सम्बन्ध बिग्रिएको थियो । त्यसो त ट्रम्पले इप्स्टेनका अपराधहरूबारे थाहा नभएको र कुनै गल्ती नगरेको दाबी गर्दै आएका छन् । यी कागजातहरूमा ट्रम्पको संलग्नता नदेखिएको बताइएको छ ।
सार्वजनिक कागजातमा १९९६ मा मारिया फार्मरले इप्स्टेनमाथि बाल ‘पोर्नोग्राफी’ को आरोप लगाउँदै एफबीआईमा दिएको उजुरी पनि समावेश छ । तर एफबीआईले आफ्नो उजुरीमा कुनै फलोअप नगरेको फार्मरले बताएकी थिइन् । सार्वजनिक फोटोहरूमा समाचारकर्मी वाल्टर क्रोनकाइट, गायक मिक ज्यागर, माइकल ज्याक्सन, डायना रोस, उद्यमी रिचर्ड ब्रान्सन र सराह फर्गुसन जस्ता सेलिब्रेटीहरू देखिएका छन् । तर यी व्यक्तिहरूमाथि इप्स्टेनसँग जोडिएर आपराधिक काम गरेको हुन सक्नेबारे कुनै आरोप लगाइएको छैन ।
न्याय विभागले क्लिन्टनसँग जोडिएका फोटोहरूलाई सामाजिक सञ्जालमा ‘हाइलाइट’ गरेको छ, जसलाई क्लिन्टनका प्रवक्ता एन्जेल उरेनाले ट्रम्प प्रशासनले आफूमाथिको ध्यान हटाउन प्रयास गरेको आरोप लगाएका छन् । ट्रम्पले गत महिना न्याय विभागलाई क्लिन्टनको इप्स्टेनसँगको सम्बन्धको छानबिन गर्न निर्देशन दिएका थिए । यतिबेला ‘इप्स्टेन फाइल’को आंशिक रिलिजको व्यापक आलोचना भएको छ ।
डेमोक्राटिक सिनेट नेता चक शुमर र रिपब्लिकन सांसद थोमस म्यासीले हजारौं पृष्ठको फाइललाई संक्षिप्तीकरण गरेर सार्वजनिक गर्नुलाई कानुनको भावनामाथिको उल्लंघन भएको बताएका छन् । न्याय विभागले भने थप सयौं हजार पृष्ठहरू अझै समीक्षामा रहेको र चाँडै सार्वजनिक गर्ने जनाएको छ ।
रिपब्लिकन मतदाताहरूमध्ये ट्रम्पको इप्स्टेन मुद्दा ह्यान्डलिङप्रति मात्र ४४ प्रतिशत सन्तुष्ट छन्, जुन उनको समग्र ८२ प्रतिशत अनुमोदनभन्दा निकै कम हो । यो मुद्दाले ट्रम्पको राजनीतिक स्थितिलाई २०२६ मध्यावधि चुनावअघि क्षति पुर्याएको विश्लेषण गरिएको छ ।
इप्स्टेनको शक्तिशाली व्यक्तिहरूसँग ‘अनुचित’ घनिष्ठ सम्बन्ध देखिनुका साथै २०१९ मा उनको जेलमा भएको भनिएको शंकास्पद ‘आत्महत्या’ ले ‘इप्स्टेन फाइल’लाई लामो समयदेखि निकै चासो र शंकाको नजरले हेरिँदै आएको छ । उनले क्यारेबिया समुद्र आसपास आलिसान रिसोर्टहरू सञ्चालन गर्ने र त्यहाँ किशोरीहरूलाई लगेर धनाढ्य व्यक्तिहरूको सेवा गर्न लगाउने गरेको आरोप छ ।
यस क्रममा यौन दुर्व्यवहार भएको गुनासो किशोरीहरूले गरेका छन् । बेलायतका अधिराजकुमार एन्ड्र्युले इप्स्टेनसँगको आफ्नो सम्बन्धलाई लिएर विवाद भएपछि राजदरबार छाड्ने निर्णय गरिसकेका छन् । यस्ता धेरै हाइप्रोफाइल व्यक्ति, राजनीतिज्ञ तथा व्यवसायी यस प्रकरणमा जोडिएका छन् । विगतमा इप्स्टेनसँग ट्रम्पको पनि सम्बन्ध रहेको आरोप लाग्दै आएको थियो ।
यसअघि ‘लिक’ भएका इप्स्टेनका इमेलमा ट्रम्पको नाम पनि उल्लेख थियो । इप्स्टेनले तेस्रो पक्षसँग कुराकानी गर्दा ट्रम्पको पनि नाम लिएका थिए । तर शुक्रबार सार्वजनिक भएका इप्स्टेन फाइलका आधारमा ट्रम्प र इप्स्टेनबीच प्रत्यक्ष सम्बन्ध स्थापित हुने खालका कुनै कागज भेटिएको देखिँदैन ।
सार्वजनिक नयाँ फाइलमा अहिलेसम्म ट्रम्पको नाम र फोटो नदेखिएको बीबीसीले पनि जनाएको छ । न्याय विभागले पीडितहरूको गोपनीयता र सक्रिय छानबिनलाई कारण देखाउँदै केही सामग्री रोकेको बताएको छ ।
